विराटनगरमा पब्जी टुर्नामेन्ट हुँदै : १८ वटा टिमको सहभागिता रहने
विराटनगर : मोरङको विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जीको इ-स्पोर्टस टुर्नामेन्ट हुने भएको छ।
आउँदो भदौ १८ गते 'रेजरयाक्ट इ-स्पोर्टस' ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा पब्जी टुर्नामेन्ट हुने भएको हो।
टुर्नामेन्टमा नेपालभरिबाट विभिन्न १८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार टुर्नामेन्टमा काठमाडौं, बुटवल, नेपालगञ्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टिमहरूले सहभागिता जनाउने छन्।
एउटा टिममा ४ जना खेलाडी रहने गरी टुर्नामेन्टको आयोजना गरिएको आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले बताए। 'एक दिवसीय टुर्नामेन्टको आयोजना गरिएको हो। यसमा जम्मा ८ वटा गेम हुन्छ। एउटा गेम २५ मिनेटको हुन्छ,' उनले भने, 'सबै टिम एकैठाउँमा बसेर खेल्छन्। स्क्वाड गेम हुन्छ।'
सहभागीहरूमध्ये सर्वाधिक प्वाईन्ट हाँसिल गर्ने टिम टुर्नामेन्टको विजेता घोषित हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार टुर्नामेन्टमा विजयी हुने टिमका लागि नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ।
टुर्नामेन्टको विजेता टिमलाई ५० हजार र उप-विजेता टिमलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सदस्य सन्दिप श्रेष्ठले बताए।
उनले टुर्नामेन्टमा तेश्रो र चौथो स्थान हाँसिल गर्ने टिमका लागि पनि क्रमशः १५ र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए। 'टुर्नामेन्टको एमभिपी अर्थात् स्टार प्लेयरका लागि समेत नगद पुरस्कारको व्यवस्था गरेका छौं,' उनले भने, 'गेमको स्टार प्लेयरले ५ हजार नगद पुरस्कार पाउनेछ।
दिनको ११:१० बजेदेखि सुरु हुने टुर्नामेन्टमा सहभागिताका निम्त्ति रजिष्ट्रेशनको व्यवस्था गरिएको जनाइएको छ। रजिष्ट्रेशनका निम्त्ति १२ हजार शुल्क तिर्नुपर्नेछ। आयोजकले 'आरटीडि इ-स्पोर्टस' र 'सर्जिकल नुब' नामक युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यममार्फत् टुर्नामेन्टको प्रत्यक्ष प्रसारणको व्यवस्थापन मिलाएको छ।
टुर्नामेन्टमा भने आइस अफिसियल, ओभरडोज, आर्केडिया इ-स्पोर्टस, हाफ एक्स-ब्लडेड, द लेजेन्ड्स, टिम रातो खुकुरी, डेभिल अफ नेपाल, फोरएएस इ-स्पोर्टस, रिफ्लेक्सेस अफ गड, ड्रेगो गेमिङ्ग र ड्रप टु डेथ लगायतका टिमहरूको सहभागिता रहने जानकारी दिइएको छ।