आगलागी घट्दैन, दमकल बढ्दैन

आगलागी घट्दैन, दमकल बढ्दैन

 नेपालगन्ज : बाँकेमा २२ हजार घरधुरी बराबर एउटा दमकल छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा १ लाख १० हजार १३५ घरधुरी छन्। जिल्लाभरी पाँचवटा मात्र दमकल छन्। नेपालगन्ज विमानस्थलभित्र पनि एउटा दमकल छ। तर, यो विमानस्थल परिसरका लागि मात्र हो। पछिल्लो जनगणनाले जिल्लामा ६ लाख ३ हजार ३९३ जनसंख्या पुगेको छ। जसअनुसार १ लाख २० हजार ६७८ जनसंख्या बराबर एउटा मात्र एम्बुलेन्स भाग पर्छ।

जिल्लाका एक तिहाइ स्थानीय तहसँग मात्र दमकल सेवा छ। ८ स्थानीय तहमध्ये ३७.५ प्रतिशत अर्थात् ३ स्थानीय तहसँग मात्र यो सेवा छ। नेपालगन्ज उपमहानगरसँग सबैभन्दा बढी तीनवटा, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकासँग एक–एकवटा दमकल छन्। यी दमकल सेवामा पर्याप्त जनशक्तिको अभाव छ। बढ्दो सहरीकरण, बढ्दो घर वृद्धिअनुसारको दमकल सेवा थप गर्ने र गुणस्तरीय र उच्चस्तरीय दमकल सेवा सञ्चालन हुन सकेको छैन। ‘पुरानो बस्तीका साँघुरा गल्लीमा दमकल जाने बाटो नै छैन’, नेपालगन्ज वारुण यन्त्र कार्यालयका प्रमुख इन्चार्ज झइनबहादुर खड्काले यर्थाथता दर्साए। नेपालगन्ज र कोहलपुरको सहरी क्षेत्रमा ठूल्ठूला घर बनेकाले पनि ती घरमा आगलागी हुँदा अहिलेका दमकलले सेवा दिन सक्दैनन्। 

नेपालगन्ज उपमहानगरको घरजग्गा शाखाका इन्जिनियर निवेशकुमार शर्माका अनुसार नगरमा फोर स्टार होटल भ्यू सिद्धार्थ र होटल सिग्नेटका भवन ७ तले छन्। न्यूरोडमा पाँच तलेभन्दा अग्ला धेरै घर छन्। अग्ला घर निर्माण भए पनि ती घरमा आगलागी हुँदा नगरका दमकलबाट आगो निभाउन कठिन छ। ‘हाम्रो क्षमता तीन तलेसम्म हो। अहिलेसम्म तीन तलाभन्दा माथि आगो निभाउनु परेको छैन’, नेपालगन्जको वारुणयन्त्रका प्रमुख इन्चार्ज खड्का भन्छन्, ‘तीन तलाभन्दा माथि आगलागी भयो भने निभाउने हामीसँग प्रविधि नै छैन। त्यसका लागि लिफ्ट सिस्टम चाहिन्छ। जुन हामीसँग छैन।’ जिल्लाका कुनै पनि दमकलले तीन तलाभन्दा माथिको आगो निभाउन सक्ने प्रविधि छैन। बढ्दो सहरीकरणले अग्ला घर निर्माण हुन थालेपछि ती घरको आगो निभाउन सक्ने अत्याधुनिक दमकल सेवाको लागि पहल गर्न जरुरी छ।

बाँकेमा दैनिक ६ घरमा आगलागी

लुम्बिनी प्रदेशका जिल्लाको विपद् भनेकै सबैैभन्दा बढी आगलागी हुने नै हो। सन् २०११ देखि सन् २०२१ सम्म प्रदेशका १२ जिल्लामा विपद्का ४ हजार ३४९ घटनामध्ये आधाभन्दा बढी आगलागीका २ हजार ७७१ वटा रहेको डीडीआर पोर्टलको तथ्यांक छ। लुम्बिनी प्रदेशमा बढी आगलागीका घटना हुने जिल्लामध्ये बाँके पनि एक हो। आर्थिक वर्ष २०६४/६५  देखि २०७८/७९ सम्म १४ वर्षको अवधिमा बाँके जिल्लामा आगलागीबाट ३० हजार १४१ घर जलेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ। यस तथ्यांकका आधारमा हरेक वर्ष २ हजार १५२ घर जलिरहेका छन्। मासिक १९७ घरमा आगलागी भइरहेको छ। 

  •     बाँकेमा २२ हजार घरधुरीबराबर एउटा दमकल 
  •     सहरी क्षेत्रमा आगलागी भए दिन सक्दैनन् सेवा

दैनिक ६ वटा घर आगलागीबाट नष्ट हुने गरेको छ। यो अवधिमा आगलागीबाट २५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्। आर्थिक वर्ष २०७१/७२ मा १५ जना र २०७४/७५ मा ८ जना, २०६६/६७ र २०७८/७९ मा एक जनाको ज्यान आगलागीबाट भएको थियो। यति हुँदा पनि बाँकेका स्थानीय तहका लागि दमकल प्राथमिकतामा परेन। नेपालगन्ज, कोहलपुर र नरैनापुरबाहेकका स्थानीय तहका जनप्रतिनिधि आफ्नो ५ वर्षे कार्यकालमा एउटा पनि दमकल नकिनेर बिदा भए। 

नेपालगन्ज उपमहानगरले २०७१, २०७६ र २०७७ मा गरी ३ वटा दमकल खरिद गरेको थियो। कोहलपुर नगरपालिकाले २०७४ वैशाख  र नरैनापुर गाउँपालिकाले २०७५ जेठमा एक/एकवटा दमकल किनेका हुन्। यिनै ५ वटा दमकल जिल्लाका अन्य स्थानीय तहका साथै छिमेकी जिल्ला र भारतमा पनि आगो निभाउन पठाइन्छ। भएका दमकलमा पनि पर्याप्त जनशक्ति छैनन्। 

नेपालगन्ज वारुणयन्त्र कार्यालयमा कार्यरत फायर म्यान जुबेर हल्वाइ भन्छन्, ‘एउटा दमकल सञ्चालन गर्दा कम्तीमा पनि एक जना चालक, एक जना इन्चार्ज र चार जना फायर म्यान गरी ६ जना चाहिन्छ। नेपालगन्जमा तीनवटा दमकलका लागि तीन जना मात्र चालक छन्। एक जना बिदामा बस्दा दमकल चलाउने अर्को व्यक्ति छैन। ८ जना फायर म्यान र २ जना इन्चार्जबाट काम चलाउनुपरेको छ।’ दमकल सेवाका कर्मचारीको ड्युटी अहिले २४ घण्टा जस्तो भएको छ। तर, सेवासुविधा कामअनुसारको छैन। एक सिफ्टकै लागि अपर्याप्त जनशक्ति छ। सो सेवामा कार्यरत कर्मचारीले कम्तीमा पनि १२ घण्टाको ड्युटी बनाएर दुई सिफ्टमा मात्र चलाउन सके राहत मिल्ने बताएका छन्। दुई सिफ्ट सञ्चालन गर्न अहिले रहेको जनशक्तिलाई दोब्बरभन्दा बढी बनाउनुपर्ने देखिन्छ।

युरोपियन युनियनको आर्थिक सहयोग र युनिसेफ नेपालको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरसँगको समन्वयमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर परियोजना)ले दमकल सेवालाई प्रभावकारी बनाउन सहयोग गरिरहेको छ। नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली सुपर परियोजनाले दमकल सेवामा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई आवश्यक पर्ने सुरक्षाका सामग्री सहयोग गर्ने र दमकल सेवालाई प्रभावकारी बनाएर नगरमा आगलागीका घटना नियन्त्रणमा मद्दत गर्ने रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.