प्रदेश रंगशालाको काम धमाधम
सुर्खेत : गतिलो पूर्वाधार नभएकै कारण हालसम्म कर्णालीमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन। यही कुरालाई मनन गर्दै कर्णाली सरकारले पछिल्लो समय खेलकुदका पूर्वाधारमा लगानी गर्न थालेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशालाका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।
पूर्वाधारकै अभावमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुन नसकेपछि प्रदेश सरकार अब कर्णालीमै ठूला प्रतियोगिता आयोजना गर्ने कसरतमा जुटेको हो। कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि तयारी पनि तीव्र बनाएको छ। यसैको तयारी स्वरुप एक अर्ब ५९ करोडको लागतमा प्रदेश राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न प्रदेश रंगशाला निर्माणको काम अगाडि बढेको छ।
बजेट अभावकै कारण काम नरोकियोस् भन्ने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश रंगशालाका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको हो। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै सञ्चालन गर्न मिल्ने गरी वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माणको काम चलिरहेको छ। गत वैशाखबाट एमएसी एन्ड जीएसएल कम्पनीले रंगशालामा भौतिक निर्माणको काम सुरु गरेको हो। साढे दुई वर्षभित्र सक्नेगरी २०७८ कार्तिकमा रंगशाला निर्माणका लागि सम्झौता भएको थियो। सोही लक्ष्यअनुसार धमाधम काम भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पनि रंगशालाका लागि बजेट अभाव हुन नदिने बताए। यो आर्थिक वर्षका लागि ६० करोड विनियोजन भएको भन्दै उनले रंगशाला र अन्य खेल पूर्वाधारका लागि बजेटको अभाव नहुने दाबी गरे।
‘तोकिएकै मितिमा काम सक्नेगरी काम भइरहेको छ। हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको छ। हामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै आयोजना गर्ने तयारीमा छौं। त्यसकै लागि पनि यो रंगशाला निर्माण अनिवार्य बनेको हो’, सदस्यसचिव सञ्ज्यालले भने। उनले बजेट अभावकै कारण रंगशाला निर्माणमा अवरोध नहुने दाबी गरे। ‘प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ। बजेटकै कारण काम रोकिने अवस्था छैन। सुरुवाती अवस्थाको प्रगति हेर्दा तोकिएकै मितिमा निर्माणको काम सकिने छ। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि पनि हामीले समयमै काम सक्नै पर्छ’, उनले भने।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पनि रंगशालाका लागि बजेट अभाव हुन नदिने बताए। यो आर्थिक वर्षका लागि ६० करोड विनियोजन भएको भन्दै उनले रंगशाला र अन्य खेल पूर्वाधारका लागि बजेटको अभाव नहुने दाबी गरे। प्रदेश सरकारले वीरेन्द्रनगरमा निर्माणाधीन यो रंगशालालाई प्रदेशकै गौरवको आयोजना घोषणा गर्दै निर्माणको काम अगाडि बढाएको हो। यो रंगशालामा १० हजार दर्शक अट्ने बताइएको छ। यही रंगशालामा अन्तर्राष्ट्रियस्तरको भलिबल कोर्ट, पौडी पोखरी, फुटबल, ह्यान्डबल, बास्केटबल र एथलेटिक्सलगायतका प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको छ।
रंगशालामा हालसम्म अन्तर्राष्ट्रिय स्तरको भलिबल मैदानका लागि जग तयार भइसकेको छ। यस्तै, फुटबल मैदानमा दुवो लगाउने काम पनि सकिएको छ भने प्यारापिटका लागि जग निर्माणको काम पनि अगाडि बढेको छ। पौडी पोखरीका लागि ढलानको काम सकिएको छ। अन्य पूर्वाधार निर्माणका काम पनि धमाधम भइरहेको सदस्यसचिव सञ्ज्यालले जानकारी दिए। कर्णालीमा पूर्वाधार अभावमा प्रदेश र जिल्लास्तरका प्रतियोगिताहरू पनि धुले मैदानमै हुने गरेका छन्।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने कसरतमा जुटेको प्रदेश सरकारले चालु आर्थिक वर्षमै रुकुमको चौरजहारीमा क्रिकेट रंगशाला, जुम्लामा चन्दननाथ रंगशाला, वीपी रंगशाला र चिसापानी रंगशाला निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ।