हिमालमा पहिरो‍ खतराको संकेत

हिमालमा पहिरो‍ खतराको संकेत

हिमालहरू नै पृथ्वीका सबैभन्दा अग्ला ठाउँहरू हुन्। चिसा ती ठाउँहरूमा पानी पर्दैन, हिउँ पर्छ। हिउँ जम्छ। ठूलाठूला र अग्लाअग्ला पहाडी चट्टानहरूमा बाह्रैमास हिउँ जमिरहने हुने हुँदा ती हिमाल भएका हुन्। अग्ला पहाडी पर्वतहरू समथर हुँदैनन्, तै हिउँ जमेर बस्छ। तर ३० डिग्रीभन्दा भिराला हिमाली पर्वतमा धेरै हिमपात हुँदा हिउँ नअडिएर पहिरोको रूपमा खस्छ पनि। यो त स्वाभाविकै प्रक्रियाजस्तो देखिन्छ। तर नेपालका हिमालहरूमा यस्ता स्वाभाविक र नियमित जस्ताभन्दा बेग्लै हिउँ पहिरो पनि जान थालेका छन्। जुन जोखिमका मात्रै होइन, प्रलयका पनि संकेत हुन्। विश्व तापमान वृद्धिसँगै हिमाली क्षेत्रमा हिमपहिरोको क्रम वृद्धि हुँदैछ। हिमाली पर्वतहरूमा हिउँ घट्दै छ। यसै पनि नेपाल जलवायु परिवर्तनको चौथो जोखिम मुलुकभित्र पर्छ। यसको पहिलो असर भनेकै हिमालमा परिरहेको छ। हिमालमा परिहेको असरको प्रभाव नै हो, हिमपहिरो, बाढी र पहिरो आदि।

हिमपहिरोको जोखिम यति धेरै बढ्दै गएको छ कि पछिल्लो समय सगरमाथा आधारशिविरै सार्ने योजना बन्दैछ। अहिलेको आधारशिविर भनेको ५ हजार ४ सय ६४ मिटरको उचाइ हो। अब त्यसभन्दा तलै सार्ने सरकारी योजना छ। अहिलेको आधारशिविर हिमपहिरोको जोखिममा छ। आधारशिविरमा हिमनदी र खोल्साहरू बनेका छन्। अर्थात् हिउँ पग्लिँदै गएको छ। पानी बन्न थालेको छ। गएको एक शताब्दीमा नेपालमा ६० भन्दा बढी हिमपहिरो गएको रेकर्ड छ। तिनका कारण ३ सय ७२ जनाले ज्यान पनि गुमाएका छन्। अधिकांश हिउँपहिरो सगरमाथा क्षेत्रमा गएका छन्। ज्यान गएकामध्ये ३ सय २४ जना सगरमाथा क्षेत्रको हिउँपहिरोका कारण थिए। विश्वको शिखर क्षेत्र नै यसरी हिमपहिरोको चपेटामा पर्नु निकै संवेदनशील कुरा हो। हिमालको हिउँ, त्यहाँको पर्यावरण नेपालको मात्रै होइन, विश्वकै जलवायु सन्तुलनको चिन्ताको विषय हो। जलवायु परिवर्तन विश्वभरकै सबैभन्दा गम्भीर मुद्दा हो। पृथ्वीको जलवायुमा आएको परिवर्तनको मुख्य कारण पृथ्वीको तापक्रम वृद्धि हो। त्यसको एउटै मूल कार्बन उत्सर्जन हो। खानीबाट निकालिने इन्धन र त्यस्तो इन्धनबाट चल्ने यातायातका साधन र कलकारखाना कार्बन उत्सर्जनका मुख्य कारण हुन्।

जसरी सय वर्षयता हिउँपहिरोको संख्या अचाक्ली देखिन्छ, त्यस्तै सय वर्षयता नै जीवाश्म इन्धनको प्रयोग अत्यधिक छ। अहिले बर्सेनि १० अर्ब टन कार्बन पृथ्वीमा उत्सर्जन भइरहेको छ, जब कि सय वर्षअघि यो मात्रा एक अर्ब टन थियो। जीवाश्म इन्धनको प्रयोगले निम्त्याएको यो समस्याको समाधान त्यसको कम प्रयोग नै हो। त्यसो त जैविक र वैकल्पिक तथा विद्युतीय ऊर्जाको प्रयोगतर्फ संसारले दिशा समातेको छ। तर, त्यसको गति कार्बन उत्सर्जन न्यूनीकरणका लागि पर्याप्त भएको छैन। झन् नेपालमा त विद्युतीय ऊर्जा खपतका लागि सरकारले नारा त दिएको छ, तर कार्यान्वयनतिर पटक्कै ठोस कदम चालेको छैन। विद्युतीय ऊर्जाबाट चल्ने साधनमा भन्सार बढाएर उल्टो काम गरेको छ। 

हिमपहिरोको जोखिम क्षेत्र कहाँकहाँ हो भन्ने पत्ता लगाउन पनि सरकारबाट कुनै काम भएको छैन। त्यसैले यो झन् बढी जोखिमयुक्त भएको छ। हिउँपहिरोको जोखिमको पूर्वानुमानका लागि कुनै प्रविधिको प्रयोग या विकासमा पनि ध्यान नपुर्‍याउन सरकारको अर्काे कमजोरी हो। कम्तीमा पनि हिउँपहिरोको जोखिमको नक्सांकन गर्ने र जोखिमका बस्ती वा त्यता मानवीय उपस्थिति कम गराउन सरकारले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ। हिउँपहिरोको कारण मानवीय गतिविधि पनि हो।

जलवायु परिवर्तनमात्रै सबै कारण होइन। तसर्थ, हिमाली क्षेत्रमा पर्यावरणमा नोक्सान पुग्ने मानवीय गतिविधिलाई कम गर्ने, हिमाल आरोहणलाई थप व्यवस्थित गर्ने तथा हिमालमा फोहोर थुप्रन नदिने सरकार कडाइका साथ लाग्न जरुरी छ। हिउँपहिरो सामान्य पहिरोमात्रै होइन, मानव जीवनको अस्तित्वका लागि ठूलो खतराको संकेत हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.