मुसहर समुदायको चौतर्फी विकासका लागि दुई करोड बजेट

मुसहर समुदायको चौतर्फी विकासका लागि दुई करोड बजेट

उदयपुर : मुसहर समुदायको चौतर्फी विकासका लागि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा दुई करोड भन्दा बढी रकम खर्च गरिने भएको छ। 

प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत १ करोड ५० लाख र त्रियुगा नगरपालिकाको ६५ लाख गरी कुल २ करोड १५ लाख लागतमा १३ महिने परियोजना सञ्चालनको तयारी गरिएको हो। 

प्रदेश सरकारसँग २०७९ जेष्ठ ११ गते सम्झौता भएको थियो। परियोजनाको पहिलोचरणमा करिब ७५ लाख रुपैयाँ बराबरको कार्यक्रमहरू सम्पन्न भइसकेको परियोजना प्रमुख राजकुमार खड्काले बताए। परियोजनाको कार्यक्षेत्र नगरपालिकाको वडा नम्बर १०, १४, १५, १६ बाहेकका १२ वटा वडा रहेका छन्। यी वडामा मुसहर समुदायको बसोबास छैन्।

खड्का अनुसार मुसहर समुदायको वृत्तिविकासका लागि पहिलोचरणमा १ सय २० जनालाई उद्यमशीलता तालिम, १ सय ५४ जनालाई पूर्ण सरसफाइ सचेतना, २ सय २७ घरधुरीलाई वायोस्याण्ड फिल्टर वितरण गरिएको छ। 

त्यसैगरी विद्यालय र बालविकास केन्द्रलाई १० थान स्मार्ट टिभी, फोहोर व्यवस्थापनका लागि रिगं सहयोगलगायतका कार्यक्रम रहेको उनले जानकारी दिए। यसका साथै समुदायलाई आत्मनिर्भर बनाउन ४५ दिने सिलाइकटाइ, दालमोठ भुजिया, ग्रिल, माछापालन, बाख्रापालन, बंगुरपालन, मोटर ड्राइभिङ, टायल मार्वल, मोटरसाइकल मर्मत, कम्प्युटर, फर्निचर पेन्टिङ तालिम रहेको उनले बताए। 

सामाजिक परिचालन, पारिवारिक लगत विवरण, स्मार्ट टिभी, कोचिङ कक्षा सञ्चालन, बालक्लव, किशोरी समूह गठन, परिचालन, बालविकास केन्द्र सुधार सामग्री हस्तान्तरण, उद्यमी समुह गठन, वित्तीय साक्षरता सचेतीकरण, एक घर एक बैकिङ खाता अभियान, सामाजिक सचेतीकरणसम्बन्धी मोबाइल सन्देश प्रवाह रहेका छन्। 

खानेपानी सरसफाइ, फोहोर व्यवस्थापन, समुदायस्तरीय विपद् व्यवस्थापन, अन्न बचाउ तथा भण्डार अभियान, जलवायु परिवर्तन अनुकुलन खेती, व्यवसाय सचेतीकरण, ऋषिकुल सदा संघको संस्थागत क्षमता अभिवृद्धि, रणनैतिक योजना निर्माणलगायतका क्रियाकलाप हुने प्रमुख खड्काले बताए।

तालिमलाई व्यवहारिकरूपमा उतार्नका लागि आवश्यकअनुसार प्रविधिसमेत हस्तान्तरण गरिने उनले बताए। सिलाइ मेसिन, दालमोठ भुजिया मेसिन, कराइ, वेन्डिङ्ग मेसिन, ड्रिल, गेन्डर, माछा मार्ने जाल, भुरा, खोर, बाख्रा, बंगुर, लाइसेन्स शुल्क, कटर, ड्रिल, हाउजिङ, पुल्ट, कम्प्रेसर मेसिन, ठेला, चटपटे पसललगायतका प्रविधिहरू हस्तान्तरण गरिने खड्काले बताए।

परियोजनाको अवधिभर सबै तालिम सञ्चालन गरी उनीहरूलाई आत्मनिर्भर बनाइने बताए। परियोजनाबाट मुसहर समुदायका सबै बालबालिका विद्यालय गएको हुने, पाँच सय युवा उद्यमशीलता र रोजगारमा जोडिने, प्रतिघर कम्तिमा वार्षिकरूपमा २४ हजार बचत गर्न सक्षम हुने परियोजनाले जनाएको छ। 

त्यसैगरी माध्यमिक शिक्षा पूरा गर्ने दरमा २५ प्रतिशतले वृद्धि हुने, एक सय वटा लघु उद्यम दर्ता भई तीन सय जना उद्यमी हुने, १० प्रतिशतले निरपेक्ष गरिबी घट्ने, नगर र राज्यका विभिन्न निकायमा पहुँच पुर्‍याउने क्षमता राख्ने लक्ष्य राखिएको छ। विभिन्न आठ वटा क्षेत्रगत शीर्षकमा खर्च गरिने परियोजना अन्तर्गत सबैभन्दा बढी उद्यम र रोजगारीमा १ करोड १६ लाख ४० हजार खर्च हुने खड्काले बताए। 

परियोजनाको सार्वजनिक सुनवाइ कार्यक्रममा बोल्दै मेयर वसन्तकुमार बस्नेतले दलितभित्रको पनि सबैभन्दा तल्लो समुदाय भनेर चिनिएको मुसहर समुदायलाई परियोजनाले माथिल्लो समुदायकोरूपमा चित्रण गर्न सफल हुने बताए। उनले राज्यले गरेको लगानीलाई बुझेर आफ्नो दायित्व निर्वाह गर्न दीर्घकालीन सोचका साथ अघि बढ्न सुझाव दिए। मेयर बस्नेतले मुसहर समुदायको शिक्षा, स्वास्थ्यमा पहुँच पुर्याउन र गरिबी अन्त्यका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जाने बताए। 

कार्यक्रममा उपमेयर महेश्वरी राईले परियोजनाको लक्ष्यलाई पूरा गर्नेगरी कार्यक्रम बनाउन र त्यहींअनुसारका क्रियाकलाप गर्न आग्रह गरिन्। उनले मुसहर समुदायको अहिले पनि शिक्षा, स्वास्थ्य, पहिचान दिलाउने नागरिकतामा पहुँच नपुगेकाले स्वास्थ्य बिमा, नागरिकता अभियानजस्ता कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरिन्। 

मुसहर समुदायका अगुवा बिजुली सदा, रामकृष्ण सदा, मिश्रीलाल सदाले समन्वय गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे। उनीहरूले आफुहरूलाई लक्षित गरी आएको कार्यक्रम अधिकतम् सफल बनाउन नगरपालिकालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.