‘म’ को मात

‘म’ को मात

आई अर्थात् म। वी अर्थात् हामी। यी दुई मानवीय भावनाहरू आआफ्ना ठाउँमा निकै शक्तिशाली छन्। निकै महत्त्वपूर्ण छन्। गहिरिएर सोच्ने हो भने म र हामी शब्दमा नै मानव समाजको सम्पूर्ण मनोविज्ञान टिकेको छ। मनोवैज्ञानिक दृष्टिमा म नकारात्मक मनोविज्ञान हो भने हामी सकारात्मक मनोविज्ञान हो। म रोग हो भने हामी निरोग हो। म दुःख र विनाश हो भने हामी सुख र समृद्धि हो। म नर्क हो भने हामी स्वर्ग हो।

मानव समाजको मनोविज्ञान यति सरल हँुदा पनि धेरै पढेलेखेका मानिसले समेत यो बुझ्न सकेका छैनन्। वा बुझेर पनि व्यवहारमा लागू गर्न सकेका छैनन्। उल्टो, धेरै पढेलेखेका र धनढ्य मानिसमा नै मको मात झनै बढी छ। पढेलेखेका मानिसमा पढाइको मात। धनी व्यक्तिमा धनको मात। बलशाली व्यक्तिमा बलको मात। सुन्दरताको मात। यौवनको मात। यही मातैमातका कारण मानिस अनेक समस्यामा पर्छन्। आफैं आफ्नो विनाश निम्त्याउँछन्। गीतामा श्रीकृष्णले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आसरी सम्पदा भनेका छन्। यिनै दुर्गुणले मानिसलाई अधोगतितर्फ लैजान्छ, मानिसको विनाश गर्छ भनेका छन्।

रावणकी पत्नी मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार बिन्ती गरेकी थिइन्। तर, रावणले पत्नीको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए। रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैन। रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो। रावणको पतन भयो। कृष्णाले धृतराष्ट्रको दरबारमा दुर्योधनको उपस्थितिमा पाडण्वको तर्फबाट सम्धिको प्रस्ताव राखेका थिए। यदि पाण्डवलाई पाँच गाउँ दिने हो भने युद्ध रोकिन्छ भनेका थिए। अहंकारी दुर्योधनले कृष्णाको प्रस्ताव ठाडै अस्वीकार गरे। नतिजा महाभारतको युद्ध भयो। कौरवको विनाश भयो।

म अर्थात् अहंकार यस्तो नकारात्मक मानवीय भावना हो, जसको कारण मानिसले आफूलाई जीवनको हरक्षेत्रमा उत्कृष्ट मान्न थाल्छन्। अरूलाई निचो देखाउने प्रयास गर्छन् र अरूलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्छन्। उचाइमा पुगेपछि अहंकार झनै बढ्छ। अनि मदोन्मत्त हुन्छन्। अहंकारको मातमा मानिसले अरूको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन्। अहंको कारण नै उसको पतन हुन्छ। त्यसबेला उसलाई साथ दिने कोही हँुदैनन्। यसरी मानिसको व्यक्तित्व नष्ट हुन्छ। अनेक मानसिक रोग यही अहंकारका कारण नै पैदा हन्छन्। अंहकारकै कारण मानिसले पाप तथा अपराध गर्छन्। अहंकारकै कारण जीवनमा दुःखद् घटनाहरू पैदा हुन्छन्। वास्तविकता के हो भने संसारमा हरेक व्यक्ति चाहे कति नै कमजोर वा खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ। मानिस जति नै शक्तिशाली वा असल किन नहोस्, उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ। भनिएकै छ, गुण नभएका राक्षस हुँदैनन्,अवगुण नभएका देउवा हुँदैनन्।

मानिसमा म अर्थात् अहं यसकारण पैदा भएको होइन कि उसले कुनै काम सानदार तरिकाबाट सम्पन्न गर्‍यो या धनी भयो वा धेरै पढ्यो वा बहुत सुन्दर भयो वा शरीरलाई बलवान् बनायो। जब मानिस पहिलो चोटि आमाको पेटमा खुट्टा चलाउन थालेको थियो, त्यतिखेरदेखि नै अहम्को जन्म भएको थियो। म छु भन्ने पहिचान बनाउनुको मतलव हो, अहम्को जन्म। त्यसैबेला नै मको जन्म भएको हो। म अर्थात् अहंकारको जन्म आत्मप्रशंसाको बिजबाट पैदा हुन्छ। स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ। तर, यो एक झुटो सत्य हो। त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो। जो मानिसले आफैं निर्माण गरेको हुन्छ। वास्तवमा अहम् मानिसको छायाँजस्तै हो। जस्तो कि शरीर छ भने छायाँ पनि हुन्छ। छायाँ न त राम्रो हुन्छ, न त नराम्रो। न सानो रहन्छ न ठूलो रहन्छ। यदि सूर्य माथि हुन्छ भने छायाँ सानो हुन्छ, सूर्य ढल्दै गयो भने छायाँ अग्लो हुन्छ।

अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भट्काउँछ। वास्तवमा अहंकार एक मृगतृष्णा जस्तै हो, जसबाट न त आफ्नो तिर्खा मेटिन्छ, न त अरूको। आफूलाई हरक्षेत्रमा पूर्ण मान्ने मानिसको अहंले आफ्नो कमजोरी तथा दोष छुपाउने कोसिस गर्छ। अहंकारी व्यक्तिले आफ्नो कमजोरी तथा दोष जानेर पनि अहंकारका कारण अरूको अगाडि स्वीकार गर्दैन। जो हमेशा अरूको निन्दामै लागिरहन्छ। निन्दामै उसलाई निकै आनन्द आउँछ। तर, ऊ मानसिक रोगहरू नाश गर्ने औषधि क्षमा, दया, करुणा, प्रेम, धैर्य, नम्रता, शान्ति र सादगीबाट हमेशा वञ्चित रहन्छ। परिवार, समाज तथा राष्ट्रमा यही अहंकारको कारण वादविवाद, झैझगडा, लडाइँ तथा युद्धसमेत हुन्छ। दुर्योधनले राज्यसत्ताको अहंकार नगरेर पाण्डवलाई पाँच गाउँ दिएको भए न त महाभारत हुन्थ्यो, न त कौरवको विनाश।

पारिवारिक वादविवाद, झैझगडा तथा लडाइँको एक प्रमुख कारण पनि यही अहंकार हो। पतिमा पुरुषत्वको अहंकार। पत्नीमा माइतीको अहंकार। बुहारीमा आधुनिकताको अहंकार। सासूमा सासू हँु भन्ने अहंकार। यिनै अहंकारका कारण घरघरमा कुनै न कुनै वादविवाद, झैझगडा तथा लडाइँ हुने गर्छ। मानिसले आफ्नो गल्ती हृदयदेखि स्वीकार गर्ने हो भने मात्र अहंकारको पुनरावृत्ति नहुन सक्छ। वास्तवमा क्षमा माग्ने र क्षमा दिने व्यक्ति परम मानसिक आनन्दको अनुभव गर्छन्। यहाँ मनन्योग्य कुरा के भने अहंकारको नास भएपछि मात्र विनम्रताको भावना पैदा हुन्छ। विनम्रताले ज्ञानको ज्योति जल्छ। ज्ञानको ज्योतिले अज्ञानको अँध्यारो नष्ट गर्छ। मानिसक रोग पनि निर्मूल हुन्छ। तर, मको नकारात्मक ऊर्जाले मदोन्मत्त मानिसले यो मनोविज्ञान बुझ्न सक्दैनन्। त्यसैले अहंकारको उपचार आवश्यक छ।

अतः सकारात्मक मनोविज्ञानले म होइन हामीलाई महत्त्व दिन्छ। महान् साहित्यकार तथा समाजसेवी हैलेन केलेर भनेकी छन्ए : एक्लै थोरै (कार्य) मात्र गर्न सक्छौं, आपसमा मिलेर धेरै (कार्य) गर्न सक्छौं। अतः स्वस्थ जीवन जिउन तथा जीवनमा कुनै महान् कार्य गर्न म होइन हामीको भावनालाई आत्मसात् गरौं। मानिसको जीवन निकै सुन्दर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.