लागु औषध कारोवारमा भारतीय नागरिकसहित चार जना पक्राउ
झापा : झापामा एक भारतीय नागरिकसहित चार जना लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सवा २ बजे भद्रपुर नगरपालिका-३ स्थित झोलुङ्गे पुलबाट भारतदेखि नेपालतर्फ आउँदै गरेको भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खोरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ७ बजे बिर्तामोड नगरपालिका-२ स्थित चारपानेबाट सोही ठाउँका ३६ वर्षीय बद्री राजवंशीलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
बुधबार राती ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ स्थित इँटाभट्टाबाट २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ बस्ने ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र सोही ठाउँका ३२ वर्षीय मोहन सिलवाललाई २५ ग्राम ब्राउन सुगर र नगद १० हजारसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए।