धरानमा लिम्बू पुस्तकालयको स्थापना
धरान : धरान उपमहानगरपालिका-१५ मा लिम्बू पुस्तकालयको स्थापना गरिएको छ। लिम्बू विद्यार्थी मन्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो।
आइतबार एक कार्यक्रमका बीच धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुस्तकालयको उद्घाटन गरे। उनले पुस्तकालय स्थापना गरेर मात्र नहुने भन्दै सबैले अध्ययन गर्ने बानी बसाल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा लिम्बू विद्यार्थी मन्चका केन्द्रीय महासचिव सागर सरगम चेम्जोङ्ले पुस्तकालयमा नेपालको इतिहास र लिम्बू इतिहासका बारेमा लेखिएका पुस्तकले भावी पुस्तालाइ ज्ञानआर्जनमा सहज पुर्याउने बताए।
कार्यक्रममा किराँत याक्थुम चुम्लुङ्का केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले पुस्तकालयमा लिम्बू इतिहास लेखिएका मात्र हैन नेपालको इतिहासलगायतका अन्य पुस्तकहरू राखेर अध्ययन गर्ने वातावरण मिलाउन सुझाव दिए।
लिम्बू विद्यार्थी मन्च सुनसरीका अध्यक्ष हरि इवाहाङ लिम्बूले विद्यार्थीहरूका लागि मात्र नभएर सबै समुदायलाई ज्ञानआर्जन गर्न सजिलो होस् भनेर पुस्तकालयको स्थापना गरिएको बताए। उनले पुस्तकालयमा एक हजारभन्दा बढी पुस्तकहरू राखिएको बताए।