रथयात्राको तयारी तीव्र
विराटनगर : कोभिड महामारीका कारण पछिल्लो पटक विधिमा मात्रै सीमित भएको राधाकृष्ण रथयात्रा यसपटक पूर्ववत रुपमै भव्यताका साथ निकाल्ने तयारी भएको छ।
कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ ४ गते निकालिने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्राको तयारी तीव्र बनाइएको छ। दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा सञ्चालन गर्न शान्ति सुरक्षा, रुट व्यवस्थापन र सजावटलगायतका कामलाई तीव्र पारिएको आयोजक समितिले जनाएको छ। समितिका अनुसार स्वयंसेवक व्यवस्थापन र स्वास्थ्य सुरक्षाको आवश्यक तयारीलगायतका कामहरू भने सम्पन्न भइसकेको विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्य कृष्ण कार्कीले जानकारी दिए।
कोरोना महामारीका कारण प्रशासनले लगाएको बन्देजका कारण राधाकृष्ण रथयात्राको पछिल्लो दुई शृंखला खटयात्रामै सीमित भएको थियो। प्रशासनको अनुमतिपछि यसपटक केही परिवर्तित स्वरुपसहित रथयात्रा निकाल्ने तयारी गरिएको छ। यस वर्षको रथयात्रा झाँकीरहित हुने बताइएको छ। यसपटक स्वयंमसेवकको संख्यामा पनि कटौती गरिएको छ। कोरोना महामारीपूर्व महिला र पुरुष गरी पाँच सय स्वयंमसेवक परिचालन हुँदै आएकोमा यसपटक दुई सय स्वयंसेवक परिचालनको तयारी गरिएको आयोजक समितिले जनाएको छ। समितिका अनुसार यसपटक रथयात्राको रुट पनि परिवर्तन गरिएको छ।
विगतका वर्षहरूमा विराटनगरस्थित तिनपैनी चोकबाट निस्किएर गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक, हिमालय रोड, महेन्द्र चोक, शनिमन्दिर, भृकुटी चोक, बरगाछी हुँदै विराटनगरको मुख्य बजार क्षेत्र परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर रथयात्रा समापन हुने गरेको थियो। तर, यस पटक रथयात्रा ट्राफिक चोकबाट रोडशेषसमेत परिक्रमा गरेर महेन्द्र चोक हुँदै पुनः पुरानै रुट समात्ने छ। हिमालय रोडमा संरचना निमार्णसहित ब्युटीफिकेसनको काम गरिएकाले रथयात्राको रुट परिवर्तन गरिएको हो।
रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन मोरङ प्रशासनले यस वर्ष पनि उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिएको छ। प्रशासनका अनुसार रथयात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिनेछ। कोभिड महामारीको जोखिमलाई दृष्टिगत गर्दै सीमावर्ती क्षेत्रहरूमा पनि आवश्यक कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
१९८९ सालबाट सुरु भएको खटयात्रालाई २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ। यस वर्षको रथयात्रा ५४औं संस्करणको हो। यसपटकको रथयात्राले भने विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै नौ किलोमिटरको दूरी तय गर्नेछ।