विपद् सम्बन्धी योजना निर्माण गर्ने प्रतिबद्धता
उदयपुर : उदयपुरका स्थानीय तहले विपद् सम्बन्धी ऐन, कानुन तथा विभिन्न योजनाहरू निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। योजना नहुँदा विपद् व्यवस्थापनमा समस्या आउने भएकाले स्थानीय तहले उक्त प्रतिवद्धता जनाएका हु्न्।
उनीहरूले विपद् न्युनीकरणका लागि थुप्रै योजनाहरू बनाउन बाँकी देखिएकाले आगामी दिनमा त्यस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
विपद् व्यवस्थापन कार्यलाई तदारुकता दिन यहाँका जनप्रतिनिधि र सरोकारवालाहरूलाई स्थानीय विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम सञ्चालनको क्रममा उक्त कुरा बताएका हुन्।
जिल्लाका पाँचवटा स्थानीय तहको सहयोगमा नवप्रभात नेपालले जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरूलाई तीन दिनको तालिम दिएको हो।
तालिममा स्थानीय तहमा विकासमा विपद् व्यवस्थापन मूल प्रवाहीकरण, विपद् व्यवस्थापन समितिको काम, कर्तव्य, अधिकार र भावि योजनासम्बन्धी छलफल गरिएको नवप्रभातका अध्यक्ष दुर्गानन्द चौधरीले जानकारी दिए।
त्यसैगरी पालिकामा विपद् सम्बन्धी ऐन, नियम तथा विभिन्न कार्यविधि तथा योजना निर्माण, राहत वितरणका लागि स्फेयर मापदण्ड कसरी बनाउने सम्बन्धी उनीहरूलाई जानकारी गराइएको चौधरीले बताए।
विपद् विज्ञ खिलाराज दाहाल र संस्थाका अध्यक्ष चौधरीलेले सहजीकरण गरेको उक्त तालिममा बेलका, त्रियुगा नगरपालिका, ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधि तथा अन्यको उपस्थिति रहको थियो।
कार्यक्रममा बोल्दै जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव बिनोदकुमार पोखरेलले विपद् जुनसुकै बेला पर्न सक्ने भएकाले पूर्वयोजना बनाउन जरुर रहेको बताए।
उनले विपद्को तत्काल सामना गर्ने गरी त्यहीँ किसिमका नीति, नियम र कार्यक्रम बनाउनुपर्ने बताए।