नर्सरीबाट मनग्ये आम्दानी
उदयपुर : हातमा सिप भए व्यापार गर्नकै लागि ठुलो लगानी र बैंकको ऋण ताक्नु पर्दैन्। केवल मेहनत र लगानशीलता भए पुग्छ भन्ने उदाहरणका पात्र हुन् उदयपुरको कटारी नगरपालिका-४ का बिनु लामा र शंकर तामाङको जोडी।
मासिक ५० हजार कमाउन उनीहरूलाई न बैंकको ऋण चाहिएको छ न कुनै समूह, सहकारी र साहुको। चार वर्षअघि १० हजार रुपैयाँबाट कटारी नगरपालिका- ४ बसपार्क छेउमा सुरु गरेको फलफुलको नर्सरीबाट लामा जोडी खर्च कटाएर वार्षिक ६ लाख सहजै कमाउँछन्।
मासिक ५० हजार कमाउनैका लागि प्रचण्ड घाम र वैदेशिक रोजगार जानु परेको छैन्। प्लाष्टिक टनेलभित्रको सितलतामा रमाउँदै काम गर्दै उनीहरूको व्यापार व्यवसाय चलिरहेको छ। त्यसैबाट उनीहरूको ५ जनाको परिवार र दुई जना कर्मचारी पालिँदै आएका छन्।
शंकरले श्रीमती बिनुको नाममा फलफुल नर्सरी सुरु गरेका हुन्। सुरुसुरुमा बिक्री नहुने हो कि भन्नेमा शंका लागेर कुनै पनि निकायमा दर्ता नै नगरी चलाएको उनी बताउँछन्। 'हिम्मतकासाथ सुरु गरेको व्यापार सबैको साथसहयोगले खासै समस्या आएन, उनी भन्छन् 'त्यो १० हजार लगानी डुबेको भए केही सोच्नै पर्दथ्यो होला, तर मेरो भाग्यमा यहीं व्यापार लेखेकोरछ प्रतिफल राम्रो दियो।'
श्रीमती बिनु भन्छिन्, 'विदेश गएपनि यहीं हो कमाउने, वरु स्वदेशमै थोरै कमाउ परिवारसँग बसौँ भन्ने मेरो सोचाइ रह्यो अन्ततः श्रीमानलेसमेत साथ दिनुभयो।' श्रीमान भन्दा पनि आफ्नै योजनाले नर्सरी खेती सुरु गरेको उनी बताउँछिन्।
'वलिभ नर्सरीको नाम दिइएको उनीहरूको नर्सरीमा अहिले स्वदेशी र विदेशी गरी एक सय बढी प्रजातिका बोटविरुवा रहेका छन्। उनीहरूको नर्सरीमा यतिबेला सितारा, हेमिस्कस, रन्जन, लालुपाते, जापनिज सेरिज, गुलमर, जामुन, मुसन्डा, बोन्साई, स्याउ, नासपाती, बाह्रमासे कागती, मेवा, लिचि, आँप लगायतका बिरुवा छन्। जसको मूल्य १० रुपैयाँदेखि ३ हजासम्म छ।
मासिक १० हजारमा दुई कठ्ठा जग्गा लिजमा लिएर सुरु गरेको उनीहरूको व्यवासाय प्रर्वद्धनका लागि पछिल्लो समय कृषि ज्ञान केन्द्र उदयपुर र कटारी नगरपालिकाले साथ दिएको छ। गत वर्ष कृषि ज्ञान केन्द्रले अनुदान स्वरुप एक लाख ५० हजार उपलब्ध गराएपछि बिनुले दुई जनालाई रोजगार दिएर व्यापारलाई थप प्रभावकारी बनाएकी हुन्।
कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरी भन्छन्, 'शंकर र बिनुको मेहनत र लगनशिलता देखेर हामी सबै प्रभावित भयौं, व्यवसायिक दृष्टिकोणबाट हेर्दा केही गर्छन जस्तो लाग्यो, त्यसैले थोरै भएपनि कार्यालयबाट सहयोग गरेका हौं। अहिलेको अवस्थामा नर्सरी हेर्दा साच्चै नै लोभलाग्दो बनाएको छ।'
'हामी सानाभन्दा साना किसानलाई प्रोत्साहन गर्न चाहान्छौं,' उनले भनिन्, 'कृषि पेसालाई वलियो र समृद्ध बनाउने आधार भनेकै साना किसान लगानी कार्यक्रम हो। त्यसैले पालिकाले नीति बनाएर अघि बढ्छौं। उत्पादित बिरुवा उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुंगा, सोलु, जनकपुर, सिरहा, सप्तरी, काठमाडौं लगायतका ठाउँमा पुग्ने गरेको बिनु बताउँछिन्।