बुटवलमा बन्यो १ अर्बमा सम्मेलन केन्द्र

बुटवलमा बन्यो १ अर्बमा सम्मेलन केन्द्र

बुटवल : बुटवलमा एक अर्बको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ। बुटवल–१०, रामनगरस्थित बुटवल मण्डपमा सम्मेलन केन्द्र बनेको हो।

सम्मेलन केन्द्र निर्माणसँगै बुटवलमा ठूला आकारका भेलाहरु सम्भव भएका छन्। ०६५ मा नेकपा एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम भएको स्थलमै सम्मेलन केन्द्र निर्माण गरिएको हो। त्यसवेलै बुटवलमा ठूलो सम्मेलन केन्द्रको आवश्यकता महसुस गरिएको थियो। १ अर्ब ३ करोड लागतमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ११ सय १४ जना अटाउने सभाहल छ। त्यसैगरी ५ सय क्षमताका ६ वटा बैठक कक्ष, ५०-५० र १-१ सय क्षमताका दुइटा साना हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ बिघा क्षेत्रफलमा सभाहल फैलिएको छ। यो सभाहल  आकाशबाट हेर्दा चन्द्र र सूर्य रहेको नेपालको झण्डा आकारमा रहेको छ। सम्मेलन केन्द्रको भौतिक संरचना आर्कषक बनाइएको छ। सभाहल अगाडि पानीका फोहोरा सहित पोखरी निर्माण गरिएको छ। सम्मेलन केन्द्रबाट प्रवेश गर्ने बाहिरिनेहरुका लागि छुट्टाछुट्टै द्वार छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र बुटवल प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख प्रमुख धर्मेन्द्र पन्थीले सम्मेलन केन्द्र निर्माणको काम सम्पन्न गरि आन्तरिक परीक्षण गरिएको बताए। ‘हामीले परीक्षण पनि सकिसकेका छौं, अब यहाँ आएर सभा सम्मेलन गर्न सकिन्छ', उनले भने।

सम्मेलन केन्द्रको मुख्य सभाहल अन्तर्राष्ट्रिय स्तरको भएकाले त्यसको साउण्ड, एसि सिस्टम सबै चेकजाँच गरेको उनको भनाइ छ। यो सम्मेलन केन्द्र निर्माणका लागि दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौतामा २०७८  पुस मसान्तसम्म सभाहल बनाइसक्ने उल्लेख भए पनि कोरोना महामारिको प्रभावका कारण केही ढिला भएको हो। दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो। पछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्यादअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताए। 

सम्मेलन केन्द्रको पहिलो चरणको कामलाई  २३ करोड र दोस्रो चरणको कामलाई  ८० करोड गरी एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको थियो।  पहिलो चरण अन्तर्गत मुख्य सभाहल रहेको भवनको काम भएको हो।  त्यहाँसँगै ब्लकमा दुई वटा भवन बनेका छन्। मुख्य सभाहल भित्र रातो लहरै कुर्ची सभाहलमा राखिएको छ। 

दोस्रो चरणमा चन्द्रमा आकारको संरचना निर्माण भएको हो। आयोजनाका ईन्जिनियर सुमन दलार्मीका अनुसार सभा हलसँग सटेर उत्तर र दक्षिणमा गरी दुई वटा बहुउपयोगी भवन बनेका छन्। यी एक सय क्षमताका छन्। त्यस बाहेक दोस्रो दुई वटा सर्भिस ब्लक, क्यान्टिन, ग्रिनहाउस, ६ जना बस्न मिल्ने स्टाफ क्वाटरका लागि भवन निर्माण भएको छ।

सभाहलमा लिफ्टको व्यवस्था छ। अहिले सभाहल परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना पनि दोस्रो चरण अन्तर्गत निर्माण गरिएका छन्। बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरी २०६५ सालमा सरकारले निर्णय गरेको थियो। २०७६ जेठ १३ गते पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेर सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो। बुटवल मण्डपको १६ बिघामध्ये पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।रुपन्देही क्षेत्र नं. २ का सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले यो योजनाको अवधारणा बनाएका थिए। एमालेको महाधिवेशनपछि बुटवलमा ठूला कार्यक्रम गर्न ‘ईनडोर’ सभाहलको आवश्यकता महसुस भएको उनले बताए। ‘बुटवलले अब यही सभाहलमा ठूला कार्यक्रमहरु गर्न सक्छ, लुम्बिनी नजिक रहेकाले यसको विशेष महत्व रहेको छ', उनले भने। अव बुटवलमा जुनसुकै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्न सकिने उनले बताए।

०७१ साल माघ १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको यो सम्मेलन केन्द्र ८ वर्षमा पूरा भएको हो। यो सम्मेलन केन्द्र राजधानी बाहिरको ठूलो सभाहल हो। सम्मेलन केन्द्र कुन मोडालिटीबाट सञ्चालन गर्ने स्पष्ट खाका तयार भएको छैन। बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने या कुनै समितिमार्फत यसलाई सञ्चालन गर्नेबारे संघ सरकारले नै निर्णय गर्ने इन्जिनियर दलार्मीले बताए।

सम्मेलन केन्द्र निर्माण सम्पन्न भएपछि छिटो सञ्चालनको माग गरिएको छ। रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सभाहल निर्माणपछि बुटवलमा आर्थिक गतिविधि बढ्ने विश्वास गर्द सञ्चालनमा ढिलो गर्न नहुने बताए। व्यवसायीहरुले पर्दशनी केन्द्रको निर्माण छिटै सक्नुपर्ने माग गर्दे आएका छन्। यो संरचना निर्माणपछि स्थायी प्रदर्शनीस्थल तयार हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.