हिमालमा कति छ फोहोर ?

हिमालमा कति छ फोहोर ?

काठमाडौं : पर्यटकीय क्षेत्रको आम्दानीमा हिमाल आरोहणको हिस्सा ठूलो छ। आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार ६३ करोडभन्दा बढी रकम रोयल्टी उठेको छ। यो त कोभिड महामारीका कारण खुम्चिएको तथ्यांक हो। त्यसअघि अर्बौं रकम उठ्ने गरेको थियो। तर, पर्यटक तान्ने, राजस्व बढाउने र पानीका स्रोत हाम्रा हिमाल कति सफा छन् त ? 

कीर्तिमानी आरोही कामिरिता शेर्पा भन्छन्, ‘तीन वर्षयता सफा भएका छन् । पहिला–पहिला सरकारको नीति नै नभएका कारण फोहोर थुप्रिएको हो। फोहोरजति त्यता (हिमालमा) नै छाडिन्थ्यो। बेसक्याम्पमा जलाउने पनि गरिन्थ्यो।’ आधारशिविर (बेसक्याम्प)मा फोहोर गर्न नपाउने अनि फोहोर लिएर आउनुपर्ने नियमले गर्दा पहिलाभन्दा अलिक सफा भएको उनको अनुभव छ। अहिले निकालिएको फोहोर ७०–८० वर्षअघिको भएको उनी सुनाउँछन्। 

पर्वतारोहणका लागि आधिकारिक सरकारी निकाय पर्यटन विभागसँग हरेक वर्ष कति फोहोर हुन्छ भन्ने तथ्यांक छैन। सफा हिमाल अभियानअन्तर्गत सन् २०१९ मा १० हजार किलो, सन् २०२१ मा २७ हजार ६ सय ७१ र २०२२ मा ३३ हजार ८ सय ७७ किलो संकलन गरिएको नेपाली सेनाले उपलब्ध गराएको तथ्यांकले देखाउँछ।

आरोही पूर्णिमा श्रेष्ठका अनुसार अहिले आरोहण दलले नै जतिसक्दो संकलन गरी आधारशिविरमा झार्ने गरेका छन्। ‘सन् २०१७ तिर आधारशिविरदेखि माथिसम्म नै फोहोर देखिन्थ्यो। तर, अहिले अभियानले सचेतना जगाएको छ’, उनी भन्छिन्। 

अर्की आरोही शर्मिला तामाङ भने हिमालमा धेरै फोहोर रहेको बताउँछिन्। ‘सगरमाथा सफाइ गर्दा २०१९ मा म पनि थिएँ। आधारशिविर ३ सम्म धेरै फोहोर छ। आधारशिविर १ वा त्योभन्दा तल मात्र सफा गरेर सबै हिमाल सफा हुँदैन’, तामाङ भन्छिन्, ‘१–२ वर्षभन्दा पनि ५० औं वर्षदेखिका फोहोर थुप्रिएका छन्।’ उनका अनुसार प्लास्टिक, टेन्ट, टेन्ट अड्याउने स्ट्यान्ड, सिलिन्डरका भाँडा, खाना पकाएका भाँडालगायत जतासुकै देख्न सकिन्छ। ती सामान वर्षौंसम्म कुहिँदैनन्’, उनी भन्छिन्। 

वातावरणविद् भूषण तुलाधरका अनुसार जहाँ धेरै पर्यटक आउँछन्, त्यहाँ दुई प्रकारका फोहोर छाड्छन्। एउटा, प्रयोग गरिसकेका सामग्री (अक्सिजन सिलिन्डरलगायत) र अर्को, उनीहरूको दिसा। ‘दिसा साधारण अवस्थामा भए कुहिएर जान्थ्यो होला। तर, हिमालमा त्यो गल्न समय लाग्ने देखिन्छ’, तुलाधर भन्छन्, ‘यसले त्यहाँको वातावरण र स्थानीय सेरोफेरोलाई दुर्गन्धित पार्ने देखिन्छ। यस्ता किसिमका फोहोर थुप्रिँदा पर्यटक आगमन र हिमाल आरोहणमा असर पार्ने देखिन्छ।’ 

माउन्टेन गाइड लाक्पा शेर्पाका अनुसार अहिले आधारशिविर १ र २ मा त फोहोर देखिँदैन। सगरमाथा आधारशिविर ४ मा भने केही हुन सक्ने शेर्पा बताउँछन् । ‘आधारशिविर ४ माथि एउटा समूहले बढीमा २ किलो फोहोर गर्ने अनुमान गरिन्छ’, शेर्पा भन्छन्, ‘आधारशिविर १ मा जस्तो अत्यधिक फोहोर माथि गएपछि हुँदैन।’ 

कति छ फोहोर ?

पर्वतारोहणका लागि आधिकारिक सरकारी निकाय पर्यटन विभागसँग हरेक वर्ष कति फोहोर हुन्छ भन्ने तथ्यांक छैन। सफा हिमाल अभियानअन्तर्गत सन् २०१९ मा १० हजार किलो, सन् २०२१ मा २७ हजार ६ सय ७१ र २०२२ मा ३३ हजार ८ सय ७७ किलो संकलन गरिएको नेपाली सेनाले उपलब्ध गराएको तथ्यांकले देखाउँछ। सगरमाथामा अझै ५० हजार टन फोहोर रहेको अनुमान गरिएको छ। 

सगरमाथाबाट मात्रै करिब १४ सय किलो संकलन गरिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाल बताउँछन्। कुहिनेजति स्थानीय निकाय तथा समिति र नकुहिनेजति रिसाइक्लिङ एजेन्सीलाई हस्तान्तरण गरिएको छ। यी ८ हजार मिटरभन्दा अग्ला ८ हिमालबाट संकलित फोहोर भएको जनाइएको छ। हिमालमा अझै हजारौं किलो रहेको प्रवक्ता सिलवालको भनाइ छ। 
‘यो अभियान सांकेतिक रूपमा जनचेतनाका लागि हो। यो नै समाधान होइन। यसका लागि फोहोर नै गर्न रोक्ने हो। यस्तो धेरै अभियान चलाउनुपर्ने हुन्छ’, सिलवाल भन्छन्। 

हिमाललाई सफा राख्नुपर्छ भन्ने देखाउन यो अभियान चलाइएको उनको भनाइ छ। तर, यो पर्याप्त नभएको उनी बताउँछन्। भन्छन्, ‘एउटा हिमालको एउटा निश्चित ठाउँको फोहोर मात्र संकलन भएको हो। जस्तो सगरमाथाको उत्तरको बाटो गएको छैन। अर्को हिउँ पग्लिएको बेलामा अरू फोहोर देखिन्छ। त्यत्तिखेर उठाएको छैन।’ 

कीर्तिमानी आरोही शेर्पाका अनुसार सन् २०१८ तिर विदेशीले हाम्रा हिमाल डम्पिङ साइट भएको भनेर प्रचारसमेत गरे। ‘त्यसपछि हामीले नै सरकारलाई हिमाल सफाइ अभियान चलाउन सुझाव दिएका हौं। अब हिमाल सफाइका लागि हामी र सरकारले नै नियम कडा गर्न जरुरी छ’, उनी भन्छन्, ‘अब सरकारले ८ हजार मिटर अग्लासँगै अन्य साना हिमाल सरसफाइमा पनि ध्यान दिन जरुरी छ।’ 

विश्वमा हल्ला भएअनुसार फोहोर नभएको तर हामी सचेत रहन जरुरी रहेको १५औं चुली पुस्तकका लेखक खिमलाल गौतम बताउँछन्। प्राकृतिक रूपमा हिमाल स्वच्छ हुने भए पनि मानवीय गतिविधिका कारण फोहोर हुन थालेकामा दुईमत नभएको उनको तर्क छ। 

फोहोरको धरौटी

हिमालमा आरोहीको घुइँचोसँगै त्यहाँ थुप्रिने फोहोर व्यवस्थापन कसले र कसरी गर्ने भन्ने स्पष्ट हुन सकेको देखिँदैन। आरोहणको अनुमति दिने पर्यटन विभागले फोहोरको धरौटी राख्ने गरेको छ। ५ सय अमेरिकी डलरदेखि ४ हजार डलरसम्म धरौटी लिने गरिन्छ। उक्त रकम फोहोर व्यवस्थापनको कागजात देखाएपछि विभागले फिर्ता दिन्छ। 

धेरै आरोही उक्त रकम फिर्ता लिन नआएको देखिन्छ। तर, यसमा सत्यता नरहेको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराई बताउँछन्। आरोहण दलदेखि सम्बन्धित निकायले फोहोर छोडेर नआउने गरेको र सम्बन्धित निकायको समन्वयमा धरौटीबापतको रकम फिर्ता दिइने गरेको भट्टराई बताउँछन्।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम २७ को उपनियम १ मा नष्ट गरिन सकिने फोहोरमैला, पुनः प्रशोधन गर्न सकिने र पुनः निकासी गर्न सकिने फोहोरमैला भनेर वर्गीकरण गरिएको छ। पुनः प्रशोधन गर्न सकिने फोहोरमैला काठमाडौं ल्याइ सरकारले तोकेको निकाय वा संस्थामा बुझाउने व्यवस्था गरिएको छ। यस्तै, पुनः निकासी गर्नुपर्ने फोहोरमैलालाई पर्वतारोही दलले आफ्नो देशमा लैजानुपर्ने छ।

धरौटी नराखे पनि हिमाल सफा राख्नु सरकारको दायित्वभित्र पर्ने बताउँछन् विज्ञ तुलाधर। ‘हिमालको माथि–माथि गएर व्यवस्थापन गर्न भनेजस्तो सजिलो नभए पनि अन्य मुलुकमा पनि हिमाल छन् तर सफा छन् नि’, उनी भन्छन्, ‘यसकारण हामीले ती देशबाट हिमाल फोहोर व्यवस्थापन सम्बन्धमा सिकेर यहाँ कार्यान्वयन गर्नुपर्छ। जनचेतनावृद्धिका लागि सरकारले सुरु गरेका अभियान स्वागतयोग्य हो। अब हिमाल फोहोर नै हुन नदिन स्थायी प्रणाली बनाएर अघि बढ्नुपर्छ।’ जसले फोहोर गर्छ, सफा गर्नु उसको पनि जिम्मेवारी रहेको उनी बताउँछन्। 

आरोही तामाङका अनुसार सरकारले रोयल्टी मात्र उठाउने तर सफाइमा ध्यान नदिन मिल्दैन। ‘अर्को भनेको जसले आरोहण दल लगेको हुन्छ ती सम्बन्धित कम्पनीहरूले पनि त्यसको पहल गर्न जरुरी छ’, उनी भन्छिन्, ‘आरोहीहरूसँग आरोहण गराउने कम्पनीले पनि पैसा उठाएको हुन्छ। यसकारण उनीहरूको पनि दायित्व छ।’ 

तस्बिर : नेपाली सेना

अर्की आरोही श्रेष्ठ हिमाल आरोहीलाई नै जागरुक बनाउन जरुरी रहेको बताउँछिन्। ‘किनभने उनीहरूलाई हिमालको माया बढी हुन्छ। त्यो उनीहरूको बाँच्ने आधार पनि हुन्छ’, उनी भन्छिन्, ‘तर, यस्ता अभियान सधैं हुनुभन्दा हामी आफंै नै सचेत हुनप¥यो। अभियानबाट मात्रै सफाइ गर्दा सबै त्यसमा नै भर पर्ने र आफ्नो उत्तरदायित्व पूरा नगर्ने हुन्छ। त्यसकारण जिम्मेवारी बहन गर्ने गरी जागरुक बनाउन जरुरी छ।’

माउन्टेन गाइड शेर्पाका अनुसार हिमाल सफा भएपछि नियममा तोकिएको १६ किलो फोहोर आधार शिविरभन्दा तल ल्याउन सकिएको छैन। यसले गर्दा धरौटीबापतको रकम फिर्ता नहुने भएको छ। ‘आधार शिविरबाट फर्किंदा आरोहण दल सदस्यले ८ किलो र शेर्पाले ८ किलो फोहोर बुझाउनुपर्ने प्रावधान छ। तर, कहाँबाट ल्याउने त्यत्रो फोहोर ? अहिले फोहोर उठाउने काम व्यवसाय जसरी सञ्चालन हुन थालेको छ’, उनी भन्छन्, ‘तर, हिमाल र फोहोर संकलनको पहिलो अधिकार शेर्पालाई दिनुपर्ने हो। सरकारले गरे पनि निजी क्षेत्रले गरे पनि फोहोर उठाएर ल्याउने त शेर्पाले नै हो। त्यसमा किन बिचौलिया घुसाउने जस्तो लाग्छ। सरकारको पैसा सही तरिकाले सदुपयोग गर्न पनि सही टिमसँग समन्वय गर्न आवश्यक छ।’ 

हिमालको फोहोर व्यवस्थापन खर्चिलो हुने बताउँछन् विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइराला। तर, सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा समस्या भएको कोइरालाको भनाइ छ। कतिपय फोहोर आधारशिविरमै नष्ट गरिन्छ। कतिपय स्थानीय निकायसँगको समन्वयमा व्यवस्थापन गरिने कोइरालाको भनाइ छ। 

यसो भन्छ नियमावली 

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम २७ को उपनियम १ मा नष्ट गरिन सकिने फोहोरमैला, पुनः प्रशोधन गर्न सकिने र पुनः निकासी गर्न सकिने फोहोरमैला भनेर वर्गीकरण गरिएको छ। पुनः प्रशोधन गर्न सकिने फोहोरमैला काठमाडौं ल्याइ सरकारले तोकेको निकाय वा संस्थामा बुझाउने व्यवस्था गरिएको छ। यस्तै, पुनः निकासी गर्नुपर्ने फोहोरमैलालाई पर्वतारोही दलले आफ्नो देशमा लैजानुपर्ने छ।

नष्ट हुने फोहोरमा ट्वालेट पेपर, पेपर, कार्डबोर्ड, बाँसबाट बनेका सामग्री, सुती तथा जुटका झोला, विघटन गर्न सक्ने खाना रहेको छ। पुनः प्रशोधन गर्ने फोहोरमा टिन, बोटल, प्लास्टिक क्यान तथा सिट, पुनः प्रयोग गरिने ग्यास सिलिन्डरलगायत पर्छन्। र, पुनः निकासी गर्ने फोहोरमा अक्सिजन बोटल, ब्याट्री, पर्वतारोहणका लागि प्रयोग हुने सामग्रीहरू पर्छन्। हिमाल सरसफाइका लागि सरकारले वार्षिक ८ देखि १० करोडसम्म बजेट विनियोजन गर्ने गरेको छ। 

४१४ हिमाल आरोहण अनुमति

सरकारले ५ हजार मिटरदेखि ८ हजार मिटरभन्दा अग्ला ४ सय १४ हिमाल आरोहण गर्न अनुमति दिएको छ। त्यसमा पनि करिब ३० वटाको नियमित आरोहण हुने गरेको पर्यटन विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराई बताउँछन्। नेपालका १ हजार ३ सय १० हिमाल आरोहण गर्न योग्य छन्। त्यसमा ८ हजार मिटरभन्दा अग्ला ८ वटा नेपालमा छन्। 

हरेक मौसममा सबैभन्दा बढी चढिने भनेको सर्वोच्च शिखर सगरमाथा हो। त्यसपछि ल्होत्सेको आरोहण बढी हुने गरेको छ। मनास्लु, अम्मादब्लम, कंचनजंगा, अन्नपूर्णलगायत पछि पर्छन्। सबै मौसममा हिमाल चढ्ने भए पनि हिउँदभन्दा वसन्त ऋतु, शरद र गर्मी ऋतुमा आरोहीको घुइँचो लाग्ने गर्छ। वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने मुख्य सिजन भएकाले यो समयमा सबैभन्दा बढी रोयल्टी उठ्ने गरेको छ। गत वर्ष वसन्त ऋतुमा ५५ करोड उठेकोमा यो वर्ष करिब ४९ करोड रोयल्टी उठेको छ।  

हिमाल पर्यटन र रोयल्टीका लागि मात्र नभई १.३ बिलियन मानिसको पानीका स्रोत हुन्। पर्यावरण संक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न हिमाललाई स्वच्छ राख्न आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन् २०२२ मा भएको जलवायुसम्बन्धी विश्व सम्मेलनमा तापक्रम बढेकाले हिउँ पग्लिन थालेको कुरा उठेको थियो।

सन् १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपालको पर्वतारोहणमा संसारको ध्यान तानिएको थियो। त्यसपछि बर्सेनि हजारौं हिमाल आरोहण गर्दै आएका छन्।

तीन वर्षयता हाम्रा हिमाल सफा भएका छन्। पहिला सरकारको नीति नै नभएका कारण फोहोर थुप्रिएको हो। हिमाल सफाइ अभियानबाट अहिले निकालिएको फोहोर ७०–८० वर्षअघिको हो। 
कामिरिता शेर्पा, कीर्तिमानी आरोही

अभियानले प्रायः आधारशिविरसम्म मात्र सफा गर्ने गरेको छ। त्यसभन्दा माथि पनि धेरै फोहोर थुप्रिएको छ। यसमा सरकारले रोयल्टी मात्र उठाउने तर सफाइमा ध्यान नदिन मिल्दैन। सम्बन्धित कम्पनीले पनि पहल गर्नुपर्छ। 
शर्मिला तामाङ, हिमाल आरोही

आरोहीलाई नै जागरुक बनाउन जरुरी छ। उनीहरूलाई हिमालको माया बढी हुन्छ। अभियानबाट मात्रै सफाइ गर्दा सबै त्यसमै भर पर्ने र आफ्नो उत्तरदायित्व पूरा नगर्ने हुन्छ। 
पूर्णिमा श्रेष्ठ, हिमाल आरोही

हिमाल र फोहोर संकलनको पहिलो अधिकार शेर्पालाई दिनुपर्ने हो। सरकारले गरे पनि निजी क्षेत्रले गरे पनि फोहोर उठाएर ल्याउने त शेर्पाले नै हो। त्यसमा किन बिचौलिया घुसाउनेजस्तो लाग्छ। 
लाक्पा शेर्पा, माउन्टेन गाइड

फोहोरले हिमालको वातावरण र स्थानीय सेरोफेरोलाई दुर्गन्धित पार्ने देखिन्छ। यस्तोमा जसले फोहोर गर्छ, सफा गर्नु उसको पनि जिम्मेवारी हो। तर, सरकारले फोहोर फिर्ता ल्याउन धरौटी राख्दै आएको छ। सफा राख्नु सरकारको दायित्वभित्र पर्छ। 
भूषण तुलाधर, वातावरणविद्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.