धुलो र हिलोको विकल्पमा मेसिन रोज्दै मुसहर महिला

धुलो र हिलोको विकल्पमा मेसिन रोज्दै मुसहर महिला

उदयपुर : सधैंजसो धुलो र हिलोमा रमाउने मुसहर समुदायका महिलाहरू हिजोआज मेसिनमा रमाउन थालेका छन्। 

विद्यालय जाने समयमा अभिभावकसँग व्यक्तिका घर ढलान, खेतको माटो काटेर सम्याउने, धान गोड्ने र खोलाका बालुवा चाल्ने काममा रुचि राखी उमेर गुजारेका महिलाहरू हिजोआज सिपमूलक तालिमपछि व्यवसायतर्फ अग्रसर देखिएका हुन्। 

अक्षर चिन्न र सामान्य हिसाबकिताब गर्न जान्ने भएपछि विद्यालय छोडेर मजदुरी काम गर्दै आएका उनीहरू यतिबेला सिलाइकटाइको तालिमपछि मेसिन चलाएर कपडा सिलाउन थालेका छन्। 

मुसहर समुदायको चौतर्फी विकासका लागि उदयपुरको त्रियुगा नगरपालिकाले प्रदेश सरकारको नवप्रर्वद्धन साझेदारी कोषअन्तर्गत विभिन्न सिपमुलक तालिम, बचत गर्ने बानीको विकास, सरसफाईलगायतका कार्यक्रम सञ्चालन गरेपछि उनीहरूमा परिवर्तन आएको हो।

१३ महिने परियोजनाबाट नगरपालिकाका वडानं १०, १४, १५, १६ बाहेकका अन्य १२ वटा वडाका मुसहर समुदायले लाभ लिने परियोजना संयोजक राजकुमार खड्काले बताए। चारवटा वडामा मुसहर समुदायको बसोबास नरहेकाले कार्यक्रम सञ्चालन नगरिएको उनले बताए। 

नगरपालिकाले सिलाइकटाइको सिप सिक्न चाहेका वडानं १,२,३,५,६,८ र ९ का ३२ जना महिलालाई पहिलोपटक ४५ दिनको आधारभूत तालिम पश्चात व्यवसायिकतातर्फ अग्रसर गराएको उनले बताए। 

उनीहरूको चौतर्फी विकासका लागि समुदायमा आधारित रही आवश्यकता र मागअनुसार तालिम दिइएको उनले बताए। पुरुषहरूबाट इलेक्ट्रिकल, पलम्बर, मोटरसाइकल मर्मत लगायतका सिपहरूको माग आएकाले त्यो चाँडै सञ्चालन गर्ने तयारीमा रहेको खड्काले बताए। 

उनले थपे, 'पहिलो चरणमा पुरुषभन्दा पनि महिलाकै चेतनामा वृद्धि र व्यवसायमार्फत आम्दानी बढाउनुपर्ने देखियो त्यसैले सिलाइकटाइ तालिम दिई मेसिनसमेत उपलब्ध गराएका हौं।'

त्रियुगा नगरपालिका-३ की सोना सदा भन्छिन्, 'सिप सिक्ने चाहाना भएर पनि आर्थिक अभावले सकेका थिएनौ, नगरपालिकाले सहयोग गरेपछि त्यो अवसर पायौ र अब यसलाई व्यवसायिक बनाउन लागि परेका छौं।'

उनले भनिन्, 'मेरो क्षमता देखेर प्रशिक्षक कल्पना ढकालले आफ्नै टेलरिङ्ग सेन्टरमा काम गर्ने अवसर दिनुभएको छ, यहाँबाट अझ संक्षम भएपछि आफ्नै पसल खोल्ने सोचमा छु।' वडानं ६ की संगिता सदाले वडा कार्यालयले सटरको व्यवस्था गरी नसकेकाले तत्कालका आफ्नै घरबाट व्यवसाय सुरु गरेको बताइन्। 

'वडाध्यक्षले टेलरिङ्ग सेन्टर चल्ने ठाउँमा केही दिन भित्रै निःशुल्क सटर उपलब्ध गराइदिने भन्नुभएको छ, उनले भनिन्, 'व्यवस्था नभएसम्म आफ्नो सिप घरबाटै प्रयोग गरेको हु।'

सामान्य घर खर्च, छोराछोरीको कापीकलम किन्न, आफूलाई चुरापोते किन्नसमेत श्रीमानको गालीसहित मुख ताक्नुपर्ने समस्या सहजै टर्ने उनले बताइन्। 

उनले भनिन्, 'कुर्थासुरुवाल, ब्लाउज, पेटिकोट, भोटो, टोपीलगायतका सिप जानिसकेको छु, बाँकी सिक्ने क्रममा छु, यति सिपमा नै छरछिमेकबाट सिलाइका लागि काम दिनुभएको छ।'

४५ दिनसम्म लगातार तालिम दिएकी प्रशिक्षक कल्पना ढकालले सुरुका दिनमा केही गाह्रो भएपनि बीचमा पुगेपछि सिकाउन धेरै सहज भएको बताइन्। उनले भनिन्, 'यति सिपबाटै मासिक १५/१६ हजार कमाउन सक्ने भएका छन्, अब उनीहरूलाई एडभान्सको खाँचो छ।

नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले मुसहर समुदाय दलित भित्रको पनि महादलितभित्र पर्ने भएकाले उनीहरूको जीविकोपार्जन र चेतना वृद्धिमा नगरपालिका जिम्मेवार रहेको बताए। उनले तालिम प्राप्त गरेका ३२ जनालाई नगरपालिकाको जनही बीस हजार मूल्यको मेसिन, आइरन, कैची, सिलाइका अन्य सामग्री उपलब्ध गराइएको बताए। 

मुसहर समुदायका लागि राज्यले धेरै लगानी गरेकाले लगानी खेर जान नदिन आफ्नो पाँच वर्षे कार्यकाल भरी उपलब्ध सामग्रीको निरन्तर अनुगमन गरिने उनले बताए। 

'हामीले घरमा थन्काउन र बेच्नका लागि मेसिन दिएका हैनौं, मेयर बस्नेतले भने, 'तीन पुस्ते लिएका छौं, महिना एक पटक अनुगमनमा जाने संयन्त्र बनेको छ, मेसिनबाट व्यवसायिक काम भए नभएको निगरानी बढाउँछौ।'

नगरपालिकाका उपमेयर महेश्वरी राईले आधारभूत तालिमको प्रतिफल राम्रो आए एडभान्स तालिम दिइने बताइन्। उनले भनिन्, 'सबै समुदायलाई समान हैसियतमा पुर्‍याउनका लागि नगरपालिका अहिले मुसहर समुदाय केन्द्रित योजनामा छ र यसबाट उनीहरूलाई व्यवसायिक र उद्यमशिल बनाउन चाहान्छौं।'

सिप भएको मान्छेलाई भोकै बस्नुपर्ने अवस्था नआउने उनको भनाइ छ। 'उनीहरूलाई लक्षित गरेर तालिम दिएका हौं, उपमेयर राईले भनिन्, 'मुसहर समुदायमा गरेको लगानी बालुवामा पानी हाले सरह हुने कसैकसैले भनेका छन्, तर अहिले उनीहरूको लगनशीलता र मेहनत हेर्ने हो भने सोचेभन्दा परिणाम राम्रो निकालेका छन्।'

नगरपालिकाले मुसहर समुदायका लागि पहिलो चरणमा १ सय २० जनालाई उद्यमशीलता तालिम, १ सय ५४ जनालाई पूर्ण सरसफाइ सचेतना, मोबाइल एप र वेब वेस्ड घरधुरी सर्वेक्षण, २ सय २७ घरधुरीलाई बायोस्याण्ड फिल्टर वितरण गरेको छ। 

सिलाइकटाइ पछि दालमोठ भुजिया, ग्रिल, माछा, बाख्रा, वंगुर, मोटर ड्राइभिङ, टायल मार्बल, मोटरसाइकल मर्मत, कम्प्युटर, फर्निचर पेन्टिङ तालिम रहेको परियोजना संयोजक खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.