निर्वाचन कार्यालय उदयपुरले बढायो सक्रियता
उदयपुर : मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचनसम्बन्धी गतिबिधि सुरु गरेको छ।
कार्यालयले मतदाता नामावलीमा भएका त्रुटीलाई सुधार गर्न दाबीविरोध अद्यावधिक कार्य सुरु गर्न जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरेको हो। खासगरी बसाइसराइ र विवाह गरी अन्यत्र गएकाहरूको दोहोरो मतदाता नामावली हुन सक्ने अवस्थालाई मध्यनजर गरी कार्यालयले एक व्यक्ति एक ठाउँ मतदाता नामावली कार्यक्रमलाई अघि सारेको हो। त्यसैगरी मतदाता नामावली सच्याउने, हटाउने, दावी विरोध, उजुरीलगायतका कार्यलाई पनि समयसीमा तोकेको छ।
आयोगले देशैभरी भाद्र १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटी सच्याउने, नाम हटाउने, उजुरी दिनेलगायतका अभियान सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाले जानकारी दिए। मृत्यु भएकाहरूको लगत कट्टा नहुँदा निर्वाचनका बेला झुक्याएर अर्को व्यक्तिले मतदान गर्न सक्ने भएकाले त्यस्ता क्रियाकलापलाई रोक्न दावी विरोध कार्यक्रम ल्याइएको उनले बताए। मृत्यु भएका, विवाह गरी गएका, बसाइसराइ तथा नागरिकता त्याग गरेकाहरूको लगत कट्टा नहुँदा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्नचिन्ह उठ्ने गरेकाले समयमा नै मतदाता नामावलीमा दावि विरोध कार्यक्रम सुरु गरिएको उनले बताए।
त्यसका लागि स्थानीय तहका वडा कार्यालय सूचना टाँस गर्ने र त्यस अवधिमा सप्रमाण आएका दावी विरोधका आधारमा एक व्यक्तिको एक ठाउँ मात्र कायम हुने गरी नामावाली अद्यावधिक गरिने उनले बताए।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीको लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने सुझाव दिए। उनले निर्वाचनलाई निष्पक्षता बनाउने जिम्मा सवै पक्षको भएकाले सहयोग गरिदिन आग्रह गरे।
प्रमुख जिल्ला वीरेन्द्रकुमार यादवले मतदाता नामावली अद्यावधिकका लागि मतदातालाई जागरुक बनाउन राजनीतिक दल र संचारकर्मीलाई आग्रह गरे।
कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा गम्भीर त्रुटी रहेको बताए। उनीहरूले एकपटक फोटोसहितको मतदाता नामावली बनाएर मतदान गरिसकेको व्यक्ति यसपपटक मतदाता नामावली नभएका कारण बञ्चित हुन पुगेको बताए।