अस्पतालमा भेटिँदैनन् चिकित्सक

अस्पतालमा भेटिँदैनन् चिकित्सक

जनकपुरधाम : मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा पुग्दा दिनको ठीक १२:३५ बजेको थियो। ओपीडी कक्ष बिरामीले भरिभराउ थिए। तर, एकाध चिकित्सक बाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक समयमै आइपुगेका थिएनन्। १२-३५ बजेदेखि डाक्टर कुरिरहेका बिरामीले ३ बजेसम्म कुरिरहे। तर, चिकित्सक आइपुगेनन्। 

ओपीडी कक्षको १९ नम्बर कोठा फिजिसियन-मेडसिन विभागका चिकित्सकहरूको हो। तर, त्यहाँ दिनभर कोही पनि पुगेनन्। बिहीबार क्रमशः चिकित्सकहरू डा. सिद्धिदात्री झा, डा. रामदेव चौधरी, डा. अजयकुमार यादव, डा. विपिनकुमार यादव, डा.रामेश्वर महासेठ र डा. दिगविजय ठाकुर लगायतको ड्युटी थियो। तर, एक जना पनि उपस्थित भएनन्।  

बिहान ११ बजेदेखि पुर्जा कटाएर लाइन लागेका बिरामी ३ बजेसम्म चिकित्सकको पर्खाइमा थिए। तर, समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजीमा जान बाध्य भए। कतिपय डाक्टर कुरेर बस्न बाध्य थिए। ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने उखान जनकपुर प्रादेशिक अस्पतालमा देखिन्थ्यो। 

महोत्तरी सोनमा गाउँपालिकाका मणिभूषणप्रसाद कर्णले आमाको खुट्टा सुन्निएर चिकित्सकसँग चेकजाँचका लागि पुगेका थिए। तर, समयमा चिकित्सक भेटाएन्। भने, ‘खुट्टा सुन्निएको छ, बाहिर लाइनमा बस्न लगाए। डाक्टर अब आउँछ भन्दै कम्पाउन्डरले भनेको झन्डै २ घण्टाभन्दा बढी भयो तर अत्तोपत्तो छैन। बिरामी निको हुन डाक्टर खोज्दै आउँछन्। तर, यहाँ डाक्टरको लापरवाहीले झन् बिरामी भएर फर्कनु पर्ने अवस्था छ।’ महोत्तरीकी रीना कर्णले भनिन्, ‘८ बजेदेखि नै बिरामीको लामो लाइन छ। बल्ल–बल्ल डाक्टर देखाइयो। भनेको सबै जाँच गरेर आए। तर, रिपोर्ट हेर्ने डाक्टर खोजेको घण्टौं भयो, अत्तोपत्तो छैन। अस्पतालमा कतै डक्टर फेला पर्दैनन्, बिरामी आउँछन्। भएका नर्सले उनीहरूलाई हेरे भने हेरे, नत्र उनीहरू निजी अस्पताल नै जान बाध्य हुन्छन्।’ 

अस्पतालमा चिकित्सकको दरबन्दी नै नभएको भने होइन। स्वास्थ्य विभागका अनुसार प्रादेशिक अस्पतालमा केही दरबन्दी बाहेक अन्य चिकित्सकको दरबन्दी पूरा छ। तर, अस्पतालमा विशेषज्ञ चिकित्सक फेला पार्नु भनेको मन्दिरमा प्रत्यक्ष भगवान फेला पार्नु जस्तै भएको सेवाग्राही कर्ण गुनासो गर्छन्। गरिब र दिन दुःखीले उपचार गर्ने यो स्थानमा चिकित्सकलाई फाइदा नहुने भएकाले उनीहरू नीजी क्लिनिकमा बस्ने गरेको आरोप लाग्ने गरेको छ। 

आफ्ना निजी क्लिनिक अनि प्राइभेट अस्पतालमा अन्य थप आम्दानी हुने भएकाले अस्पतालमा हाजिर गरेर टाप कस्न पाइने भएकाले अस्पतालमा डाक्टरको अभाव हुने गरेको स्थानीय सुशील कर्ण बताउँछन्। ‘अस्पतालमा पुगेका बिरामीले डाक्टर खै, भनेर सोधेमा नर्स उल्टै थर्काउनु थर्काउँछन्। डाक्टर सबै पैसा कमाउन बाहिर बस्छन्,’ उनले भने। अस्पतालमा सेवाग्राहीको गाली खाँदै काम किन गर्नु हुन्छ ? अन्नपूर्णकर्मीको प्रश्नमा एक नर्सले नाम नलेख्ने सर्तमा भनिन्, ‘डा. सिद्धिदात्री झा आउनुभएको थियो। तर, १२ बजे भन्दा पहिल्यै निस्किएर जानुभो! डाक्टर साब आउनुहुन्छ, हाजिर बनाउनु हुन्छ। फेरि निस्किहाल्नु हुन्छ।’ अस्पतालमा काम गर्न पनि नर्सले मेसुदेखि अस्पताल विकास समितिसम्मलाई घुस दिएर करारमा केही दिनअघि भर्ना भएको ती नर्सले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.