सडकमा नाला नबन्दा पानी पसेर पाँच घर जोखिममा
बझाङ : सडकमा नाला नबनाइँदा जिल्लाको जयपृथ्वी नगरपालिका-१० मा पाँच घर जोखिममा परेका छन्। पूर्वाधार विकास कार्यालयले चैनपुर-दमधुर-कुचा सडकमा नाली निर्माण नगरी सडक विस्तार गर्दा सडकमुनि रहेका रोकाया परिवारका पाँच घर जोखिममा परेका हुन्।
घर पछाडिबाट पानी बग्न थालेपछि गोरख रोकाया, फकिर रोकाया, शिव रोकाया, शेरबहादुर रोकाया र मिनबहादुर रोकायाको परिवार बिचल्ली परेको छ।
स्थानीय बाँकु धमेनाले सडकलाई आफ्नो जमिनमा पर्खाल निर्माण नगरि विस्तार गर्न नदिने बताएपछि सडक केही तलबाट विस्तार गरिएको थियो। सडक तलबाट विस्तार गर्दा भिरालो भइ रोकाया परिवारको घर पछाडि बग्न थालेको छ।
गाइगोठ र बीचको कोठासम्म पानी जम्मा भएपछि घर परिवार र पशुचौपायाको बिचल्ली भएको हो। अहिले पानी परेको दिन आफूहरूलाई निन्द्रा नै नलाग्ने गरेको स्थानीय तिपुरी रोकायाले बताए।
गोठभरि पानी भरिएकाले दुहुना पशुचौपायाबाहेक अन्य पशुचौपाया बाहिर छोडिएको अर्की स्थानीय वेलु रोकायाले बताइन्।
स्थानीयका घर जोखिममा परेपछि आज जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल, वडा नम्बर ३ का वडाध्यक्ष गंग खड्का, पूर्वाधार विकास कार्यालय बझाङ जिल्ला प्रमुख इन्जिनियर धिरेन्द्र भट्ट खेइरा पुगेका थिए।
पूर्वाधार विकास कार्यालय र जयपृथ्वी नगरपालिकाले स्थानीय धमेनालाई भित्तामा पर्खाल बनाइदिने प्रतिवद्धता जनाएको छ। अब पानी अर्कैतिर ढलान गरि व्यवस्थापन गरिने भएको छ।
तर पानी व्यवस्थापन गरे पनि पानीले घरमा प्रयोग भएको काठ कुहाइसकेको हुँदा घरमा बस्ने वातावरण नभएकाले आफूहरूलाई अन्यत्र व्यवस्थापन गरिदिन स्थानीयले माग गरेका छन्।