उपचारको अभावले कालाजारबाट बाजुरामा एक जनाको मृत्यु
बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका-१ बस्ने ५२ वर्षीय पर्वलाल गुरुङको कालाजारका कारणले मृत्यु भएको छ। कालाजारबाट थलिएका उनको उपचार अभावमा मृत्यु भएको स्थानीय हिक्मत वडले बताए।
नेपाल सरकारले कालाजारको जाँचदेखि उपचारसम्म नि:शुल्क गर्ने व्यवस्था गरेको भएपनि पर्वलालको भने उपचार नपाएर मृत्यु भएको छ।
कालाजारबाट थलिएका पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो। तर पर्वलालसँगै पैसा नहुँदा उपचारमा अभावमा घरमै मृत्यु भएको उनकी श्रीमती पानकलाले बताइन।
पर्वलालको मृत्युसँगै उनको तीन जनाको परिवार बिच्चलीमा परेको छ।
कालाजारबाट निकै सिकिस्त भएङ्कव र आफूहरूले नेपालगञ्ज वा काठमाडौं जानु भनेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डाक्टर चेत बहादुर धामीले बताए।
'पर्वलाल कालाजारले निकै सिकिस्त थिए। उनलाई यहाँ उपचार सम्भव थिएन् । हामीले सक्ने जति उपचार गरेका थियौं, उनले भने।
केन्द्रले उनलाई नेपालगञ्ज रिफर गरेको थियो। तर पैसा नभएपछि आफन्तले घरमा लगेका थिए। 'पैसाको जोहो धेरै ठाउँमा हारगुहार गरेका थियौं उनको श्रीमती पानकलाले रुँदै भनिन्, 'कतैबाट पैसा नपाएपछि उपचारमा लग्न नसकेर मृत्यु भयो।'
कोल्टि क्षेत्रमा २ वर्ष पहिला कालाजारबाट एकजना बालिकाको पनि मृत्यु समेत भएको थियो। स्वामीकार्तिक गाँउपालिका-५ जेरा बस्ने १३ वर्षीय भाग्य शाहीको उपचारका क्रममा काठमाडौंको कान्ति बालअस्पतालमा मृत्यु भएका हो।
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखापर्न थालेको छ।
बाजुराको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारका बिरामी भेटिरहेको बुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक ओमजंग शाहीले बताएका छन्।
बाजुरामा जिल्लामा २ वर्ष यता १४ जनामा चेकजाच गर्दा कालाजार भेटिएको छ। कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १३ र एक जिल्ला अस्पताल बाजुरामा गरि १४ जनामा कालाजार भेटिएको छ।
कालाजार कर्णाली नदिसँगै जोडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा भेटिएको हो।
कालाजारको उपचार बाजुरामा हुने भनेपनि औषधी नहुने समस्याले नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ।
बाजुराबाट रिफर गरेर धनगढी नेपालगञ्ज पठाइने गरेको बाजुरा अस्पतालले जनाएको छ। कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको नागरिक अगुवा प्रदीपराज जैशीले बताएका छन्।
कालाजार रोग तराई जिल्लामा मात्र देखापर्ने रोग हो। पछिल्लो समयमा पहाडतिर पनि देखापर्न थालेको छ। यो रोग
यो रोग भुसुनाको टोकाइबाट हुने र भुसुनाको टोकाइबाट सर्ने रोग हो। यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको डाक्टर जस्मिता बलमपाकीले बताइन।
कालाजारको उपचार बाजुरामा हुदैन्। उपचारका लागि नेपालगञ्ज धनगढी जानुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन्। यो क्षेत्रमा ३ वर्ष पहिला मलरिया रोगसमेत देखा परेको थियो।
अहिले फाटफुट रूपमा कालाजार देखा पर्दै आएको स्वास्थ्यकर्मीले बताएका छन्। बाजुराका बुढीन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ।
यी स्थानीय तह निकै विकट भएकाले कालाजारसम्बन्धी चेतना र नियन्त्रणका लागि पहल नगरे महामारी फैलन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।