जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता

जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता

काठमाडौं : संविधान जारी (२०७२ असोज ३) अघि जन्मको आधारमा नेपाली नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजको नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाले शुक्रबार यस्तो प्रावधानसहित नागरिकता संशोधन विधेयक बहुमतले पारित गरेको हो ।

विपक्षी एमालेसहित केही साना दलले विधेयकको विपक्षमा मत दिएका थिए । माथिल्लो सदन राष्ट्रियसभाले पनि पारित गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नागरिकता वितरणमा यो व्यवस्था लागू हुनेछ । यस्तै, विधेयकमा बाबुको पहिचान नभएको तर नेपाली नागरिक महिलाबाट जन्मेको सन्तानले पनि वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । तर, त्यसका लागि नेपाली नागरिक आमाले बाबुको पहिचान हुन नसकेको स्वःघोषणा गर्नुपर्नेछ ।

अघिल्लो सरकारले दर्ता गरेको विधेयक फिर्ता लिई सरकारले असार २४ गते नागरिकता ऐनमा संशोधन विधेयक दर्ता गरेको थियो । विषयगत समितिमा पनि नपठाइ दुई हप्तामै ‘फास्ट ट्र्याक’ विधिबाट विधेयक पारित गरियो । विषयगत समितिमा विधेयक पठाइ छलफल गर्नुपर्ने र वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विपक्षी एमालेको मागलाई सरकारले अस्वीकार गर्‍यो । प्रतिनिधिसभाको पूर्ण बैठकमै विधेयकमाथि परेका संशोधन प्रस्तावलाई ‘निर्णयार्थ’ पेस गरियो । विपक्षीले राखेका प्रस्ताव अस्वीकृत भए । सत्तापक्षको बहुमतबाट विधेयक पारित गरियो । जबकी सत्तापक्ष र विपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेका थिए ।

‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन्् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ, पारित विधेयकमा छ । अन्तरिम संविधान–२०६३ ले जन्मका आधारमा नागरिकता पाउने व्यवस्था गरेको थियो । त्यस अनुरूप टोली पठाएर गाउँ–गाउँमा नागरिकता वितरण गरिएका थिए । संविधानसभाबाट बनेको संविधानले जन्मका आधारमा नागरिकताको प्रावधानमा कडाइ गर्‍यो । तर, यस्तो नागरिकता पाइसकेका हरूका सन्तानले वंशजको नागरिकता पाउने प्रबन्ध गर्‍यो । लामो समयसम्म कानुन संशोधन भएन । त्यसैकारण यस्तो नागरिकता वितरण रोकियो । अघिल्लो नेकपाको सरकारले २०७५ साउन २२ गते नागरिकता ऐनमा संशोधन विधेयक संसद्मा दर्ता गरेको थियो ।

  •  २०७२ असोज ३ अघि जन्मको आधारमा नेपाली नागरिकता लिएका बाबु र आमाका सन्तानले वंशजको नागरिकता पाउने
  •  बाबुको पहिचान नभएको तर, नेपाली नागरिक महिलाबाट जन्मेको सन्तानले ससर्त वंशजको नागरिकता पाउने । त्यसका लागि नेपाली नागरिक आमाले बाबुको पहिचान हुन नसकेको स्वःघोषणा गर्नुपर्ने
  • नेपाली पुरुष वा महिलासँग विवाह गर्ने ‘विदेशी पुरुष वा महिला’लाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने एमाले सांसदको संशोधन अस्वीकृत
  • गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अधिकार हुने गरी नागरिकता दिइने ० माथिल्लो सदन राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइनेछ ।
  • असार २४ गते विधेयक दर्ता
  • विषयगत समितिमा पनि नपठाइ दुई हप्तामै ‘फास्ट ट्र्याक’ विधिबाट विधेयक पारित ० ४५ जना सांसदले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेका थिए ० अघिल्लो नेकपाको सरकारले दर्ता गरेको विधेयकअसार २१ गते फिर्ता लिएको थियो । 

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले झण्डै २ वर्ष छलफल गर्‍यो । २०७८ असार ९ गते समितिले बहुमतले विधेयक पारित गर्‍यो । दुई दिनपछि समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस भयो । त्यतिबेला वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको समयसीमा राखेर समितिले विधेयक पारित गरेको थियो । अन्तिम चरणमा पुगेको उक्त विधेयकलाई सरकारले २०७९ असार २१ गते फिर्ता लिने निर्णय गर्‍यो । वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषय उल्लेख नै नगरी सरकारले असार २४ गते नयाँ विधेयक दर्ता गर्‍यो । कांग्रेस र मधेस केन्द्रित दल वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्न नहुने अडान राख्दै आएका छन् ।

विपक्षी एमालेका अधिकांश सांसदहरूले नेपाली पुरुष वा महिलासँग विवाह गर्ने ‘विदेशी पुरुष वा महिला’ले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था राख्नुपर्ने भन्दै विधेयकमा संशोधन राखे । तर, प्रतिनिधिसभामा ‘ठाडै’ छलफल गरी संशोधनलाई अस्वीकृत गराइयो । सत्तासीन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले नागरिकता विधेयकको पक्षमा मत दिएका थिए । विपक्षी एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी भने विधेयकको विपक्षमा उभिएका थिए ।

विधेयकमा गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकार बाहेकका अधिकार हुने गरी नागरिकता दिने व्यवस्था गरिएको छ । सार्क मुलुकबाहेक अन्य देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई साँस्कृतिक, आर्थिक र सामाजिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाहरूलाई नागरिकता दिनुपर्ने बताए । उनले वैवाहिक अंगीकृत नागरिकताका प्रावधानमा सबै दलको सहमति हुनुपर्ने र त्यसका लागि संशोधन गर्न सरकार तयार रहेको खाँणले बताए । ‘वैवाहिक अंगीकृतका लागि हामीले सहमति जुटाउने प्रयत्न गरौं’, गृहमन्त्री खाँणले भने, ‘यसलाई व्यवहारिक बनाऔं । यसलाई कसरी हल गर्ने सरकार यसमा गम्भीरतापूर्वक छलफल गर्न तयार छ । सहमति जुटेपछि नै यो अघि बढछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.