कुटपिट विरुद्धको निवेदन दर्ता नगरेको पीडितको आरोप
मुगु : निवेदन दिएको चारदिन बितिसक्दासमेत जिल्ला प्रहरी कार्यालय मुगुले दर्ता नगरेको पीडितले आरोप लगाएका छन्।
जिल्ला अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी हवलदारले कुटपिट गरेपछि अस्पतालमा कार्यरत ल्याव टेक्निसियन प्रकास भण्डारीले प्रहरीमा निवेदन दिएका थिए।
भदौ १४ गते राति साढे ९ बजे जिल्ला अस्पतालको कर्मचारी क्वार्टर अगाडि तीजको नाजगान गर्दै गर्दा प्रहरी हवल्दार शिवदत्त न्यौपानेले बिनाकारण आफूलाई कुटपिट गरेको उनले बताए।
अस्पतालमा कार्यरत महिला कर्मचारीले तिजको नाचगान गरिरहेको बेला प्रहरी हवलदार न्यौपानेले समय सकिएको भन्दै साउण्ड बक्स आफ्नो कोठामा लगेका थिए।
साउण्ड बक्स माग्न गएका नायब सुब्बा देबराज गिरीसँग विवाद भएको भन्ने सुनेको तर उक्त विवादमा आफू नभए पनि ड्युटी जाँदै गर्दा हवल्दार न्यौपानेले अस्पातल अगाडि आफूलाई बिना कारण कुटपिट गरेका उनले बताएका छन।
कुटपिटबाट उनको नाक र टाउकोमा चोट लागेको छ। 'आफू बिनाकारण कुटिएका कारण प्रहरीमा निवेदन दिएको हुँ यसको प्रक्रिया अगाडि बढाईदिन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपीलाई समेत अनुरोध गरेको भए पनि आफ्नो निवेदनमाथि कुनै सुनुवाइ भएको छैन।'
तीजको नाचगान गर्दा केही कर्मचारी र प्रहरी हवल्दार न्यौपानेबीच विवाद भएको हो। घटनापछि दुवै पक्षले प्रहरीमा निवेदन दिएका छन। दुवै पक्षलाई छलफलमा राखेर प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिएका हुन ।
निवेदनको सुनुवाई नभए राष्ट्रिय मानव अधिकार आयोगसम्म पुग्ने पीडित भण्डारीले बताएका छन्।