सडकमै १०० चालक र सहचालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच

सडकमै १०० चालक र सहचालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच

जनकपुरधाम : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिविरमा १०० जना चालक तथा सहचालकहरूले जाँच गराएका छन्। 

माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका-२१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिविरमा चालक तथा सहचालकहरूले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन्।

शिविरमा जनकपुरधामस्थित म्याक्स लाइफ अस्पतालका जेनरल फिजिसियन डा कृष्णकुमार साह, डा अभिजित साह, न्यूरो सर्जन डा रवि श्रीवास्तव, डा नेहा साह तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा सुनिल सिंहलगायत चिकित्सकहरूले चालक तथा सहचालकहरूको स्वास्थ्य जाँच गरे। 

यस्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालका आँखा विशेषज्ञहरूले चालक र सहचालकहरूको आँखाको जाँच गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।  

जाँच गरिएका चालक तथा सहचालकहरूमध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको रङ छुट्याउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको चिकित्सकहरूले बताएका छन्। 

यस्तै रक्तचाप जाँच गरिएका चालकहरूमध्ये १० प्रतिशतमा मात्र उच्च रक्तचापको समस्या देखिएको र त्यसमध्ये पाँच प्रतिशतले मात्र उच्च रक्तचापको औषधि सेवन गरिरहेको पाइएको चिकित्सकहरूको भनाइ छ। 

लामो दूरीका सवारी चालकहरूमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्याहरू समेत पाइएकाले ती चालकहरूलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिनाका साथै तत्कालका लागि केही औषधिहरूसमेत वितरण गरिएको म्याक्स अस्पतालका बजार अधिकृत पङ्कज साहले बताए।   

दुर्घटनाका विविध कारणहरूमध्ये सवारी चालकको आँखा कमजोर र स्वास्थ्य समस्याका कारण पनि रहेकाले सवारी रोकेर चालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए। 

निजी तथा सार्वजनिक सवारी चालकहरूलाई आँखा, रक्तचाप, बढ्दो सवारी दुर्घटना र सही ड्राइभर एटिच्युडको विषयमा चालकहरूलाई सचेतनासमेत दिइरहेको प्रहरी निरीक्षक यादवको भनाइ छ। 

जाँचपछि सवारी चालकहरूसँग सवारी दुर्घटना हुनाका कारण र न्यूनीकरणका उपायहरू बारेमा अन्तरक्रिया गरेर सल्लाहसमेत लिने गरिएको उनको भनाइ छ।

सो क्रममा चालकहरूबाट सडकको दुरावस्थासँगै सवारी साधनमा ट्राफिक नियम विपरीत ठूला लाइनको प्रयोग गर्ने, गलत किसिमले लाइट बाल्ने, युवाहरूमा लागूऔषध सेवन गरी सवारी चलाउने जस्ता कारणले सवारी दुर्घटना बढेको जानकारी पाएको समेत उनले उल्लेख गरे। 

चालक तथा सहचालकहरूबाट आएका सुझावहरूका आधारमा सवारी दुर्घटना न्यूनीकरणका लागि थप योजना बनाइने प्रहरी निरीक्षक यादवले बताए। रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.