जागिर छाडेर ड्रागन खेतीतिर
सुर्खेत : पेसाले उनी स्वास्थ्यकर्मी। हेल्थ असिस्टेन्स पढेका। सुर्खेतस्थित ब्रिटिस पेन्सन क्याम्पमा कार्यरत थिए। तलब सुविधा मासिक लाख रुपैयाँकै हाराहारीमा थियो। तर, पनि सुर्खेत गुर्भाकोट नगरपालिका–१४ गुमीका हिराबहादुर घर्तीले उक्त जागिर त्यागिदिए। सहरको लोभलाग्दो जागिर छाडेर उनी हिजोआज गाउँमै ड्रागनफ्रुटको खेतीमा रमाइरहेका छन्।
नेपाल कृषि प्रधान देश हो भनिन्छ। युवाहरूको रुचि भने कृषिमा कमैमात्र देखिन्छ। धेरै युवा हाल खाडीको गर्मीमा पसिना बगाइरहेका छन्। तर, हिराबहादुर घर्ती भने विदेश र जागिरको मोह त्यागेर गाउँमै ड्रागनफ्रुट फलाइरहेका छन्।
गाउँमा धान फल्ने एक बिघा खेत थियो। खेती गर्न छाडेपछि जग्गा बाँझो बनेको थियो। त्यही जग्गामा हिराबहादुरले ड्रागनफ्रुट खेती गरेका हुन्। यो खेतीका लागि हालसम्म उनले १ करोड रुपैयाँ लगानी गरिसकेका छन्।
छिटो फल्ने र धेरै समयसम्म लाभ लिन सकिने भएकाले पनि आफूले ड्रागनफ्रुट खेती सुरु गरेको उनको भनाइ छ। ‘बेर्ना लगाएको एक वर्षपछि नै फल दिन्छ, एकपटक लगाएपछि २० देखि ३० वर्षसम्म ढुक्क हुन्छ’, हिराबहादुर भन्छन्, ‘चाहेको भए म पनि अमेरिका जान सक्थेँ, जागिर खाएर सहरमै बस्न सक्थेँ। गाउँमा केही गरेर देखाउनुपर्छ भन्ने लाग्यो र ड्रागनफ्रुटको खेती थालेँ।’ कर्णालीका लागि ड्रागनफ्रुटको खेती नयाँ हो।
तर, जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै ड्रागनफ्रुटको खेतीबारे हिराबहादुरले युट्युबमा हेरेरै जानकारी लिएका हुन्। यसको बिरुवालाई सुक्खा समयमा सिँचाइ र पर्याप्त मल चाहिन्छ।
बेला–बेलामा गोडमेल पनि गर्नुपर्छ। बिरुवामा पानी जम्न दिनुहुँदैन। अनि ड्रागनफ्रुटका लागि गाई–भैंसीको मल सबैभन्दा उपयुक्त हुन्छ।
बेर्ना लगाएको पहिलो वर्षमा नै उत्पादन दिन्छ। एक पटक लगाएको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिन्छ।’ ड्रागनफ्रुटको बेर्नालाई हुर्कन सजिलोका लागि सिमेन्टको पिलर बनाउनुपर्ने हुन्छ। एउटा पिलरमा लगाएको बिरुवाबाट १० देखि २० किलोसम्म उत्पादन हुने हिराबहादुर बताउँछन्। किलोको ८ सय रुपैयाँसम्ममा बिक्री हुने हुन्छ। त्यसैले अन्य खेतीको तुलनामा यसमा नाफा धेरै हुने उनले बताए।
बिरुवा हुर्कन र फल्न सजिलोका लागि एउटा सिमेन्टको पिलर बनाउन २५ सयसम्म र त्यसमा टायर राखेर बनाउँदा भने एक हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको उनले सुनाए। एकपटक लगानी गरेर वर्षौंसम्म लाभ लिन सकिने भएकाले पनि आफूले जागिर नै त्यागेर यसको खेती थालेको उनको भनाइ छ।
सुरुमा आफूले ड्रागल लगाउँदा गाउँलेले विश्वास नगरेको उनी बताउँछन्। भन्छन्, ‘नयाँ खेती भएर होला सुरुमा त कसैले पत्याएनन्, कसरी फल्छ भनेर प्रश्न गरे। अहिले मेरो बारीमा हेर्न आउनेको भीड लाग्छ। सबैले यसको खेती गर्ने भन्दै मसँग बेर्ना पनि माग्न थालेका छन्।’ आफूकहाँ खेती हेर्न आउनेलाई हिराबहादुरले बेर्ना उपलब्ध गराउँदै यसको खेती गर्ने उपायबारे परामर्श समेत दिन थालेका हुन्।
छैन बजारीकरणको समस्या यसको बजारीकरणमा समस्या छैन। काठमाडौं र विदेशसम्म पनि यसलाई बिक्री गर्न सकिने हिराबहादुर बताउँछन्। ‘किलोको ८ सय रुपैयाँमा बारीबाटै बिक्री भइरहेको छ,’ उनले भने, ‘मागअनुसार मैले त उपलब्ध गराउनै सकेको छैन।’ उनका अनुसार क्यान्सर, दम र बाथरोगका बिरामीका लागि यसको सेवन लाभदायक भएकाले माग बढ्दो छ। कर्णालीमै माग धेरै भएकाले बाहिर लैजानुपर्ने अवस्था हाल नभएको उनको भनाइ छ।
स्थानीयलाई गाउँमै रोजगारी हिराबहादुरले स्थानीयलाई गाउँमै रोजगारी दिएका छन्। बेर्ना लगाउँदा १४ जनालाई रोजगारी दिए। हाल उनको बारीमा गोडमेल गर्ने, रेखदेख गर्ने र सिँचाइ तथा मल दिनका लागि स्थानीयले काम गरिरहेका छन्। गाउँमै काम पाएपछि स्थानीय खुसी छन्। हिराबहादुर भन्छन्, ‘युवाहरू रोजगारीको खोजीमा विदेश धाइरहेका छन्, छिमेकी पनि कालापहाड धाउन बाध्य छन्। तर, मैले आफ्नो जागिर छाडेर गाउँमै खेती थालेपछि धेरैले रोजगारी पाएका छन्।’ खेती गर्न चाहने युवाहरूलाई आफू बेर्ना र परामर्श उपलब्ध गराउन तयार रहेको उनको भनाइ छ। हिराबहादुर कर्णालीलाई ड्रागनफ्रुटको खेती विस्तार गरेर यहाँको अभाव, गरिबी र पछौटेपन अन्त्य गर्न सकिने बताउँछन्। त्यसका लागि नै उनले कर्णाली प्रदेशलाई नै अब ड्रागनफ्रुटको हव बनाउने योजना बुनेका छन्। यसमा स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ।