उदयपुरमा बिरामीको चाप : अस्पताल भरिभराउ
उदयपुर : एक महिना यता जिल्ला अस्पताल उदयपुरमा बिरामीको चाप ह्वात्तै बढेको छ। वर्षायाम सुरु भएसँगै स्थानीयमा रुघाखोकी, झाडापखाला, टाइफाइड र भाइरल ज्वरोका बिरामीको संख्या अत्याधिक बढे्को हो।
बिरामीको चापले अस्पतालमा शैय्याकोसमेत अभाव भएको छ। ५० शैय्याको क्षमता रहेको अस्पतालमा बिरामी भरिभराउ भएपछि भुइँमा सुताएर उपचार गराउनु परेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मुकेश झाले बताए।
बिरामीको चाप बढेसँगै अस्पतालमा जनशक्तिको अभाव देखिन थालेको छ। अस्पतालमा ९ जना विशेषज्ञ डा. को स्वीकृत दरबन्दी छ। एक दर्जन बढी मेडिकल अधिकृत आवश्यक भए पनि पाँच जनाले चलाउनु परेको उनलेब ताए।
उपचार गर्न आउनेमा खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढी संख्यामा रहेको डा. झाले बताए। बालबालिकालाई निमोनिया, भाइरल ज्वरो र वयस्कहरुलाई भाइरल, पेट दुख्ने, आउँ पर्ने, ज्वरो आउने र झाडापखाला जस्ता समस्या देखा परेको उनले बताए।
दैनिक चार सय जनाको हाराहारी बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी बिर्षबहादुर खत्रीले बताए। पानी पर्न थालेपछि बिरामीको संख्या ह्वात्तै बढेको उनले बताए। बिरामी बढेसँगै बेड अभाव भएपछि इमरजेन्सी (आकस्मिक) कक्षमा दुईजना बिरामी एउटै बेडमा राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको डा. झाको भनाइ छ।
उनले भने, ‘बिरामीको चाँप बढ्दो छ, सिमित स्रोतसाधन छ, त्यसैले कहिले कहीँ दुईजना राखेर, भुइँमा सुताएरै भए पनि बिरामीको उपचारमा निरन्तर छौं।’ उनले पछिल्लो १५ दिनयता इमरजेन्सी र वार्ड दुवैमा बिरामीको भरिभराउ भइरहेको बताए।
त्यसैगरी प्रसुति वार्ड पनि भरिभराउ रहेको छ। दैनिक दश जना अप्रेशन र एक दर्जन सामान्य विधिबाट प्रसुति हुने गरेको उनले बताए। अप्रेशनका बिरामी पाँच दिनसम्म राख्नु पर्ने भए पनि बेड अभावकै कारण अवस्था हेरी बढिमा तीन दिनमा डिस्चार्ज गर्न बाध्य भएको उनले बताए।
‘अवश्था हेरेर सामान्य बिरामी एकै दिनमा घर पठाउँछौ', उनले भने, ‘अप्रेशनका बिरामी धेरै छन्, राख्ने ठाउँ छैन्, बरण्डा घेरेर केही बिरामी बाहिर नै राखेर सेवा दिइरहेका छौं।' पछिल्लो समय अस्पतालले विशेषज्ञ सेवा प्रवाह गरेसँगै बिरामीको चाँप बढेको हो।
हाइड्रोसिल, हर्निया, एपेन्डीसाइटिस, हाडजोर्नी सम्मको सल्यक्रिया अस्पतालमै हुन थालेपछि बिरामीको संख्या बढेको हो। अस्पतालबाट प्रभावकारी सेवा दिन चाहे पनि धेरै अप्ठ्याराहरु रहेको डा. झा बताउँछन्। ५० शैय्याको स्वीकृत अस्पतालमा इमरजेन्सीमा ९, प्रसुति १० र बाँकी जेनेरल वार्डमा गरी ५४ वटा वेड राखिएको छ।