तीजको रौनक सुरु

तीजको रौनक सुरु

उदयपुर : कोरोनाका कारण तीन वर्षदेखि घरभित्र सीमित रहेको हरितालिका तीज यस वर्ष १० दिनअघि नै सुरु भएको छ। महिलाहरूले विभिन्न समूह बनाउँदै होटल, चोक, पार्क, पार्टी प्यालेसमा भव्यरूपले मनाइरहेका छन्। 

तीजलाई भड्किलो नबनाई सामान्य बनाउन सन्देश दिँदै शनिबार नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन महिला विभाग र त्रियुगा नगरपालिका-४ स्थित अखिल नेपाल महिला संघ वडा कमिटीले शुभकामना आदानप्रदानसँगै छमछमी नाँच्दै तीज मनाएका हुन्। 

सामान्य पहिरन र परिकारले दिनभर नाच्दै गाउँदै रमाएका महिलाले कार्यक्रमको अन्त्यमा खिर र तरकारी खाएर समापन गरेका थिए। यस वर्षको तीज भडकिलो हुने देखिएपछि समयमा नै सजकता अपनाउन सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कर्मचारी संगठनका उपाध्यक्ष बबिता परियारले जानकारी दिइन्। 

कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य गीता रेग्मीले पर्वका नाममा हुने विकृति, विसंगतिको अन्त्य गरिनुपर्ने बताइन्। श्रीमानको आयु बढ्ने भन्दै निराहार वर्त बसेर शक्ति कमजोर बनाउने खालका संस्कृति तोड्नुपर्ने उनको भनाइ छ। 

त्रियुगा नगरपालिकाका उपमेयर तथा अनेमसंघका केन्द्रीय सदस्य महेश्वरी राईले आफ्नो सामर्थ्यअनुसार पर्व मनाउन आग्रह गरिन्। उनले धर्म र संस्कारका नाममा हुने अन्धविश्वास तोड्दै संस्कृति जगेर्नामा लाग्नुपर्नेमा जोड दिइन्। 

नेकपा एमालेका सचिवालय सदस्य तथा अनेमसंघका केन्द्रीय सदस्य सिर्जना दनुवारले धर्म, संस्कृतिका नाममा हुने विभेद् अहिलेका महिलालाई स्वीकार्य हुन नसक्ने बताइन्। उनले पछिल्लो समय पर्व आफ्नो सामार्थ्यअनुसार भन्दा पनि प्रतिस्पर्धामा पुग्ने बाहानामा महिलाहरू झन कमजोर बन्दै गएको बताइन्। 

विशेषगरी तीज पर्व माइतीमा गएर दुःख सुखका कुरा गर्दै मनाउने प्रचलन रहेकाले माइती जान नसक्ने र नभ्याउने महिलालाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको अनेमसंघकी नेतृ सृजना पौडेलले बताइन्। उनले तीज पर्वलाई प्रतिस्पर्धामा लैजाने विकृति देखिएपछि सामान्य ५०/१०० रुपैयाँ संकलन गरेर मनाइएको बताइन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.