कर्मचारीको आन्दोलनका कारण उदयपुरका विद्यालय ठप्प
उदयपुर : सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण आइतबार उदयपुरका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
पूर्ण सेवा सुविधाको ग्यारेन्टी, संघीय शिक्षा ऐन/शिक्षा ऐन, २०५८ को संशोधनमा प्रबन्ध गरिनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यालय कर्मचारी परिषद् आवद्द कर्मचारीहरुले जिल्लाभरका सबै सामुदायिक विद्यालय ठप्प पारेका हुन् ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका कर्मचारीहरुले पहिलो चरण अन्तरगत भदौ १८ गतेसम्म विद्यालय ठप्प पार्ने र त्यसपछि थप कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
परिषद्का अध्यक्ष बुद्धिलाल चौधरीले वर्षौंदेखि कर्मचारीकोरुपमा कार्यरत लेखापाल, कार्यालय सहयोगीहरुको आवाज सम्बन्धित निकायले नसुनेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।
उनले सेवा सुविधामा वृद्धि, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रकृया पुरा गरी स्वतः स्थायी गरिनुपर्ने, ६० वर्ष पुगेर विदा भएका कर्मचारीलाई तत्काल कार्यविधी बनाई सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराइनु्पर्ने बताए ।
चौधरीले उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदालगायत आदिको प्रबन्ध गरिनुपर्ने विभिन्न समयमा भएका सहमति, सम्झौता, सर्वोच्च अदालतले गरेका फैसला कार्यान्वयन भए मात्र आन्दोलन फिर्ता हुने बताए । परिषद्मा आवद्द कर्मचारीहरु भदौ ५ गतेदेखि निरन्तर आन्दोलनरत छन्।