पाल्पामा बस दुर्घटना : मृत्यु भएका ६ जनाको शव पहिचान
पाल्पा : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने सबैको शव पहिचान भएको छ। बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका-२ लघुवामा आइतबार अपरान्ह साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो।
दुर्घटनामा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. - ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ का ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका वडा नं. ७ की ८७ वर्षिया डिलसरी कामी, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ का ४५ वर्षीय यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ५ की २४ वर्षीया पूर्णिमा कामी र बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं. १० की ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवं सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा परी घाइते भई तानसेनको मिसन अस्पतालमा उपचारत १६ जनामध्ये ८ जनाको डिस्चार्ज भएका छन् भने अब ८ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये अस्पतालमा उपचारत म्याग्दी रुमा गाउँपालिका वडा नं. ४ की ३९ वर्षीया सुमित्रा रोका, रुपन्देही देवदह नगरपालिका वडा नं. ७ का खड्कबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस सडकको डिल भाँसिएर दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस !