विराटनगरमा राधाकृष्ण रथयात्राको तयारी तीव्र
विराटनगर : कोभिड महामारीका कारण पछिल्लो पटक विधिमै सीमित भएको राधाकृष्ण रथयात्रा यसपटक निकालिने भएको छ। कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको रथयात्राको तयारी तीव्र बनाइएको हो।
दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रालाई पूर्णता प्रदान गर्न हाल शान्ति सुरक्षा, रुट व्यवस्थापन र सजावट लगायतका कार्यलाई गति दिइएको आयोजक समितिले जनाएको छ।
समितिका अनुसार हाल स्वयंमसेवक व्यवस्थापन र स्वास्थ्य सुरक्षाको आवश्यक तयारी लगायतका काम सकिएको छ। रथ सजावटको काम बिहीबार साँझसम्म सम्पन्न भइसक्ने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्य कृष्ण कार्कीले बताए।
कोरोना महामारीका कारण पछिल्लो दुई श्रृङ्खला खटयात्रामै सीमित भएको थियो। तर, प्रशासनको अनुमतिपश्चात् यसपटक केही परिवर्तन गरेर रथयात्रा निकाल्ने तयारी गरिएको छ।
यस वर्षको रथयात्रा झाँकीरहित हुने छ। यसपटक स्वयंमसेवकको संख्यामा पनि कटौती गरिएको छ। कोरोना महामारीपूर्व महिला र पुरुष गरी ५ सय स्वयंमसेवक परिचालन हुँदै आएकोमा यसपटक २ सय स्वयंमसेवक परिचालन गरिने समितिले जनाएको छ। समितिका अनुसार यसपटक रथयात्राको रुट पनि परिवर्तन गरिएको छ।
विगतका वर्षहरूमा विराटनगरस्थित तिनपैनी चोकबाट निस्किएर गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक, हिमालय रोड, महेन्द्र चोक, शनिमन्दिर, भृकुटी चोक र बरगाछी हुँदै विराटनगरको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर रथयात्रा समापन हुने गरेको थियो।
तर, यसपटकको रथयात्राले ट्राफिक चोकपश्चात् रोडशेषसमेत परिक्रमा गरेर महेन्द्र चोक हुँदै पुनः पुरानै रुट समात्ने छ। हिमालय रोडमा संरचना निर्माणसहित ब्युटीफिकेशनको कार्य गरिएकाले रथयात्राको रुट परिवर्तन गरिएको छ।
रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन मोरङ प्रशासनले यस वर्ष पनि बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। रथयात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिनेछ। कोभिड महामारीको जोखिमलाई दृष्टिगत गर्दै सीमावर्ती क्षेत्रहरूमा पनि आवश्यक कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
१९८९ सालबाट सुरु भएको खटयात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो। २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आइएको छ। यस वर्षको रथयात्रा ५४औँ संस्करणको हो। यसपटकको रथयात्राले भने विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै ९ किलोमिटरको दूरी तय गर्नेछ।