जयपृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो, बझाङमा सवारी सञ्चालनमा सास्ती
बझाङ : सेती नदीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगर सडक खण्डमा कटान सुरु गरेपछि यातायात सेवा अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक जयपृथ्वी राजमार्ग सडक खण्डमा पुनः कटान सुरु भइ यातायातका साधन सञ्चालनमा सास्ती भएको हो ।
केही समय अगाडि पुनर्निर्माण भएर सञ्चालनमा आएको जालेबगरमा फेरि अर्कोतिर नदीले कटान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जालेबगरमा सडक कटान हुन थालेको छ ।
अहिले साना सवारी आवतजावत भइरहे पनि ठुला सवारी भने ठप्प छन् । पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ । गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको थियो ।
सडक बगाउँदा धनगढी, काठमाडौं, महेन्द्रनगरलगायत जिल्ला बाहिर जाने र जिल्ला भित्रने यातायातका साधनहरु वारि पारि रोकिएका छन् । सडक सञ्चालनमा ल्याउन स्काइभेटर ल्याउने तयारी भइरहेको र स्काइभेटर पुगेपछि भित्तातर्फ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
यस्तै जयपृथ्वी राजमार्ग केदारस्युँ गाउँपालिका -९ सहजपुर, केदारस्युँ १ चौडाम, वित्थडचिर गाउँपालिका ९ सुनकुडा मुनिको घुमलगायतका ठाउँमा सडक अवरुद्ध भएकोले खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।