पैसा लिएर १८ दिनपछि सामान दिने व्यापारी छुटाउन नाराबाजी
विराटनगर : शंकास्पद कारोबार गरेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएका रुबी इन्टरप्राईजेजका सञ्चालकको पक्षमा स्थानीयले नाराबाजी गरेका छन्।
स्कीमको नाममा स्क्याम चलाएको आशङ्काको भरमा सञ्चालकलाई प्रहरी सोधपुछका लागि नियन्त्रणमा लिइएपछि स्थानीयले सोको बिरोध गरेका हुन्।
बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको कार्यकक्षमा पुगेर उनीहरूले पसल सञ्चालकको रिहाइको माग गरेका छन्।
अग्रिम भुक्तानी लिएर समयमै सामान डेलिभरी दिइरहेको अवस्थामा पनि महानगरले जबरजस्ती पसलमा ताला लगाएर सञ्चालकलाई प्रहरीको जिम्मा लगाइदिएको स्थानीयको आरोप छ।
पसल सञ्चालकको तत्काल रिहाइका साथै आफूहरूको अग्रिम भुक्तानी समेत सुरक्षित हुनुपर्ने उनीहरूले बताएका छन्।
व्यावसायिक दृष्टिकोणले अनुचित र असम्भव देखिने आकर्षक छुटसहित कारोबार सञ्चालन गरेको उजुरीका आधारमा विराटनगर-५ भृकुटी चोकस्थित रुबी इन्टरप्राईजेजका सञ्चालक भारतको तामिलनाडुका साराभानाभावानन्दनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।
गत मंगलबार प्रहरी नियन्त्रणमा परेका उनीमाथि कम्पनीको उत्पादन बिक्री गर्ने प्रयोजनका निम्ति महानगरको इजाजत विपरीत विधुतीय उपकरण तथा घरायसी सामानको खरिद-बिक्री गरेको आरोप छ।
व्यवसाय आशङ्काको घेरामा परेपछि सञ्चालकलाई मात्र सोधपुछका लागि नियन्त्रणमा लिइएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।
उनले नगरबासीको लगानी सुरक्षित होस भन्ने उद्देश्यका साथ आवश्यक सर्तकता अपनाइएको जानकारी दिए। उनले भने, 'व्यापारी भारतीय हुन्। भोलिका दिनमा केही तलमाथि भयो भने के गर्ने? झन चाडपर्व नजिकिँदै छ। त्यसैले समयमै सचेत हुन हामीले आवश्यक कदम चालेका हौं।'
स्थानीयको विरोधपश्चात हाल महानगरले रुबी इन्टरप्राईजेजमार्फत् सामान अर्डर गरेका सर्वसाधारणलाई विवरण र बिलसहित टिपोटका लागि जिल्ला प्रहरी कार्यालय पठाइदिएको छ।
सुरुमै पुरै भुक्तानी लिएर ५० प्रतिशत छुटसहित १८ दिनपछि मात्र सामान डेलिभरी दिने व्यवसायिक योजना शंकास्पद देखिएपछि गत आइतबार केही स्थानीयले महानगरमा उजुरी गरेका थिए।
२०७८ चैत्रमा रुबी इन्टरप्राईजेजले महानगरबाट विधुतीय सामग्री बिक्रीवितरण गर्ने भनेर इजाजत लिएको थियो। तर, स्थानीयको उजुरीका आधारमा मंगलबार भएको महानगरको अनुगमनमा रुबी इन्टरप्राइजेजले इजाजत-पत्र विपरीत घरायसी सामग्रीदेखि भान्साका भाँडाकुडा र साइकलसमेत ५० प्रतिशत छुटमा बिक्री गरिरहेको पाइएको थियो।
रुबीको उक्त कारोबार शंकास्पद देखिएपछि सञ्चालकलाई नियन्त्रणमा लिएर हाल सोधपुछ भइरहेको मोरङ प्रहरीले जनाएको छ।