मरुभूमिबाट जोगिन चुरे संरक्षण

मरुभूमिबाट जोगिन चुरे संरक्षण

मुलुकको चुरे क्षेत्र अति नै कमलो र कान्छो पहाड हो। मुलुकको दक्षिणी भागमा रहेको यो क्षेत्र पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। तराईको उत्तरतिर र महाभारत रेन्जबाट दक्षिणतिर रहेको या क्षेत्रको संरक्षण अति नै आवश्यक छ। अति नै कमलो पहाड भएकोले जलवायुजन्य जोखिम दृष्टिकोणले पनि यो क्षेत्र अति नै संवेदनशील छ। वन्यजस्तु, वनस्पति र जैविक विविधतामा भने यो क्षेत्र निकै नै धनी छ। मिथिला जनकपुरका राजा जनक र लुम्बिनी गौतम बुद्धको जन्मस्थल वा ज्ञान प्राप्त गरेको पवित्रस्थल यही क्षेत्रमा पर्दछ। राष्ट्रपति चुरे तराई संरक्षण समिति यो क्षेत्रको संरक्षण, संवद्र्धनका लागि प्रयत्नरत छ। 

चुरे क्षेत्रमा १ सय ६४ वटा साना ठूला नदी प्रणाली छन्। चुरे र महाभारत रेन्जबाट उत्पत्ति भएर चुरेको बाटो हुँदै बग्ने गर्छन्। यी नदी प्रणालीमा हिउँदमा एकदमै कम पानी र वर्षात्मा धेरै पानी बग्ने गर्छ। यसकारण बाढी पहिरो र डुबान हुने गर्छ। यसबाट मधेसका जनता पीडित छन्। 

मुलुकको तराई/मधेस क्षेत्रलाई अन्न भण्डार मानिन्छ। त्यसै अनुरूपका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं। मानिसको जीवनयापन र राज्यको समग्र आर्थिक समृद्धिमा तराईको महत्त्व कति छ भन्ने हामी सबैलाई थाहा नै छ। पछिल्लो समयमा चुरे क्षेत्रमा ठूला ठूला राजमार्ग बन्ने र विकास निर्माणका कामहरूले तीव्रता पाएका छन्। खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्यका भौतिक संरचना निर्माणका काम भइरहेका छन्। चैत वैशाखमा आगलागी, वनक्षेत्र फँडानी गरी बसाइँसराइ गर्ने, वनमारा, माइकेनियाजस्ता विभिन्न किसिमका मिचाहा जातका वनस्पतिको आक्रमणका कारण चुरे क्षेत्रलाई एकदमै संवेदनशील रूपमा हेरिँदै आएको छ। 

मुलुकको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै २०६० र ७० को दशकमा चुरेबाट प्रशस्त रूपमा ढुंगा गिटी बालुवा उत्खनन र संकलन गरी भारतसम्म बेच्ने काम भयो। यसरी बेच्दा थोरै मात्रामा राज्यलाई राजस्व संकलन भएको त देखिन्छ। तर पनि बढी फाइदा भने बिचौलिया र विदेशीले मात्रै लिएको देखिन्छ। चुरेको वातावरणीय अखण्डता, स्वच्छता र स्वतन्त्रता खल्बलिएर जाँदा यसले भविष्यमा तराईका जनतालाई ठूलो असर गर्ने देखिन्छ। यससँगै राष्ट्रको समृद्धिमा असर पर्ने र नेपालीको जीवनमा खतरा पर्न सक्ने सम्भावना उत्तिकै छ। त्यसैकारण सरकारले २०६६/६७ सालदेखि चुरे संरक्षण कार्यक्रम लागू गरेको हो।

विकास समिति ऐन २०१३ को गठन आदेशअनुसार २०७१ सालमा छुट्टै समिति बनाएर संरक्षणको काम सुरु भयो। यसबीचमा तीनवटा समितिले काम गरेका छन्। २०७४ जेठ ४ गते सरकारले २० बर्से गुरुयोजना बनाएर काम गर्दै आएको छ। चुरे क्षेत्रमा भएको प्राकृतिक हस न्यूनीकरण गर्ने। ढुंगा, गिटी, बालुवाको दोहन र उत्खननमा व्यवस्थापन गर्नेलगायतका काम भइरहेका छन्। त्यसैगरी, विकास निर्माणका काम गर्दा वातावरणीय अध्ययन गरेर मात्र गर्नुपर्नेमा जोड दिएका छांै। चुरेको वातावरणीय अखण्डतालाई बचाएर राख्ने पहिलो प्राथमिकता हो। 

चुरे क्षेत्रका १६४ नदी छन्। चुरे र महाभारत रेन्जबाट उत्पत्तिा भएर बग्ने यी नदीका कारण बाढी, पहिरो र डुबान हुने गर्छ। यसबाट मधेसका जनता पीडित छन्।

दोस्रो उद्देश्य भनेको जैविक विविधताअन्तर्गत बाघ, भालु, गैंडालगायतका वन्यजन्तुको बासस्थान जोगाउने हो। पछिल्लो समयमा जलवायुजन्य जोखिम (तापक्रममा वृद्धि) हुँदै जाँदा पानीको खण्डवृष्टि र अतिवृष्टि हुन थालेको छ। वन्यजन्तुहरू पनि चुरेको खोचहरू खोज्दै पानी भएको ठाउँमा आश्रय लिने थालेका छन्। यस्तो स्थितिमा चुरेलाई कसरी जोगाउने र समग्र प्राकृतिक पद्धति जोगाउने भन्ने चुनौती छ। चुरेबाट उत्पादन हुने वस्तु सेवा जस्तै काठ, दाउरा पातपतिंगर दिगो रूपमा र वातावरणीय अखण्डतालाई ख्याल गरेर निकाल्नुपर्छ। कतिपय ठाउँमा ढुंगा, गिटी बालुवा थुप्रिएर बसेका छन्। जसले विकास निर्माणमा सहयोग गर्छन्। कतिपय नदी प्रणालीमा यति धेरै गिटी बालुवा थुप्रिएका छन् कि जसलाई समयमा ननिकाल्ने हो भने अर्को जोखिमको डर छ। कतिपय ननिक(ाल्नुपर्ने ठाउँमा भने गिटी बालुवा निकालिएको छ। यस्तो स्थितिमा संवेदनशील भएर काम गर्नुपर्ने अहिलेको आवश्यकता छ। 

चुरे, तराई/मधेसमा पछिल्लो समय जनसंख्या वृद्धि भएको छ। जनसंख्या वृद्धि भएसँगै जनताको वनप्रतिको आवश्यकता र विकासको आवश्यकता पनि बढ्न थालेको छ। ढुंगा, गिटी बालुवाको आवश्यकता पनि बढ्ने नै भयो। यी सबै प्राकृतिक साधन र स्रोत प्राप्त गर्दा चुरेलाई नखल्बलाईकन काम गर्ने सोचेका छौं। यसका लागि राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिले चुरे क्षेत्रको सुशासनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

ढुंगा, गिटी र बालुवा उत्खनन गरेर राजस्व संकलन गर्ने स्थानीय सरकारको चाहना छ। विगत पाँच वर्षले त्यो देखायो। भर्खरै दोस्रोपटक स्थानीय तह निर्वाचन भएको छ। नवनिर्वाचित स्थानीय तहका पदाधिकारीले दुई/चार करोड राजस्व संकलन गर्नुहोला। यसरी संकलन भएको राजस्वलाई डोजरमार्फत जथाभावी बाटो निर्माण गर्नेभन्दा पनि चुरे क्षेत्रको संरक्षणमा खर्च गर्ने परिपाटीको विकास गर्न जरुरी छ। यदि त्यसो गर्न सकेनौं भने भविष्यमा पृथ्वीको तापक्रम बढ्छ। चुरेको पनि बढ्छ। चुरे तराईसँग जोडिएकोले तापक्रम तीव्र गतिमा बढ्न गई तराईमा पानीका कुवा, मुहान, तालतलैया सुक्न सक्छन्। वन्यजन्तु र वनस्पति पानी खान नपाएर मर्न सक्छन्। चुरे र तराईमा बस्ने जनताको जीवनस्तर खस्कन सक्छ। जीवन नै संकटमा परेपछि तराईका जनता अन्यत्र बसाइँसराइ गर्नुपर्ने हुन्छ। यस्ता सम्भावित परिघटनालाई ख्याल गरेर चुरेलाई जलवायु परिवर्तनको आँखामा अति संवेदनशील भएर संरक्षण गर्नुपर्ने अवस्था छ। 

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नारालाई राष्ट्रपति चुरे तराई संरक्षण समितिले अगाडि सारेको छ। पानीको स्रोत संरक्षणलाई पहिलो प्राथमिकता दिएको अवस्था छ। जसले पानी संरक्षणबाट धेरै कुरालाई सहयोग पुग्छ। विभिन्न तालहरूलाई संरक्षण गरिएको छ। जसबाट हामी पर्यापर्यटनको विकास गर्न सक्छौं। भविष्यमा चुरे क्षेत्रलाई पर्यापर्यटनको ‘हब’ बनाउन सकिन्छ। चुरे क्षेत्रको अर्को विशेषता भनेको जडीबुटी खेतीको विकास र विस्तार गर्ने हो। कृषि, वन प्रणाली, फलफूल खेती र वन पैदावारमा आधारित उद्योगहरू स्थापना गरेर हरित अर्थतन्त्रको आधार क्षेत्र पनि बनाउन सकिन्छ। यस क्षेत्रमा धेरै विकास निर्माणका 
काम भैरहेका छन्। वातावरणीय प्रभावलाई ख्याल गरेर विकास निर्माणका कामहरू गर्नुपर्छ। पूर्वपश्चिम राजमार्गमा सफा ऊर्जाबाट चल्ने सवारीसाधनको प्रयोगमा जोड दिनुपर्छ। चुरे क्षेत्रबाट उत्पादन हुने् वस्तुहरू, फलफूल, सीप ज्ञानबाट सिर्जित गरेका नयाँ वस्तुलाई राजमार्गमार्फत निकासी गर्न सक्छौ। चुरे क्षेत्रमा केही राजमार्ग बनेका छन, केही बन्ने क्रममा छन्। 

चुरेबाट उत्पादन हुने वस्तुहरू राजमार्गमार्फत बजारमा पुर्‍याउन सकियो भने मुलुकको आर्थिक समृद्धिको आधार क्षेत्र बन्न सक्छ। जसले जलवायु परिवर्तनको जोखिम, विपत्, न्यूनीकरण गरी मानिसलाई जलवायु अनुकूलित हुन मद्दत गर्छ। जलवायु अनुकूलको दृष्टिकोणले हेर्दा नदी प्रणालीको किनारमा रहेका खाली जग्गा, नदी निकासका क्षेत्रहरू, बाढी पहिरो गएर क्षतिग्रस्त भएका भूमिमा वृक्षरोपण गर्नुपर्छ। चुरेलाई जलवायु अनुकूलनताको क्षमता अभिवृद्धि गर्ने योजना छ। चुरे दिवसको अवसरमा एक लाख बिरुवा रोप्ने जमर्को गरेका छौं। वृक्षरोपण एउटा प्रवेश विन्दु हो। यसले माटोको संरक्षण गर्छ। पानीलाई सग्लो बनाएर बगाउछ। यसले कार्बन सञ्चित गर्छ। जसले हरित अर्थतन्त्रलाई सहयोग पुर्‍याउँछ। 

चुरेको प्राकृतिक प्रक्रियालाई प्राकृतिक रूपमै राख्न सकियो भने वन्यजन्तु, वनस्पति र त्यहाँको सिस्टम लाभान्वित हुन्छ। तराई क्षेत्रको पानीको सतह पुनर्वरण हुँदै जान्छ। ‘चुरे बचाउनको लागि चुरे बचाउने होइन, हामी आफैं बाँच्नका लागि चुरे बचाउने हो’। मानिस बचाउन चुरे बचाउने हो। बाहिरको मान्छे आएर चुरे बचाउँदैनन्। त्यो हाम्रो लागि हो हामीले बचाउने हो। यसमा नागरिक समाज, निजी क्षेत्र, तीन तहका सरकार, सातै प्रदेशका सरकार र प्रमुखहरू सबै मिलेर चुरे बचाउनुपर्छ। 

- ढकाल राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.