कालिकोटमा मष्टो देवताका थानहरुमा मेला

कालिकोटमा मष्टो देवताका थानहरुमा मेला

कालिकोट :  कालिकोट मष्टो देवताहरुको आधार इलाका नै हो। यहाँ १२ भाइ मष्टाका मन्दीरहरु गाउँ-गाउँमा छन्। प्राय : मानिसहरु बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा पहिले देउता कहाँ जान्छन्। त्यसपछि अस्पताल, प्रहरी प्रशासन र न्यायलय जाने गर्छन्। परिवारको राम्रो कामका लागि होस् वा शुभ कार्यका लागि देवताको आशीर्वाद लिने गरिन्छ। देवता यहाँको लागि पहलो अस्पताल, पहिलो न्यायलय, पहिलो अभिभावकका रुपमा लिने गरिन्छ। 
  

यहाँ मष्टो धलपुरो, दाडे मष्टो, कामल्या मष्टो, सिमष्टो, खोदाई मष्टो, बज्यूमष्टो, कालासिल्लो, रमालमष्टो लगायतका १२ बटा मष्टो देवताहरु छन्। वर्षभरीमा माघ पूर्णिमा, जेठ पूर्णिमा, साउन पूर्णिमा र दशैंको समयमा जुहारे पैठ गरी चार पटक भव्य पाठ पूजा गरिन्छ। पूजाका अवसरमा भव्य मेलाहरु लाग्छन्। पैठमा गएर स्वच्छ मनले गरेको भाकल पूरा हुने धार्मिक विश्वास अहिले पनि कायमै छ। गाउँमा अन्यायमा परेकाहरुले देउताको भाकल गर्दा न्याय पाउने पनि विश्वास छ। देउता पुकारे कसैले पनि अन्याय गर्दैन् भन्ने विश्वास छ। 
      
जिल्लाको ग्रामिण समुदायका नागरिकहरुका स्थानीय देवी देउता नै न्यायधीश हुने गरेका छन्। कानुनको पहुँचमा सहजै नपुग्ने स्थानीय विपन्न नागरिकहरुका लागि न्याय दिने माध्याम नै देउता हुन्। स्थानीय नागरिकहरु जग्गा सम्बन्धि विवाद, आर्थिक लेनदेन, चोरी ठगीका घटना, बिरामी पर्दा तथा घरायसी झै झगडाहरुमा देउताका धामीलाई बसालेर न्याय माग्ने गर्छन्। देउताका झाँक्रीले दिएको आदेश सबैले मान्छन् पनि। पचालझरना ८ स्थित बज्युका धामी नयरुप संज्यालले भने, 'मानिसहरु आफ्नो हरेक समस्यामा आफूहरुलाई सम्झिन्छन्। हामी अवस्था अनुसार उनीहरुलाई सल्लाह सुझाव दिन्छौँ। रोग लागेर बिरामी परेको मान्छे हामीहरुसँग आएमा अस्पताल जाने सुझाव दिन्छौँ।' पछिल्लो समय धामीहरुले पनि बिरामी हेर्दा अस्पताल लैजा भनेर बाटो सिकाउँछन्। पहिले झारफुक गराउने धामीले नै अहिले अस्पताल लान भन्दा नागरिकहरु बिरामी हुँदा अस्पताल जान उत्साही हुन्छन्। यसले स्वास्थ्य सेवामा पनि नागरिकको विश्वास बढाउन सहयोग पुगेको छ। 
     
देवी देउताको पूजाले दुखी बिरामी निको हुने, भुत लागेको छोड्ने, पारिवारीक सुख शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने विश्वास रहेको खाँडाचक्र नगरपालिका वडा नं. ३ का मष्टो धलपुराका गुठियार धनप्रसाद पाण्डेले बताए। उनले भने, 'पहिलेको तुलनामा अहिले देवी देउता प्रति मानिसहरुको लगाव घट्दै गएको छ। तर विश्वास कमी छैन। पहिले पहिले सुरुमा पाकेको बाली र सुरुमा फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवी देउताको भरोषामा गरिथ्यो।' 
    
मष्टो धलपुराको मन्दीर जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ३ ताडीको डाँडामा छ। हरेक वर्ष साउन पूर्णीमाको चतुर्दसीका दिन रतेडी र पञ्चमीका दिन दिउँसेडी गरेर धामी काँप्ने, पाठ पूजा गर्ने, देउडा खेल्ने गरी भव्य रुपमा मेला लाग्ने गरेको छ। पाण्डेले भने, 'मष्टो धलपुरो खसानहरुको मुल देवता हो। खस आरेहरु जहाँ भए पनि मष्टो धलपुरो नमान्ने कोही छैनन्। मष्टो देवता खसहरुको पुर्ख्यौली कुलदेवता पनि हो। खसहरुको परम्परा नै मष्टो धलपुरो देवतासँग जोडिएको छ। कर्णाली खस राज्य भएकाले कर्णालीमा मष्टो देवता प्राय सबैले मान्ने गरेका छन्। मष्टो धलपुरो पूजाको समयमा एकदशिका दिनदेखी ब्रत बसेर स्वच्छ मनले जे माग्यो त्यही पाईन्छ। जे सोच्यो त्यही पुग्छ।'
    
देवीदेवताको विश्वासले नै हरेक देवताको पैठमा खुटो धजा, फुल चामल लिएर मानिसहरु पूजामा सहभागी हुन्छन्। बाजेका पालादेखि मानिआएको हाम्रो संस्कृति र परम्पराको निरन्तरता दिन र कुल नबिग्रियोस भनेर देवी देवताको पूजा गर्ने गरिएको स्थानिय बिरबल बुढाले बताए। साउन पूर्णिमाको दिनदेखि नै जिल्लाका ९ वटै पालिकामा रहेका मष्टो देवताका थानहरुमा मेला लागेका छन्। जिल्ला बाहिर बसोबास गर्दै आएका नागरिकहरु पनि कुल देवता पुज्नका लागि गाउँ फर्किएका छन्। देवताको पैठलाई आफन्तहरुको भेटघाट र परिवारको सफलतासँग पनि जोड्ने गरिएको छ।

 कालिकोटको ताडीमा मष्टो धलपुरोको मन्दीरमा धामी । तस्बिर : बिस्नप्रसाद न्यौपाने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.