पूर्वाधार निर्माणले मासिँदै चराको वासस्थान

पूर्वाधार निर्माणले मासिँदै चराको वासस्थान

विराटनगर : जलपक्षीहरूले अनुकूल वातावरण, शान्त, ठूलो क्षेत्रफल तथा फार्म ल्यान्ड भएका ताल र सिमसार क्षेत्रहरू मन पराउँछन्। नेपालमा प्रत्येक वर्ष असोजको अन्त्यतिर रूसको साइबेरिया, पूर्वी युरोप, एसियाका भागबाट विभिन्न प्रजातिका चराहरू बसाइँ सरेर नेपाल आउँछन्। उत्तरमा रहेका हिमशृंखला छिचोलेर आउने चराहरू करिब सात महिनाको बसाइपछि जेठको सुरुआतसँगै फर्कन्छन्। 

सिमसार तथा तालहरूमा सबैभन्दा बढी पुस, माघ र फागुनमा जलपक्षीहरू देख्न पाइन्छन्। तर, पछिल्लो समय बसाइँ सरी नेपाल आउने ती जलपक्षीहरूले आफ्नो गन्तव्य बदल्न थालेका छन्। बढ्दो अव्यवस्थित सहरीकरण, मानवीय चहलपहलमा वृद्धि, बासस्थानको विनाश, सिमसार क्षेत्रमा वनभोज स्थलकोे विकास र फार्म ल्यान्डमा विषादीको अत्यधिक प्रयोगलगायतका कारण पछिल्लो समय चराहरू लोप हुन थालेका हुन्। 
नेपालमा हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरूमध्ये सबैभन्दा बढी सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षमा ५ सय २८ प्रजातिका चराहरू पाइन्छन्। बाँकी ३ सय ६० प्रजातिका चराहरू सुनसरीको बर्जुताल, पूर्वी मोरङको बेतना र उर्लाबारी तथा मधेस प्रदेशको भारदह र कमलदह सिमसार क्षेत्रमा भेटिन्छन्। तर, पर्यटन पूर्वाधार निर्माणका नाममा चराचुरुंगीहरूको बासस्थान नै सखाप हुने गरी सिमसार क्षेत्रहरूमा संरचना निर्माण भइरहेका छ। 

यस्तो कार्य नरोकिएसँगै दुर्लभ मानिएका चराहरू लोपोन्मुख अवस्थामा पुगेका छन््। प्रदेश १ को राजधानी विराटनगरदेखि साढे १५ किलोमिटर पश्चिममा पर्छ, सुनसरीको चिमडीस्थित बर्जुताल। यही तालबाट गाउँपालिकाको नाम राखिएको छ। बर्जु गाउँपालिका–६ मा रहेको यो ताल १५२ बिघा क्षेत्रफलमा फैलिएको छ। सुनसरीको दक्षिणपूर्वी भेगमा पर्ने बर्जु गाउँपालिकाको परिचय तालसँग जोडिएको छ। तर, तालको परिचय भने त्यहाँको पर्यावरण, जलचर र चराहरूसँग जोडिएको छ। त्यहाँ ४० प्रजातिका जलपक्षीका साथै विभिन्न प्रजातिका पुतली र सरिसृप जनावरहरू पाइन्छन्। 

त्यहाँको वातावरण चराहरूका लागि अनुकूल रहेको कोसी पक्षी समाजका अध्यक्ष सञ्जीव आचार्य बताउँछन्। तर, आसपासका स्थानीयको जीविकोपार्जनसँगसमेत जोडिएको उक्त तालको अवस्था अब पहिले जस्तो नरहेको उनको भनाइ छ। स्थानीय पंकज मेहता भन्छन्, ‘गाउँका साथीहरू पहिले माछा मार्न तालमा आउँथे। एकपटक जाल थापेपछि छाक टथ्र्यो। तालमा घाम छेक्ने गरी चराका बथान आउँथे। तर, अहिले बर्जुताल विनाश उन्मुख भएको छ।’

बर्जुतालमा अहिले तालको पानी सुकाएर कृृत्रिम संरचना निर्माण भइरहेको छ। तालभित्र डोजर चलिरहेको छ। गाउँपालिकाको ७ करोडको लागतमा रेस्टुुरेन्टसहितको ९ तले भ्यु टावर निर्माण भइरहेकोे छ। तालको पानी सुकाइएका कारण चरा एउटै छैनन्। स्थानीय विराज यादव भन्छन्, ‘हामी घुमफिर गर्न, चराको फोटो खिच्न प्रायः आइरहन्छौं। तर, अहिले चरा छैनन्। हुन् पनि कसरी ? मानिस नभएको ठाउँमा चरा बस्ने हो। तर, चरा बस्ने ठाउँमै मेसिन चलेपछि त के हुन्छ ?’    

बर्जुतालको रेखदेखका निम्ति गाउँपालिकाबाट नियुक्ति पाएका मनिकलाल चौधरी तालमा जारी निर्माणका कारण चराहरू नआएको स्वीकार गर्छन्। ‘बर्जुमा जम्मा तीन वटा ताल छन्। पूर्वपट्टिको तालमा अलिअलि पानी भए पनि पश्चिमपट्टिका दुवै ताल सुकाइएका छन्। पूर्वको ताल घुमफिर र पिकनिकका लागि आउनेलाई बोटिङका निम्ति छोडिएको छ,’ उनी भन्छन्, ‘भ्युटावरको निर्माण सम्पन्न भएपछि वर्षायाममा नजिकै रहेको खोलामा आएको बाढी ल्याएर तालमा पुनः पानी भर्ने योजना छ। पानी भरिएपछि सायद अवस्था फर्किएला।’

दुई वर्र्षअघि मात्रै बर्जुतालमा चरा गणकहरूले ‘वैकाल्टिल हाँस’ रेकर्ड गरेका थिए। नेपालमा दुर्लभ मानिने उक्त जलपक्षी २०६८ पछि पहिलोपटक २०७६ सालमा देखा परेको थियो। तर, पर्यटन विकासका निम्ति भन्दै पर्यावरणीय पक्षलाई समेत ख्याल नगरी गाउँपालिकाद्वारा जारी भ्यु टावर निर्माणले हाल उक्त हाँस पनि लोप हुने अवस्थामा पुगेको छ। पर्र्यटनलाई पैसासँग जोडेर हेर्न खोजिएका कारण बर्जुतालको ऐतिहासिक, पुराताŒिवक र पौैराणिक महŒवसमेत ओझेलमा पर्दै गएको विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका उपप्राध्यापकसमेत रहेका वातावरणविद् रामचन्द्र अधिकारी बताउँछन्। 

‘गाउँपालिकाले इको टुरिज्मको अवधारणाबमोजिम उक्त भ्यु टावर निर्माण गरेको देखिन्छ। तर, जलचरहरूको बासस्थान नै सखाप गर्ने गरी विकास निर्माण गर्नु ठीक होइन्,’ उनी भन्छन्, ‘बर्जुताल तराई÷मधेसको सबैभन्दा ठूलो जलाशयको रूपमा रहेको छ। यहाँ दुर्लभ वनस्पतिहरू पनि पाइन्छन्। तर, अब त्यो सबै सकिने भयो।’ बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार राय स्थानीयको गुनासो सम्बोधन हुनेगरी समस्या समाधानमा आफू लागिपरेको बताउँछन्। जलपक्षीहरूको संरक्षणका निम्ति छिट्टै योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने उनको भनाइ छ। ‘यसबारे धेरै कुराहरू मलाई थाहा छैन। बुझ्ने क्रममा छु,’ उनी भन्छन्, ‘कसरी, के गर्न सकिन्छ ? हामी गर्छौं।’

सुनसरीको बर्जुतालमात्र नभई प्रदेश १ को मोरङ र सुनसरीका अन्य सिमसार र तालहरूको अवस्था पनि उस्तै छ। पर्यटन विकासको नाममा पर्यावरणलाई ख्याल नगर्दा जलचरहरू यथोचित बासस्थानको खोजीमा बसाइँ सर्ने क्रम जारी छ। चराविद्हरूका अनुसार कोसी टप्पु वन्यजन्तु आरक्षमा २०७७ को तुलनामा २०७८ मा चराहरूको संख्यामा ६५ प्रतिशतले कमी आएको छ। यस वर्ष पनि सो क्रम जारी रहने उनीहरूको आकलन छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.