सेलेघाट–रामेछाप–साँघुटार सडक : मजदुरलाई सास्ती, निर्माण व्यवसायीलाई मस्ती

सेलेघाट–रामेछाप–साँघुटार सडक : मजदुरलाई सास्ती, निर्माण व्यवसायीलाई मस्ती

रामेछाप : सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य निर्माण व्यवसायीले बीचमै अलपत्र छाडेर हिँडेपछि सवारी साधन सञ्चालनमा अवरोध भएको छ। कालोपत्रे गर्नको लागि सडक चौडा गर्ने काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि यातायात सञ्चालनमा समेत समस्या भएको हो।

सडक हिलाम्मे हुँदा पैदल यात्रीलाई पनि समस्या भएको छ। वर्षा सुरु भएसँगै सडक ठाउँ ठाउँमा पहिरो जाने, भासिने साथै खल्डो बनेपछि यातायात सञ्चालनमा कठिनाई भएको हो। सडककै कारण विभिन्न बस्तीहरु समेत जोखिममा परेको छ भने स्थानीय बासिन्दा चिन्तित भएका छन्। वर्षाको समयमा कतिबेला सडक भासिने हो भन्ने चिन्ता छ स्थानिय कृष्णकुमारी खत्रीलाई। त्रासै त्रासमा बस्न बाध्य भएको खत्री बताउँछिन् ।

भारतीय एक्जिम बैंकको सहयोगमा करिब डेढ वर्षदेखि सडक कालोपत्रको लागि काम सुरु गरिएको थियो। तर बीचमै काम छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको हो। निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि मजदुरहरु घरभाडा समेत तिर्न नसकेर रित्तोहात घर फर्किका छन्।  लगभग ७ लाखभन्दा माथिको रकम उठाउन बाँकी रहेको कामदार र निर्माण व्यवसायीका कर्मचारीलाई खाना खुवाएकी र बासस्थानको व्यवस्थापन गरेकी कृष्णकुमारी श्रेष्ठको गुनासो रहेको छ। कहिले उठ्छ आफ्नो पैसा भन्नेमा चिन्तित छिन् उनी। 

निर्माण व्यवसायीको लापर्बाहिका कारण सडक अस्तव्यस्त हुँदा यातायात सञ्चालनमा अवरोध भएपछि सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको यातायात व्यवसायीको गुनासो छ। सवारी साधन सहजै चलाउन समेत कठिन भएको यातायात व्यवसायी  गणेशबहादुर खत्री बताउँछन्। यात्रुबाहक सवारीसाधन सडक हिलाम्मे भएका कारण चिप्लिने, हिलोमा फस्ने गरेको खत्रीको गुनासो छ। 

निर्माण व्यवसायीको लापरबाही र नियमन गर्ने निकायको लापरबाहीले सार्वजनिक संरचनासमेत जोखिममा परेका छन्। सडक निर्माण एवं विस्तारका क्रममा सयौं ऐतिहासिक एवं पुरातात्त्विक संरचना ध्वस्त भएका छन्।

सडकको भित्ता काटेर छोडिदा पहिरो गएर रामेछाप नगरपालिका वडा-२ को कालिकादेवि माध्यामिक विद्यालय समेत पहिरोको उच्च जोखिममा परेको छ। स–साना बालबालिकालाई स्कुल आउन समेत समस्या भएकी कालिकादेवी माविका प्रधानाध्यापक  ऋषी खड्का बताउँछन्। प्रअ खड्का भन्छन् –'भवन त जोखिममा पर्‍यो पर्‍यो तर विद्यार्थीलाई समेत जोखिम मोलेर आउनु पर्ने बाध्यता रहेको छ।'

निर्माण व्यवसायीले सडक भत्काएर अलपत्र बनाएपछि जोखिममा रहेको रामेछाप नगरपालिका- २ देउराली 

निर्माण व्यवसायीलाई सम्पर्कमा आउन र मजदुरको पारिश्रमिक तत्काल उपलब्ध गराउने पत्र पठाइसकेको रामेछाप नगरपालिकाले जनाएको छ। अलपत्र सडक निर्माणका क्रममा भत्काइएका संरचना र त्यसबाट उत्पन्न हुने जोखिमको भागिदार निर्माण व्यवसायी हुने रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको भनाई छ। निर्माण व्यवसायी सम्पर्कमा नआए र मजदुरले पाउने पारिश्रमिक नदिए कानुनी प्रक्रिया अगाडि बढाउने समेत न्यौपानेले जानकारी दिए।

वर्षाको समयमा निर्माण व्यवसायीले लापरबाही गर्दा सयौं ठाउँमा जोखिम देखिएको छ भने किसानले लगाएको बाली नाली पनि नष्ट भएको छ। कुल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी सडक विस्तारको जिम्मा भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडले पाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.