अफ सिजन : सगरमाथा क्षेत्रमा पर्यटकबाट ३२ लाख राजस्व
सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले 'अफ सिजन'मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख बढी राजस्व संकलन गरेको छ।
'अफ सिजन'मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकहरूबाट निकुञ्जले ३२ लाख ७० हजार १०० रुपैयाँ राजस्व संकलन गरेको हो।
निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म १२९९ विदेशी र १७६ नेपाली पर्यटकबाट सो राजस्व संकलन भएको हो।
असारमा ८५७ विदेशी, १८ नेपाली, साउनमा ३२३ विदेशी, ६२ नेपाली र भदौको हालसम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्यांक छ।
'अफ सिजन' मा भारत, युके, स्पेन, चीन लगायतका देशबाट आएका छन्। निकुञ्जले सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १५००, अन्य मुलुककालाई ३००० र नेपालीलाई १०० रुपैयाँ शुल्क लिने गरेको छ।
मनसुन सिजनमा पर्यटक आवगमन ठप्प नै हुने गरेको सो क्षेत्रमा यस वर्ष भने 'अफ सिजन'मा १५ देखि २० जनासम्म पर्यटक आइरहेका सूचना अधिकारी रोकायले बताए। जसका कारण निकुञ्जका कर्मचारीहरूमा व्यस्तता बढेको छ भने खुम्बुका होटल, पसल तथा पर्यटन व्यवसायहरू समेत चलायमान बन्दै गएको नाम्चेका लामाकाजी शेर्पाले बताए।
लामो समय कोरोनाका कारण घर तथा कोठाभित्रै सीमित बन्नु परेकाले पछिल्लो समय भ्रमण गर्ने स्वदेशी तथा विदेशीको संख्या बढ्न थालेको अनुमान गरिएको छ।
सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत्र अन्तिमबाट जेठसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।