स्वास्थ्यकर्मी नै शौच गर्न घर धाउँछन्
उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित स्वास्थ्यचौकी माल्वासेमा कार्यरत कार्यालय सहयोगी रमेशकुमार सार्की कार्यालय समयमा बेलामौकामा हराउँछन्। तत्काल उनको कार्यालयमा काम परे टेलिफोनबाट खोज्नु पर्छ।
उनी हराउनुको त्यस्तो धेरै ठूलो कारण छैन। कार्यालय समयमा शौच (दिसा) गर्नु पर्यो भने १० मिनेट पर रहेको घर जानु पर्ने उनको बाध्यता छ। कार्यालयमा पानीको अभाव भएपछि रमेश शौचका लागि घर जानु पर्ने बाध्यता आइलागेको हो। भन्छन्, ‘शौचालय घरी–घरी जानु पर्छ, कार्यालयमा पानी छैन, त्यसैले धेरैजसो समय घरमै पुग्छु।’ त्यसो त उनी मात्र हैन स्वास्थयचौकीमा कार्यरत अनमीद्वय रिता बराल, बिष्णुकुमारी राईलगायतका त्यहाँ कार्यरत आधा दर्जन कर्मचारीको समस्या पनि उस्तै हो। उनीहरू पनि शौच गर्नका लागि नजिकमा रहेको आफ्नो कोठामा पुग्छन्।
‘आकाशमा पानी परेको दिन हाम्रो जीवनको ठूलो खुशी हो’ कार्यालय भवनको धुरी देखाउँदै उनी भन्छिन्, ‘जस्ताबाट वगेर बलेंसीमा झर्ने पानी पाइपबाट संकलन गरी तल रहेको ट्यांङ्कीमा जम्मा गर्छौं।’ पानीको अभावमा काकाकुल जीवन बिताइरहेकी उनी भन्छिन्, ‘त्यहीँ छानाबाट झरेको पानी उमालेर पीउँछौ र बाँकी रहेको शौचालयमा प्रयोग गर्छौ।’ ‘पानी नियमित पर्दैन जुन दिन पर्छ त्यो दिन ट्यांङ्की भरिन्छ’, रमेश भन्छन्, ‘त्यसले जति धान्छ प्रयोग गर्छौ नभएपछि गाउँ पस्छौं। बढीमा वर्षमा चार महिना आकाशको पानीले धान्छ, त्यसपछि विकल्प नै खोज्नु पर्छ। एक दशकदेखि यहीँ समस्या झेलिरहेका छौं कतैबाट सुनवाइ हुन सकेको छैन।’
करिब ९ वर्षअघि पाइपबाट ल्याएको पानी स्वास्थ्यचौकी माथि रहेको बस्तिमा नै खपत हुने भएकाले पानीको समस्या भएको बिष्णुकमारी बताउँछिन्। उनी भन्छिन्, ‘जमिन माथि पाइप बिच्छ्याएर पानी ल्याइएको छ, बस्तीमा नै पानी अभाव छ, बचेको बाटो हिँड्ने र पशुचौपाया चराउन जंगल जानेहरूले ठाउँ–काटेर स्वास्थ्यचौकी नआउने बनाएका छन्।’
स्वास्थ्य चौकीमा पानी मर्मतका लागि बजेट नभएको र सम्बन्धित निकायलाई जानकारी गराउँदा बेवास्ता हुने गरेको कर्मचारीहरूको भनाइ छ। स्वास्थ्य चौकीका कर्मचारी आफंै पानी अभाव झेलिरहेको बेला उपचार गराउन आउने बिरामीले थप समस्या व्यहोर्नु परेको उनीहरूको भनाइ छ।
- ‘बिरामीहरू शुद्ध पीउने पानी र शौच जान खोज्नु हुन्छ, त्यो पनि व्यवस्था गर्न सकेका छैनौं’
- ‘हामी आफैं शुद्ध पीउने पानी पीउनु पर्छ भनेर प्रचार गर्छौं तर, आफैं फोहोर पानी पीउन बाध्य छौं’
‘बिरामीहरू शुद्ध पीउने पानी र शौच जान खोज्नु हुन्छ, पानीसमेत खुवाउने व्यवस्था गर्न सकेका छैनौं’ बरालले भनिन्, ‘आफुलाई चाहिने पीउने पानी कोठाबाटै बोकेर आउँछौं, पाहुना आए कार्यालय सहयोगीले घरबाट बोकेर ल्याएको २/३ बोतल दिन्छौं, जो पहिला आउँछ उसले पीउँछ पछिका लागि पानी नै हुन्न।’
पानी अभावकै कारण आकाशबाट परेको पानी थापेर खानुपर्ने बाध्यता परेको उनले सुनाइन्। थपिन्, ‘हामी आफै शुद्ध पीउने पानी पीउनु पर्छ भनेर प्रचार गर्छौं तर, आफैं फोहोर पानी पीउन बाध्य छौं।’ आकाशको पानी पिएकै कारण कर्मचारीहरू बिरामी पर्न थालेपछि हिजोआज घरबाटै पानी बोकेर आउने थालेको उनको भनाइ छ।
त्यसो त स्वास्थ्य कर्मचारीको मात्र यो समस्या हैन नजिकमा रहेको सरस्वती माध्यमिक विद्यालयका एक दर्जन शिक्षक र एक सय ५० जना विद्यार्थीको समस्या पनि उहीँ हो। शौचालय भएर पनि पानी अभावकै कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरू शौच गर्न जंगल तिर र घरमै जानु पर्ने बाध्यता छ।
जंगल जान असहज भएपछि कतिपय शिक्षक र विद्यार्थी शौचालय नै नगइ विद्यालय समय गुजार्ने गरेको प्रधानाध्यापक कमल बस्नेत बताउँछन्। उनले भने, ‘धाराको पानी नियमित छैन, धेरैजसो समय कार्यालय सहयोगी र स्टाफ मिलेर मुहानदेखि गाउँसम्म डिउटी गरेर टुक्रिएको पाइप जोडी ट्यांङ्की भर्छौं।’ यसरी भरेको पानी अधिकतम बचत गर्दै प्रयोग गर्ने गरेको उनको भनाइ छ।
पानी अभावकै कारण बालबालिकालाई समस्या पर्ने गरेको उनले बताए। प्रअ बस्नेतले भने, ‘पानीको सहज आपुर्तिका लागि वडादेखि पालिकासम्म भनेका छौं, कँही कतैबाट सम्बोधन हुन सकेको छैन्।’ वर्षाको समयमा जेनतेन धानेपनि हिउँदमा पानीको चरम अभाव झेल्नु परेको उनको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर भन्छन्, ‘स्वास्थ्य चौकी जस्तो संम्बेदनशील ठाउँमा पानी नहुनु अत्ययन्तै दुःखद हो, हामी यसको समयमा नै समाधान खोज्छौं।’ यो समस्या आज मात्र नभइ पुरानो समस्या रहेछ, उनले भने, ‘हामी नयाँ आएका छौं, सबै कुरा थाहा छैन, तर मैले स्थलगत जाँदा जे समस्या भयो तत्काल समाधान गरौंला।’
वडाध्यक्ष रवीन्द्र खत्रीले आफ्नो कार्यकालमा पानीको समस्या नआउने बताए। उनले चाँडै निकास निकाली पानीको समाधान गरिने बताए। स्थानीय भरत राउतले पानीको दिगो समाधान खोजिनु पर्ने बताए। उनले भने, ‘पानी नभएकै कारण उपचार गराउन आएका बिरामी शौच नै नगरी घर फर्कने गरेका हुन्।’
तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको टीमले उदयपुर जिल्लालाई २०७२ माघ १३ गते ३५औँ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा (खुदिमु)गरेको हो। खुदिमु घोषणा भएपनि पानीको अभावकै कारण घोषणा कार्यक्रम प्रभावकारी हुन नसकेको हो।