मट्टीतेल ट्यांकमा अब पेट्रोल भण्डारण
विराटनगर : मट्टीतेलको माग र आपूर्ति दुवैमा कमी आएपछि नेपाल आयल निगमले यसका भर्टिकल ट्यांकलाई पेट्रोल ट्यांकमा परिणत गर्ने भएको छ।
जमिनमाथि बनाइएका मट्टीतेलका दुईवटा ट्यांकलाई पेट्रोल ट्यांकमा रूपान्तरण गर्ने भएको हो। निगमको विराटनगरस्थित कार्यालयमा हाल मट्टीतेलको ७५० किलोलिटरको एक र ७१० किलोलिटरका दुईवटा ट्यांक छन्। जसमा निगमले ७५० र ७१० किलोलिटरका दुई भर्टिकल ट्यांकलाई पेट्रोल भण्डारणका निम्ति प्रयोग गर्ने तयारी गरिरहेको छ।
विद्युतीय चुल्हो र एलपीजी ग्यासको बढ्दो प्रयोगका कारण पछिल्लो समय मट्टीतेलको माग र आपूर्ति दुवै घटेपछि आयल निगमले यसका दुई ट्यांकलाई खाली राख्दै आएको थियो। तर, हाल मट्टीतेलको माग घटेर पेट्रोलियम पदार्थको माग बढ्दै गएकाले निगमले ट्यांक कन्भर्सनको प्रक्रिया अघि बढाएको विराटनगरस्थित नेपाल आयल निगमका प्रदेश १ प्रमुख इन्जिनियर अशोक साहले बताए। मट्टीतेलका दुईवटा भर्टिकल ट्यांकलाई पेट्रोल ट्यांकमा बदल्न गोपीगंगा एनसी जेभी काठमाडौंले पारेको छ। निगमका अनुसार ९२ लाख रुपैयाँ लागतमा ट्यांकको कन्भर्सन अघि बढाइएको हो।
हाल निगमको विराटनगरस्थित डिपोमा पेट्रोल भण्डारणका निम्ति ७० किलोलिटर क्षमताका आठ वटा भूमिगत ट्यांक छन्। डिपोसँग डिजेल भण्डारणका निम्ति कुल ७११० किलोलिटर क्षमताको पाँच वटा भर्टिकल ट्यांक छ। जसले प्रदेश १ को १४ जिल्लासाथै मधेसको सिराहा र सप्तरीको समेत माग आपूर्ति गर्दै आएको छ।