भुक्तानी लिन हतार–हतार काम
रामेछाप : रामेछापको सेलेघाट मन्थली सडकमर्मत र स्तरोन्नतिको काम तीव्र रूपमा भइरहेको छ। सडक दिगो बनाउने र गुणस्तरीय काम गर्नेभन्दा पनि निर्माण कार्य सकेर भुक्तानी लिन हतारले गर्दा धुलो सडकमाथि अलकत्रा हालेर सडक कालोपत्र गर्ने काम भइरहेको छ।
सडक कालोपत्र गर्दा सडकको धुलो हटाएर गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले भने झारा टार्न कुचोले बढारेर कालोपत्र गरिरहेका छन्। निर्माणबारे सडक डिभिजन कार्यालयका खुर्कोटका प्राविधिक शंकर कार्की सवारीसाधनको आवतजावत निरन्तर रहेकाले धुलो हटाउन नसकिएको बताउँछन्। यातायातका साधनलाई दोष देखाए सरकारी निकायका प्रतिनिधि कार्की आफैं निर्माण व्यवसायीलाई ढाकछोप गरिरहेका छन्।
सडक स्तरोन्नति र मर्मतमा देखिएको लापरबाहीको बारेमा जिज्ञासा राख्दा कार्यालयले नियमित रूपमा प्राविधिक खटाएको र अनुगमन भइरहेको निमित्त कार्यालय प्रमुख लक्ष्मीदत्त जोशी बताउँछन्। तर, जोसीले यस्तो बताइरहँदा भने सोही कार्यालयका प्रतिनिधि शंकर कार्की मजदुरलाई देखावटी निर्देशन दिएर बसेका छन्।
करिब २५ लाख रुपैयाँ बराबरको मर्मत र स्तरोन्नतिको काम पाएको सेतीदेवी निर्माण सेवाले सेलेघाटदेखि खिम्तीसम्म सडक मर्मत गर्नुपर्ने हुन्छ। यस्तै, सडकको नालाको जिम्मा पाएको गडवारी निर्माण सेवाले नाला निर्माण सम्पन्न गरिसकेको भए पनि भित्ता भत्किएको माटोले सबै पुरिसकेको छ। निर्माण व्यवसायीको लापरबाही र सरकारी संयन्त्रको फितलो अनुगमनले उक्त सडक बर्सेनि भत्किने र निर्माण गर्नुपर्ने हुन्छ।