उदयपुरका दुई विद्यालयमा प्रविधिमैत्री कक्षा सञ्चालन गर्न भवन निर्माण
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकाका दुई विद्यालयमा यसै वर्षदेखि प्रविधिमैत्री कक्षा (आईसिटी) सञ्चालन हुने भएको छ।
निजी विद्यालय सरह सरकारी विद्यालयका बालबालिकालाई प्रविधिमा अब्बल बनाउने उद्देश्यले गाउँपालिकाको सहकार्यमा जाल्पा एकीकृत विकास समाज र वल्डभिजन इन्टरनेशनल नेपालले प्रविधि कक्षा सञ्चालनका लागि सहयोग गरेका हुन्।
संस्थाले गाउँपालिकाभित्र नमुना विद्यालयतर्फ उन्मुख भइरहेको वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालय मालवासे र वडा नम्बर ७ को जनता सानाकिसान आधारभूत विद्यालय पुवाँरेमा भवनसहित एक करोड ३८ लाख १४ हजार पाँच रुपैयाँ सहयोग गरेको हो।
प्रविधि शिक्षामा बालबालिकालाई समयानुकुल विकास गर्ने गरी जाल्पा र वल्डभिजनको सहकार्यमा सञ्चालित गोल परियोजनाअन्तर्गत प्रत्येक विद्यालयमा दुई कोठे भूकम्प प्रतिरोधात्मक, बाल तथा अपाङ्गमैत्री आरसीसी एक तले भवन र अन्य प्रविधि हस्तान्तरण गरिएको अध्यक्ष पुष्पराज पोखरेलले जानकारी दिए।
उनका अनुसार मालबासेमा संस्थाको ३९ लाख ८९ हजार ४ सय ६८, गाउँपालिकाको जोड कोषवापत १४ लाख १६ हजार ७ सय ६६ गरी कूल ५३ लाख ८७ हजार ५ सय ७३ रुपैयाँको लागतमा आईसिटीयुक्त भवन निर्माण गरिएको छ।
त्यसैगरी पुवाँरेमा संस्थाको ३६ लाख १२ हजार ४ सय ९८ र गाउँपालिकाको १२ लाख ८३ हजार २ सय ३५ गरी ५२ लाख ८४ हजार २ सय ९२ रुपैयाँको लागतमा भवन निर्माण भएको उनले बताए।
दुवै विद्यालयमा डेक्सटप कम्प्युटर ८/८ थान, ल्यापटप १/१ थान, कम्प्युटर टेबल, कुर्सी, प्रिन्टर, कार्पेट, चकडी, सानो गोलो टेबल, सोलारसिस्टम, प्रोजेक्टर, दराज, भवन मर्मत, घेराबार तथा रंगरोगनलगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको जाल्पाका कोषाध्यक्ष सुमन परियारले जानकारी दिए।
भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले भवन निर्माण र प्रविधि हस्तान्तरणले नमुना विद्यालयतर्फ उन्मुख हुँदै गरेका विद्यालयलाई शैक्षिक गुणस्तर सुधारमा सहयोग मिलेको बताए। 'गुणस्तरीय शिक्षाको एउटा मेरुदण्ड भवन नै हो, उनले भने, 'भौतिक संरचनातर्फ अब हामीले भवन र कम्प्युटरको अभाव झेल्नुपर्ने अवस्था छैन। इच्छा शक्तिको तयारी गरे मात्र पुग्छ।'
अध्यक्ष मगरले सरकारी विद्यालयको गुणस्तर खस्किनुमा शिक्षक मात्र दोषी नभई अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शैक्षिक वातावरण पनि उत्तिकै दोषी भएको बताए। उनले गुणस्तरीय शिक्षाका लागि पालिकाभित्रका ६० वटै विद्यालयमा विद्युतीय हाजिरी, नियमित अनुगमन, विद्यार्थी अनुपातमा दरबन्दी मिलान प्रक्रिया सुरु गरिएको बताए।
अध्यक्ष मगरले पालिकाभित्रका जनतालाई उपलब्धी हुने सबैखाले कार्यक्रम दातृ निकायसँग जोड कोषबाट सहकार्य गरी सञ्चालन गर्न तयार रहेको बताए। उनले विगतका जनप्रतिनिधिले गरेका असल कार्य, सिर्जनात्मक कामको रूप रेखालाई ईंट्टा थप्ने र रङ्गरोगन गरिने बताए।
त्यसैगरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गजेन्द्रबहादुर खड्काले भवन मात्र चिटिक्क भएर गुणस्तरीय शिक्षा नहुने भएकाले शिक्षकहरूको मेहनत, लगनशीलता र शैक्षिक इमान्दारिताको खाँचो रहेको बताए। उनले निकै मेहनत र सहयोगले आफ्नो कार्यकालमा दुवै विद्यालयको भवन निर्माण कार्य सम्पन्न गर्न सफल भएको बताए। खड्काले गाउँपालिकाभित्र दरबन्दीका शिक्षक अभाव रहेकाले थप दरबन्दी थप्न गर्न पहल गर्नु पर्ने बताए।
वल्डभिजनका प्रतिनिधि गोबिन्द चपाईंले गोल परियोजना सफल बनाउन शिक्षकको क्षमता अभिवृद्धि गर्न कम्प्युटर शिक्षा तालिम, अध्ययन अवलोकन भ्रमण गराइएको बताए। उनले सरकारी विद्यालयका सबै विद्यार्थीलाई प्रविधिमा दख्खल पुर्याउन वल्डभिजनले साझेदार संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
कार्यक्रममा बोल्ने वक्ताहरूले उपलब्ध सामग्रीको सदुपयोग गर्दै दिगोपनामा ध्यान दिन आग्रह गरेका थिए। उनीहरूले दातृ निकायले सहयोग गर्दासम्म सञ्चालन हुने र त्यसपछिका दिनमा ती असल शिक्षाका कार्यक्रम बन्द हुने गरेकोमा चिन्ता व्यक्त गरे।
सोही अवसरमा आधारभूत विद्यालय पुवाँरेमा विद्यालयलाई योगदान पुर्याउने कुमारी आलेमगर, चोककुमारी मगर, दुर्गबहादुर थापा र दैया एसकेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
दुवै भवनको गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर र निवर्तमान अध्यक्ष गजेन्द्रबहादुर खड्काले संयुक्तरूपमा उद्घाटन गरेका थिए।