मोतीमण्डलीका कविमण्डली

मोतीमण्डलीका कविमण्डली

नेपाली साहित्यमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समलाई त्रिमूर्ति भनेजस्तै प्रवासका सुधपा अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानलाई समेत त्रिमूर्ति भनेर सम्बोधन गरिएको छ। यीमध्ये सूर्यविक्रम ज्ञवाली प्रवासका पनि मोतीराम भट्ट हुन्। नेपाली भाषासाहित्य तथा सामाजिक चेतना र विद्वताको उत्कर्ष शृंखलामा विभिन्न व्यक्ति वा ठाउँ विशेषलाई लिएर सम्बन्ध जोड्ने गरिएको छ। उदाहरणको रूपमा पण्डित छविलाल पोखरेललाई पूर्वाञ्चलका महात्मा गान्धी भनेजस्तै सरदार यदुनाथ खनाल नेपालको कूटनीतिक क्षेत्रका सिंगो संस्था हुन्। यस क्षेत्रमा उनी नेपालका हेनरी किसिन्जर पनि हुन्।

नेपाली भाषाको उद्गमस्थल जुम्लाबाट गोर्खा हुँदै काठमाडौं आएका महाकवि देवकोटाको वंशवृत्तमा पुनः गोर्खा  हुँदै पाल्पा पुगेका पाल्पाली कवि माधवप्रसाद देवकोटालाई काठमाडौं उपत्यका बाहिरका कविशिरोमणि उपनामले सम्बोधन गरिन्छ। यस्तै नेपाली भाषासाहित्यका मूर्धन्य स्रष्टा डा. वासुदेव त्रिपाठी अर्का महाकवि देवकोटा हुन्। नेपाली भाषासाहित्य तथा गीत–संगीत र लोकसंस्कृतिको क्षेत्रमा अग्रणी भूमिकामा रहेको गण्डकीका आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई त्रिमूर्ति भनेजस्तै नेपाली गीति तथा सांगीतिक क्षेत्रका त्रिमूर्तिको रूपमा लोककवि अलिमियाँ, जनकविकेशरी धर्मराज थापा र उत्कृष्ट लोकगायक झलकमान गन्धर्वलाई लिइन्छ। 

जहाँसम्म मोतीमण्डलीको प्रसंग छ– नेपाली साहित्यका अग्रमनका कवि मोतीराम भट्टले आफ्नै नेतृत्वमा काठमाडौंमा गठन गरेको मोतीमण्डली एउटा कालजयी साहित्यिक संस्था हो। यसले नेपाली भाषासाहित्य तथा सामाजिक चेतनाको क्षेत्रमा पुर्‍याएको योगदान अविस्मरणीय छ। तत्काल यस मण्डलीले साहित्यिक क्षेत्रमा एक प्रकारको प्रेरणामुखी उभार नै सिर्जना गरेको छ। वि.सं. १९२३ भाद्र कुशेऔंशीका दिन काठमाडौंस्थित भोसिको टोलमा जन्मेका मोतीराम ६ वर्षको उमेरमा आफ्ना बाबु पं. दयाराम र माता रिप्रु मर्दिनीेका साथ बनारस गएका थिए। उनको निधन पनि १९५३ साल भाद्र कुशेऔसीकै दिन ३० वर्षको उमेरमा काठमाडौंमै भएको हो।

पहिलोपटक बनारस पुगेपछि एकपटक काठमाडौं आएर पुनः बनारसमै फर्केका मोतीरामले बनारसमा रहँदा साहित्यको प्रचुर अध्ययन गरेका थिए। उनी १५ वर्षसम्म बनारसमा बसेर झन्डै २२ वर्षको उमेरमा १९४४ सालमा काठमाडौं फर्किएका हुन्। त्यसपछिको एक दशकसम्म उनले काठमाडौंमा मोतीमण्डलीको स्थापना गरेर नेपाली भाषासाहित्यको विकासमा सम्पूर्ण समय र श्रमको सदुपयोग गरे। उनको नेतृत्वमा आफ्ना समकालीन र पूर्ववर्ती कविहरूलाई पनि मोतीमण्डलीमा समावेश गरेका थिए। उनको मोतीमण्डलीमा १९०५ सालमा जन्मेका कविशिरोमणि राजीवलोचन जोशीदेखि १९२९ सालका कविकेशरी तीर्थराज पाण्डेसम्मका उत्कृष्ट कविहरू सहभागी रहेका थिए। 

समयको कालक्रममा समकालीन शब्दले समकालीन युगको प्रतिनिधित्व गर्दछ। समकालीनमा दुई शब्दको संयोग रहेको छ जसमा पहिलो सम र दोस्रो कालीन, समको अर्थ समान, सवृश जस्तै बराबर तुल्य, आदिदेखि अन्तसम्म एकनास भएको बुझाउँछ भने कालीन भन्नाले नाम वाचक शब्दको पछिल्तिर जोडिएर त्यस समयको भन्ने अर्थबोध गराउने अनुवद्ध शब्दलाई परिभाषित गर्दछ। समग्रमा यही परिभाषाको निचोड नै समकालीन वा समकालीनता हो। मोतीराम भट्ट समकालीन युगका सिंगो संस्था थिए, जसले नेपाली भाषासाहित्यलाई एउटा मियोको रूपमा आफ्ना समकालीन कविलेखकलाई गोलबद्ध गरे। 

नेपाली साहित्यको माध्यमिककाल भन्नाले मोतीराम भट्टको युग भन्ने बुझिन्छ। उनले त्यस युगमा सबैभन्दा ठूलो समर्पण र त्याग आफ्ना समकालीन कविलेखकलाई एकै छहारीमा ओत दिएका थिए। नेपाली साहित्यमा शोधखोज अध्ययन र अनुसन्धानको क्रमलाई अघि बढाउने हो भने माध्यमिककालमा कुनै न कुनै रूपमा योगदान पुर्‍याउने कविलेखक एवम् साहित्यकर्मीहरूको संख्या दर्जनौंमा देखिन्छन्, तर यीमध्ये मोतीरामका समकालीन कविहरू प्रशस्तै भए पनि माध्यमिककालीन काव्य वृत्तिलाई आत्मसात् गर्दा भाषाशैली अभिव्यक्ति विषयवस्तु र प्रस्तुतिको आधारमा राजीवलोचन जोशी, नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त पद्मविलास 
पन्त, तीर्थराज पाण्डे, गोपीनाथ लोहनी र भोजराज पाण्डे प्रमुख रहेको देखिन्छ, जो मोतीमण्डलीका पनि सारथि कवि थिए। 

नेपालका तत्कालीन राजगुरु पण्डित लोकराज पाण्डको अनुरोधमा १९४४ साल फागुनमा आफ्नी आमा, बहिनी र धमपत्नीलाई साथमा लिएर मोतीराम भट्ट बनारसबाट नेपाल फर्केका थिए। मातृभाषाको प्रगति र उन्नति हुनुपर्छ भन्ने पक्षधरका मोतीरामले यसै तथ्यलाई मनन् गरी काठमाडौंमा एक मोतीमण्डली खडा गरे, जसमा माथि उल्लेख गरिएका कविहरू नै प्रमुख सदस्यका रूपमा सहभागी थिए। उनले बनारसमा रहँदा पनि मोतीमण्डली निर्माण गर्दा पद्मविलास पन्तजस्ता विद्वानकवि दुबै मण्डलीमा सहभागी रहेका थिए। उनीहरू बीच एकअर्काेलाई सम्बोधन गर्नुपर्‍यो भने काव्यबाटै आदानप्रदान हुन्थ्यो।

मोतीमण्डलीमा रहेको कविसमूह वर्णनम् सिर्जना त्यसैको एउटा उदाहरण हो। मोतीराम भट्टको नायकत्वमा रहेको उक्त मोतीमण्डलीमा सर्वप्रथम शृंगारिक रसमा चलाएको काव्यिक अभियानअन्तर्गत समस्यापूर्ति कविता नै हो। यस अभियानको प्रेरणाको स्रोत भारतीय कवि भारतेन्दु हरिशचन्द्र नै हुन। नेपाल र भारतका यी दुई ठूला कविका बीच धेरै कुरामा तुलना हुने गर्दछ। तत्काल सबै कविहरूलाई गोलबन्द गरी १९४४ सालदेखि समस्यापूर्ति कविताको रूपमा मोतीमण्डलीमा रहेका कविहरूले समस्यापूर्तिमा काव्यसिर्जना गरेका थिए। यीमध्ये कवि लक्ष्मीदत्त पन्तद्वारा रचित समस्यापूर्ति कविताको एक श्लोक, जसबाट उनको भाषाशैली र कवित्वप्रतिभाको सुन्दर परिचय मिल्छ –

ल्यौ ल्यौं औठि म दिन्छु राख तिमिले मेरो निसाना भनी।
 भन्दा ता सखिले बडो खूसि गरी लिन्छु म सिरमा धरी।।
 भन्दै औंठि लिइन् तहाँ ति प्रियले खुव् हर्ष मन्मा गरिन्।
 खासा औंठि मिल्यो मलाई अहिले भन्दै त हात्मा धरिन्।।

लक्ष्मीदत्त पन्त सवलकवि, काव्यमर्मज्ञ एवं समीक्षक पनि हुन्। उनको जन्म १९२२ सालमा काठमाडौंको गुच्चाटोलमा भएको हो। उनी मोतीरामका दौतरी कवि हुन्। उनको निधन १९६२ सालमा मोतीरामभन्दा एकदशकपछि भएको हो। काव्यशिल्पी भरतराज पन्त उनकै वंश परम्पराका प्रतिभाशाली कवि हुन्।

नेपाली साहित्यमा समसामयिक विषयवस्तुलाई शृंगारिक काव्यात्मक शैलीमा परिचय गराउने उद्देश्यले समस्यापूर्ति कविताको आरम्भ गरिएको हो। समस्यापूर्ति कविताको माध्यमद्वारा मोतीमण्डलीमा रहेका कविहरूलाई मोतीरामले अनेक उपाधि र विशेषण दिएका छन्– जस्तै भानुभक्त आचार्य, आदिकवि, राजीवलोचन जोशी कविशिरोमणि, तीर्थराज पाण्डे, कविराजकेशरी, पद्मविलास पन्त कविचक्र शिरमणि र आफ्ना दौतरीकवि लक्ष्मीदत्त पन्तलाई कविकुलमुकुटमणिजस्ता उपाधिद्वारा सम्मान गरेका छन्। नेपाली अग्रमनका कवि मोतीरामले आफूभन्दा झन्डै १९ वर्षअघि जन्मेका राजीवलोचन र ५३ वर्षअघिका भानुभक्तलाई लिएर एक श्लोक काव्यद्वारा परिचय दिएका छन्–

 भानुभक्त विहारिलाल छविलाल मातन्जली नाम् गरी।
 नेपालीहरूमा अनेक कवि छन् भाषा सिलोक्मा रची।।
 फेरि खूव स्सोक भाइहरूमा राजीवलोचन् भनी।
 प्रख्यात् छन् कवि हुन वडा सरसका नेपाल देश्का भनी।।

 जीवनीकार पण्डित नरदेव पाण्डेले मोतीराम भट्टको जीवनीमा समेत उल्लेख गरेका मोतीमण्डलीका एक प्रतिभाशाली कवि पद्मविलास पन्त लमजुङ रागीनासटार निवासी हुन। उनको जन्म १९१९ र निधन १९८७ 
सालमा भएको हो। कवि पद्मविलास पन्तका सम्बन्धमा कवि मोतीरामले कविसमूह वर्णनम्मा यसरी परिचय गराएका छन्–

 पण्डित् पद्मविलास पन्त कवि छन् श्रृङ्गारमा वेस छन्। 
 श्रृङ्गारादि सरस् अनेक कविता भाषामहाँ रच्दछन्।।
 विद्वान् छन् बहुतै र संस्कृतय हाँ पाठन् पठन् गर्दछन्।
 मेरा ता हृदयै समान कहिन्या यिनै फगत दोस्त छन्।।

माध्यमिककालीन मोतीमण्डलीमा रहेका तनहूँ दोरदोरका अर्का कवि एवं उपदेशमञ्जुरी काव्यका लेखक तीर्थराज पाण्डेको बारेमा समेत मोतीरामले यसरी खुलेर प्रशंसा गरेका छन् :

तीर्थराज कविराज केशरी।
मो भनूँ यि कविलाई केसरी।।

जान्दछन् यि सव शास्त्र वेसरी।
गर्दछन् तव न काव्य येसरी।।

साहित्यिक साधक मोतीराम भट्ट आK" त कवि छँदै थिए, त्यसमा पनि उनले आफ्ना समकालीन कविलेखकहरूलाई साहित्यलेखन र सिर्जनातर्फ प्रेरणाको हुटहुटी नै जगाए। आफ्नो युगमा अरूलाई उठ्न नदिएर आफूमात्र अगाडि बढ्ने साम्प्रदायिक र संकुचित भावना उनीमा बिल्कुलै थिएन। उनको मन र भावना आकाशजस्तै निर्मल थियो। बरु आजका कविलेखक र साहित्यकारहरूमा यस प्रकारको भावनाले अति नकारात्मक रूप लिँदै गएको छ। मोतीरामले कसैको गुणको प्रशंसा वा तारिफ गर्दा निर्भीक भएर गर्ने उनको विलक्षण प्रतिभा थियो। कविको वर्गीकरण गर्दा पनि उनले सहज कवि अर्थात् स्वाभाविक कवि र कृत्रिमकवि भनेर विभाजन गरेका छन्।

यस अर्थमा सहज कविको तुलनामा ससर्गीकवि कहिल्यै पुग्न सक्दैन भन्ने मोतीरामको दरो तर्क छ। त्यसैले आफ्ना अग्रजकवि भानुभक्तलाई सहजकवि भनेका छन्। उनले भानुभक्तलाई कतै आदिकवि त कतै कविकुलमुकुट माणिक्यको उपाधि दिएका छन्। उनले मोतीमण्डलीअन्तर्गत कविसमूह वर्णनम्मा पनि भानुभक्त आचार्य, राजीवलोचन जोशी र तीर्थराज पाण्डेको सम्बन्धमा समेत काव्यात्मक वर्णन गरेका छन्। भानुभक्तबारे उनले गरेको कविता वर्णनको एक श्लोक–

भानुभक्त भनेर आदिकविमा भाषा सरस्ले गरी।
रामायण्कन श्लोकले रचिदिया बैराग्य रस्ले भरी।।
ठाम् ठाम्मा करुणा र वीर रसको खासा यजा पाइन्या।।
यस्ती यो कविता बयान जनले भुल्ल्न कसोरी भन्या।।

तथापि, नेपाली भाषासाहित्य क्षेत्रको विकास शृंखलासँगै यसको संस्थागत र सिर्जनात्मक योगदानको निमित्त युवककवि मोतीराम भट्टले अद्वितीय योगदान दिएका छन्। कवि भानुभक्तपश्चात् नेपाली साहित्यमा एउटा अत्यन्तै उत्साहीयुवक, साहित्यिक आन्दोलनका बहुप्रतिभाशाली नेता मोतीरामको उदय भएको हो। नेपाली साहित्यमा उनी शृंगारिक रसधाराका प्रवर्तक र एक प्रतिभा सम्पन्न जन्मजात कवि हुन्। उनले यस क्षेत्रमा के गरे भन्दा पनि केही गर्न नै बाँकी राखेनन्। 

त्यसैले यस फाँटमा उनी कवि, नाटककार तथा नाटक निर्देशक, जीवनीकार, गजलकार, समस्या पूर्तिकार, अन्वेषक, आलोचक पत्रकार, छापाखाना तथा पत्रिकाका प्रबन्धक, रसिक समाजका संस्थापक, पुस्तकालयका संस्थापक, सार्वजनिक छापाखानाका संस्थापक, सामूहिक प्रयत्नकर्ता एवम् गुणग्राहीजस्ता एक दर्शनभन्दा बढी विशेषताहरूद्वारा अभिप्रेरित मोतीराम भट्टको योगदानलाई यिनै कोटीमा राखेर उच्च मूल्यांकन गर्नु अपरिहार्य छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.