परीक्षण उडानमै सीमित सुनथराली विमानस्थल
कालीकोट : नरहरीनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ। २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। तर, २०४२ सालबाट निर्माण कार्य थालिएको यो विमानस्थलमा हालसम्म नियमित उडान हुन सकेको छैन।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विमानस्थल निर्माण आयोजना र निर्माण व्यवसायीको लापरबाहीका कारण ३७ वर्षसम्म पनि परीक्षण उडानमै सीमित भएको हो। परीक्षण उडान हुँदा स्थानीय नागरिकहरूले खुसीयाली मनाएका थिए। परीक्षण उडान भएको एक वर्षभित्र नियमित उडान गर्ने प्रतिबद्धता जनाएका तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही हाल कर्णालीको मुख्यमन्त्री छन्। परीक्षण उडान भएको वर्ष दिनमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा हालसम्म नियमित उडान भएको छैन।
हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेरबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ। आयोजनाका सुपरभाइजर गणेश बिष्टले भने, ‘विमानस्थलमा कालोपत्रे गर्ने काम बाँकी छ। वर्षायाम लागेसँगै लगातार पानी पर्दा काममा अवरोध भएको छ।’ २०७५ साल साउनमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नका लागि ठेक्का भएको थियो। स्याम एन्ड शंकर जेबीले ठेक्का लिएको छ। परीक्षण उडान हुँदा यहाँका नागरिकहरूमा खुसीको सीमा नै थिएन। तर, एकपटक पनि जहाज नफर्कंदा उनीहरू निराश छन्।
स्थानीय बिर्खा बुढाले भनिन्, ‘यो विमानस्थल बनाउँदा मैले छोरा गुमाएकी छु। छोराको रगत बगेको विमानस्थलमा अब जहाज उडेको देखेर मर्ने रहर छ।’ सुनथरालीमा परीक्षण उडान भएको ६ वर्ष बित्दा पनि विमानस्थल निर्माण कार्य पूरा नहुनु र नियमित उडान नहुनुले आफूहरूलाई पिरोलिरहेको छ। स्थानीय बीर्खबहादुर बिष्टले सुनथराली विमानस्थलबाट जहाज चड्ने सपना अधुरै रहेको बताए। उनले भने, ‘हामी युवा अवस्थाका थियौं। यहाँ विमानस्थल निर्माणको काम सुरु भएको थियो। म बुढो भइसकेँ तर यहाँ जहाज आउँदैनन्।’
विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस् थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालीकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाँउपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताए। उनले भने, ‘विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट दबाब दिँदै आएका छौँ। तर, विमानस्थल समयमा बनेन।’