गुमनाम कालिकोटको पचाल झरना
कालिकोट : जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नेपालकै अग्लो दाबी गरिएको पचाल झरना ओझेलमा परेको छ।
तत्कालीन जिल्ला विकास समिति, स्थानीय सरकार तथा हालको जिल्ला समन्वय समितिले पटक पटक पर्यटन बोर्डमा अभिलेख गरी बैधानिकता दिनका लागि दाबी पेश गरेका छन्। तर, नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको पचाल झरना ओझेलमा परेको हो।
यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्याप्तुङ झरना ३ सय ६५ मिटर उचाइको छ। उक्त ह्याप्तुङ झरनाभन्दा कालिकोटको पचाल झरना थप ५० मिटर अग्लो छ। तर, पर्यटन बोर्डलेयस झरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरेको छैन।
सदमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र चार घण्टा पैदलयात्रा गरेपछि त्यहाँ पुग्न सकिन्छ। बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण पनि भइरहेको छ। तर, यसको उचित प्रचारप्रसार भने हुन सकेको छैन। आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरना अग्लाअग्ला पहाडी हिमश्रृङखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ।
दुई वर्षअगाडि मात्र पचालझरना गाउँपालिकाले आधिकारिक रूपमा गरेको सर्वेक्षणमा झरना खसेको ठाँउदेखि सिधै तल ठोक्किएको ठाँउसम्म ३ सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँको समेत दूरी लिँदा ४ सय १५ मिटर अग्लो रहेको प्रमाणित गरेको छ।
स्थानीय बिष्णुलाल न्यौपानेले पटक पटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिएको झरना पर्यटन बोर्डमा अभिलेख समेत नहुनु दुःखद भएको बताए। यो ऐतिहासिक झरनाको संरक्षण, विकास र प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्ने निश्चित रहेको उनले दाबी गरे।
पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ। स्थानीका अनुसार यो झरनाको बीचमा ठूल्ठुला गुफाहरू पनि छन्। यहाँका विद्यालयहरूले शैक्षिक भ्रमणमा यही झरनाको अवलोकन गराउने गरेको शिक्षक टिका उपाध्यायले बताए।
सरकारका सय गन्तव्य भित्र परेको झरना
यसअघि मुलुकका नयाँ सय गन्तव्यहरू भनेर सार्वजनिक गरेका गन्तव्यहरूको सूचीमा यस झरनालाई पनि समावेश गरेको थियो। त्यसपछि यहाँका नागरिकमा उत्साह छाएको थियो। गाउँपालिकाका तत्कालीन अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकाले प्राविधिकसहितको टोली खटाएर झरनाको नापनक्सा गरी नेपालकै अग्लो झरना भएको दाबीसहित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पर्यटन बोर्डमा अभिलेख गरी वैधानिकता दिन पहल गरेका थिए।