मेची पुलबाट खैरो हेरोइनसहित दुई भारतीय पक्राउ
झापा : पूर्वी नाका काँकडभिट्टाको मेची पुलबाट लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत पूर्व सिक्किम निवासी ३० वर्षीय मेगवीर लिम्बू र उनकै भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ काँकडभिट्टा स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने ७ ग्राम लिसाईलो पदार्थ बरामद गरेको छ ।
उनीहरूको साथबाट तीनवटा मोबाइल समेत फेला परेको छ ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।