परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री यीबीच बेइजिङमा भेटवार्ता
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। चीनको राजधानी बेइजिङमा सोमबार उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो।
दुई देशबीचको समग्र द्विपक्षीय सम्बन्धका साथै पूर्वाधार तथा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
भेटका क्रममा दुवै पक्षले नेपाल-चीनबीच जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा समेत विचार आदानप्रदान गरेका थिए। त्यस्तै पारस्परिक हित र लाभका आधारमा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरिएको मन्त्री खनालको भनाइ छ।
परराष्ट्रमन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका विदेशमन्त्री वाङ यीसँगको भेटलाई फलदायी भएको उल्लेख गरेका छन्। दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याउने विषयमा सकारात्मक संवाद भएको उनको भनाइ छ।
यो पनि पढ्नुस् : परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउबीच भेटवार्ता
प्रतिक्रिया दिनुहोस !