कालिकोटमा गाउँमै सामाजिक सुरक्षा भत्ता
कालिकोट : जिल्लाको रास्कोट नगरपालिका-७ निवासी ९३ वर्षीया थुनकला शाही शान्निगाडमा बस्छिन्।
उनी शान्निगाडबाट रास्कोट नगरपालिकाको केन्द्रमा हिँडेर जान सक्दिनन्। गाडीमा ४५ मिनेट लाग्छ। राष्कोट नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि उनलाई भत्ता लिनै सकस थियो।
अहिले थुनकलालाई सामाजिक सुरक्षा भत्ता लिन सहज भएको छ। नगरपालिकाले गाउँमै आएर हातैमा भत्ता दिन थालेपछि उनी खुसी छिन्।
रास्कोट नगरपालिका-१ बाट गाउँमै आएर भत्ता दिन थालेको छ। नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल र वडाध्यक्ष तपेन्द आचार्य लगायतको उपस्थितिमा जेष्ट नागरिक, अपांग र एकल महिलालाई हातमै भत्तावापतको नगद रकम हस्तान्तरण गरे।
बैंकमा गएर लाइन लागेर भत्ता लिनु पर्दा लाभग्राही मर्कामा रहेका थिए। नगरपालिकाले वडामै गएर नगद हातमा दिँदा खुशी भएका छन।
कालिकोटका नौंवटै पालिकाले गाउँमै सामाजिक सुरक्षा भत्ता दिन सुरुवात गरेका छन्। वर्षातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौं लाग्ने, जेष्ठ नागरिकहरुलाई बैकमा सेवा लिन आउने समस्या भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको रास्कोट नगरपालिका प्रमूख त्रर्मराज शाहीले बताए।
उनले भने, 'नगरपालिका भित्रका जेष्ठ नागरिक र अपांङ्गता भएका नागरिकहरूलाई भत्ता लिन समस्या थियो। सुशासनका लागि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण थालिएपनि सुविधा नभएकाले पुनः गाउँमै गएर सामाजिक सुरक्षा भत्ता दिन थालेका हौं।'
बैकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ। तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस छ। सहज छैन्।
सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ।
तर जेष्ठ तथा शारीरिक रूपमा अशक्त सेवाग्राहीको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बताइन्।
जनप्रतिनिधि, पालिकाका कर्मचारी र बैंक कर्मचारी गाउँमा पुगेर भत्ता वितरण गर्न थालेका छन्। बर्खाको समयमा बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने समस्याहरूलाई मध्यनजर गर्दै गाउँगाउँमा पुगेर भत्ता वितरण गर्दा स्थानीय निकै खुसी भएका छन्।