गाउँमै निःशुल्क अल्ट्रासाउण्ड, बागीका महिला खुशी
सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिका-५ बागीको स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु भएको छ।
गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि बागीका गर्भवती महिलाहरु खुशी भएका छन्।
गर्भवती महिलाहरुलाई अल्ट्रा साउण्ड गर्न घण्टौं हिँडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्य चौकीमै अल्ट्रा साउण्ड सेवा सञ्चालन गरिएको वडा अध्यक्ष तिलक मिश्रले बताए।
गर्भमा रहेको बच्चाको अबस्था तथा आमाको स्वास्थ्य अबस्था बुझ्नका लागि अल्ट्रा साउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ।
गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिलाहरु लाभान्वित हुने वडा अध्यक्ष मिश्रले बताए।
उनले घण्टौ हिँडेर हल्ट्रा साउण्ड गर्न सदरमुकाम सन्धिखर्क आउनुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउण्ड सेवा सुरु गरिएको बताए।
उनले भने 'यि र यस्तै कार्यक्रमका साथ बागीलाई जिरो होम डेलिभरी वडा बनाउने अभियानमा आफुहरु लागेका छौ।'
आफूले चुनावमा घोषणा गरेअनुसार बाँगीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने प्रयास भइरहेको बताएका छन्।
यस्तै गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइ रहेको समेत उनले बताए।
वडा अध्यक्ष तिलक मिश्रले बाँगी तथा मालारानीको स्वास्थ्य सेवाको बिकास र बिस्तारमा लागि रहेको बताए।
प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र ,स्वास्थ्य कार्यालय अर्घाखाँची, स्वास्थ्य चौकी बाँगी र मालरानी गाउँपालिकाको सहकार्यमा बाँगी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको हो।