अनुदान पाएपछि पशुपालनतर्फ
उदयपुर : उदयपुरका किसान व्यावसायिक पशुपालनमा आकर्षित भएका छन्। सरकारले ५० देखि ७० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेपछि किसान व्यावसायिक बन्न थालेका हुन्।
परम्परागत रूपमा २/३ वटा खसीबाख्रा, भैंसी, बंगुर पाल्ने किसानका गोठ अहिले भरिभराउ भएका छन्। रौतामाई गाउँपालिका–७ पुवाँरेकी कुमारी आलेमगर अहिले नमुना बंगुरपालन व्यवसायीमा पर्छिन्। उनको खोरमा दुई दर्जन माउ र सिजनका पाँच दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन्।
आम्दानी वार्षिक ६ लाख हाराहारी छ। ‘अरूले गरेको देखेर सुरु–सुरुमा ४÷५ वटा पालियो, त्यसपछि क्रमशः वृद्धि गर्दै गएको हुँ,’ उनले भनिन्। बंगुर व्यवसाय फस्टाएपछि त्यहाँका ५० घरधुरीले लालीगुराँस व्यावसायिक बंगुरपालन समूह दर्ता गरी बंगुरपालन गर्दै आएका छन्।
समूहका अध्यक्ष सूर्य मस्राङ्गी मगर वैदेशिक रोजगार छोडेर बंगुरपालनमा रमाएका छन्। १० वर्षभन्दा धेरै विदेशमा गुजारेका उनी भन्छन्, ‘त्यो तातो घाममा गरेको मेहनत र पीडा अहिले सम्झँदा आफूलाई समयले धेरै छोडेको अनुभूति हुन्छ। विदेश जानुको साटो स्वदेशमै यहीँ गरेको भए अहिले म कार चढ्ने हैसियमा पुग्ने रहेछु।’ बाँकी समय कृषि कर्ममा जुट्ने उनले सुनाए। स्थानीय शिक्षक घमान मगर पनि व्यावसायिक बंगुरपालनमा छन्। उनीहरूको त्यो मेहनत र लगनशीलता देखेर भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले समूहमार्फत २० लाख सहयोग गरेको छ। समूहको ७ र विज्ञ केन्द्रको २० लाख गरी २७ लाख लागतमा प्रत्येक घरमा व्यावसायिक बंगुरपालन गरिएको अध्यक्ष मगर बताउँछन्।
सहयोग रकमले बंगुरपालनको क्षेत्र विकास, व्यवस्थित खोर, दानापानीका लागि कुटनपिसन मिल, जैविक सुरक्षाका लागि स्थानीय औषधि र हाइब्रिड जातको बच्चा खरिद गरिएको ज्ञान केन्द्रका प्रमुख डा. अजय साहले बताए। बढीजसो हेमसागर, ल्यान्डरेस, एक्सायर, ड्युरोकजस्ता उन्नत जातका बंगुर पाल्न आकर्षित भएको उनको भनाइ छ। बंगुरले वर्षमा दुई पटकसम्म बच्चा जन्माउँछ। ज्ञान केन्द्रले जिल्लाका ८ वटै स्थानीय तहमा पशुपालक किसानलाई आकर्षित गर्ने गरी कार्यक्रम अघि सारेको प्रमुख डा. साहले बताए।
कटारी—२ को झलक कृषि फार्म र वडानं ५ स्थित सिसार क्षेत्रको जलाशयमा माछापालन, कटारी ३ बलियामा सहकारीमार्फत भैंसीपालन र दुग्ध डेरी सञ्चालन, चौदण्डीगढी नगरपालिका २, ३, ४, ५, ८ मा बंगुरपालन, माछापालन समूह र सहकारीमार्फत अनुदान दिई कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।