दयालु रानी अर्थात् एलिजाबेथ

दयालु रानी अर्थात् एलिजाबेथ

बेलायती महारानी एलिजाबेथ द्वितीयालाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले ‘एक दयालु रानी’को संज्ञा दिएका छन्। महारानीको तीक्ष्णता, करुणाभाव र उदारताबाट आफू मन्त्रमुग्ध भएको अभिव्यक्ति अमेरिकी राष्ट्रपति जो बाइडेनको छ। द नेदरल्यान्डस्का राजा विलियम अलेक्जेन्डरले उनीप्रति गहिरो सम्मान प्रकट गरे भने बेल्जियमका राजा फिलिपले एलिजाबेथलाई असाधारण व्यक्तित्वको रूपमा श्रद्धाभाव प्रकट गरेका छन्।

बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले महारानी विश्वमा आफूले हालसम्म चिनेका महान् नेतामध्ये एक भएको प्रतिक्रिया दिएकी छन्। लन्डनमा संसद्को विशेष सत्रमा प्रधानमन्त्री ट्रससहित सांसदहरूले १० घण्टासम्म महारानी एलिजाबेथलाई श्रद्धाञ्जलि दिएका छन्। एलिजाबेथ सन् १९२६ अप्रिल २१ मा शाही परिवारमा जन्मेकी थिइन्। तर पुर्खाले राज गर्दै आएको शासन कुनै दिन आफूले सम्हाल्नेछु भन्ने उनमा आस थिएन।

राजकुमारी एलिजाबेथ अलेक्ज्यान्ड्रा मेरी परिवारमा लिलिबेट भनेर चिनिन्थिन्। उनी आफ्नो ठूलोबुवा र बुवापछि सिंहासनमा राज गर्ने तेस्रो हकदारका रूपमा रहेकी थिइन्। तर, कसैले कल्पना पनि नगरेको एक निन्दनीय शाही प्रेम–सम्बन्धले लिलिबेटको जीवनमा मार्ग परिवर्तन गर्‍यो। उनलाई संयुक्त अधिराज्यमा सबैभन्दा लामो समयावधिसम्म राज गर्ने महारानी बन्न मार्ग प्रशस्त गर्‍यो। यसैले उनी विश्वको सबैभन्दा चर्चित महिला पनि बन्न पुगिन्।

औद्योगिक युगदेखि इन्टरनेट युगसम्म

एलिजाबेथको शासन औद्योगिक युगदेखि इन्टरनेट युगसम्म चलेको थियो। ७० वर्षको शासनकालमा उनले ऐतिहासिक पुस्ताहरू र विश्वव्यापी नेताहरूलाई भेटिन्। प्रायः पुरुष रहेका ती व्यक्तित्वसँगको भेटघाटले बेलायती साम्राज्यलाई बहुसांस्कृतिक राष्ट्रको रूपमा अगाडि बढाउन उनलाई मद्दत गर्‍यो। एक जवान रानीदेखि राष्ट्रकी हजुरआमासम्म बनेर उनी दशकौं दशकसम्म पनि मुस्कुराइरहिन्। स्वर्गीय राजकुमारी डायनको शोक र पारिवारिक उतारचढाबका बाबजुत पनि उनले शासन अवधिभर सबैलाई हात हल्लाएर, हात मिलाएर र धेरै प्रशंसकसँग कुराकानी गरेर बिताइन्। उनको शीतल स्वभाव र हँसिलोपनाले उनलाई बेलायती जनतामाझ अत्यधिक लोकप्रिय बनायो।

महारानी एलिजाबेथ द्वितीयाले १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरिन्। त्यसको २५ वर्षपछि सन् १९८६ मा उनी पुनः दोस्रोपटक नेपाल आइन्। 

बेलायती जनतामात्र नभएर विश्वमाझ नै लोकप्रिय रहेकी महारानी एलिजाबेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा स्कटल्यान्डको बालमोरल क्यासलमा निधन भएको छ। उनको निधनले बेलायतबाहेक अन्य १४ स्वतन्त्र राज्यले आफ्नो प्रमुख गुमाएका छन्। इतिहासमा कुनै कालखण्डमा बेलायती शासनको अधिनमा रहेका यी राज्यले स्वतन्त्रतापछि पनि बेलायती महारानीलाई नै राज्य प्रमुखमा निरन्तरता दिएका छन्। महारानीको निधनपछि उनका जेठो छोरा चाल्र्स अब बेलायतको साथै यी राज्यका प्रमुख बन्नेछन्।

यसरी हात पर्‍यो राजगद्दी

दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा, उनका ठूलोबुवा राजा एडवार्ड आठौंले सन् १९३६ मा सम्बन्ध–विच्छेद गरिसकेकी एक अमेरिकी, वालिस सिम्पसनसँग विवाहको प्रस्ताव राखे। उनले राज्याभिषेक हुनुअघि प्रेमिका वालिससँग बिहे गर्ने घोषणा गरे। त्यतिबेलासम्म बेलायतका राजाले बेलायती र युरोपेली अभिजात्य वर्गसँग मात्र बिहे गर्ने चलन थियो। त्यसैले उनले प्रेमिकालाई रोज्दै सिंहासन त्यागे। त्यसपछि मात्रै उनका भाइ जर्ज अल्बर्ट राजा बने।

बुवा राजा जर्ज छैटौं बनेपछि मात्र यसले एलिजाबेथलाई राजगद्दीको प्रत्यक्ष उत्तराधिकारी बनायो। सन् १९५२ मा उनका बुवाको ५६ वर्षको उमेरमा अचानक मृत्यु भयो। त्यसपछि एलिजाबेथले राजगद्दी हासिल गरेकी थिइन्। त्यतिबेला उनी २५ वर्षकी मात्र थिइन्। बेलायतमा सुरुदेखि अन्त्यसम्म टेलिभिजनमा प्रसारण हुने राज्याभिषेक उनको पहिलो थियो। त्यसपछिको शासनकालको ७० वर्षे अवधिमा उनले १५ बेलायती प्रधानमन्त्रीसँग काम गरिन्। लिन्डन जोन्सनबाहेक महारानीको रूपमा रहँदा उनले हरेक अमेरिकी राष्ट्रपतिलाई भेटेकी छन्। 

एलिजाबेथले विशाल सांस्कृतिक र राजनीतिक परिवर्तनको पृष्ठभूमिमा शासन गरिन्। बेलायती साम्राज्यको अन्त्यको युगदेखि विश्वव्यापीकरण र मल्टिमिडिया युगको आरम्भसम्म उनी निरन्तर सिंहासनमा रहिन्। यस अवधिमा, उनी र उनको परिवारले अभूतपूर्व सार्वजनिक ख्याति पनि कमायो। तर, यही अवधिमा यदाकदा भने यो परिवारले मिडियासँगको सम्बन्ध बिग्रिएको पनि अनुभव गर्‍यो।

पुस्तक र पर्दामा एलिजाबेथ

एलिजाबेथले राजतन्त्रप्रतिको लगाव स्वदेश र विदेशमा घट्दै गएको देखिन्। उनले परिवर्तनशील संसारमा आफ्नो मुकुटलाई टिकाइराख्न अथक प्रयास गरिन्। धेरैका लागि अनन्त आकर्षणको स्रोतका रूपमा उनी ‘द क्राउन’, ‘द क्विन’, र ‘द रोयल हाउस अफ विन्डसर’ लगायतका चलचित्र, नाटक र टीभी शृंखलाहरूको विषय बनेकी छन्। उनको जीवन, परिवार र विश्वसँग उनको निकटताका विषयमा बुझ्न सजिलो पार्ने धेरै पुस्तक लेखिएका छन्।

महारानी एलिजाबेथ द्वितीयाले छोडेका धेरै विरासतमध्ये पहिरनले कसरी राष्ट्रलाई एकताबद्ध गराउँछ भन्ने दृष्टान्त पनि छ। 

स्याली बेडेल स्मिथको ‘एलिजाबेथ द क्विन: द लाइफ अफ अ मोडर्न मोनार्क’, रोबर्ट हार्डम्यानको ‘क्विन आफ द वल्र्ड: द ग्लोबल बायोग्राफी’, टीना ब्राउनको इन्ग्रिड सेवार्डको ‘द क्विन्स स्पिच: एन इन्टिमेट पोट्रेट अफ द क्विन इन् हर वन वर्ड्स’लगायत पुस्तकले विश्वमाझ अझै लोकप्रिय बनाउन सहयोग पुर्‍याएको छ। ‘उनले आफ्नो शासनकालमा मानिसलाई आफू देशको उद्देश्य र आत्मा हो भनी महसुस गराउन सफल भएकी छिन्’, द लास्ट क्विन: हाउ क्विन एलिजाबेथ सेकेन्ड सेभ्ड द मोनार्की’का लेखक क्लिभ इरभिङ भन्छिन्, ‘उनी मातृत्वको अनुभूति दिन्छिन्। उनी शीर्ष स्थानमा रहेका सुरक्षित हातहरू हुन्। उनले गरेजस्तै अरू कसैले पनि यो अनुभूत गराउन सकेको छैन।’

एलिजाबेथ द्वितीयाको फेसन विरासत

महारानी एलिजाबेथ द्वितीयाले छोडेका धेरै विरासतमध्ये पहिरनले कसरी राष्ट्रलाई एकताबद्ध गराउँछ भन्ने दृष्टान्त पनि एक हो। पहिले एलिजाबेथका बुवा राजा जर्ज छैठौंले फेसनले कसरी असल छवि निर्माणमा प्रभाव पार्छ भन्ने सिकाएका थिए। उनका दाइ एडवर्ड आठौंले दुईपटक सम्बन्धविच्छेद गरिसकेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्याग गरे। त्यसपछि सार्वजनिक विश्वास पुनः प्राप्त गर्ने लक्ष्यका साथ उनले फेसन डिजाइनर नर्मन हार्टनेललाई दरबार बोलाए।

हार्टनेल डिजाइनका पोसाकहरू बोकेर बकिंघम दरबारमा आए। त्यतिबेला सिम्पसनले भर्खरै फेसन चलेको पोसाक लगाएकी थिइन्। हार्टनेलले एलिजाबेथको राज्याभिषेक गाउनका लागि नौवटा फरक डिजाइन पेस गरेका थिए। त्यतिबेला जवान एलिजाबेथले आठौं डिजाइन छानेकी थिइन्। इम्ब्रोइडरी गरिएको बोर्डर भएको उक्त गाउनमा सुन, हीरा र मोती जडित थियो। यसरी आफ्नो पहिरनको जादुमार्फत रानी एलिजाबेथले जनता, प्रशंसक र श्रोतालाई विश्वसनीयता र स्थिरताको सन्देश दिने मौका कहिल्यै गुमाइनन्।

गोर्खालीप्रतिको महारानीको मोह

महारानी एलिजाबेथ द्वितीयाले १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरिन्। त्यसको २५ वर्षपछि सन् १९८६ मा उनी पुनः दोस्रोपटक नेपाल आइन्। विश्वयुद्धमा सेवा पुर्‍याएका ब्रिटिस गोर्खाली योद्धाहरूसँगको भेटघाट महारानीको नेपाल भ्रमणको मुख्य आकर्षण थियो। विगत दुई शताब्दीभन्दा लामो अवधिदेखि गोर्खालीले बेलायतका लागि लडे। कतिपयले युद्धमा ज्यान पनि गुमाए। करिब दुई लाखभन्दा बढी नेपाली सेनाले विश्वयुद्धमा बेलायती सेनाका तर्फबाट लडेको तथ्यांक छ। यिनै कारणले पनि महारानी एलिजाबेथ, राजकुमार ह्यारीलगायतले गोर्खालीको वीरताको प्रशंसा गरेको पाइन्छ। बेलायती राजकुमार ह्यारी सन् २००७ देखि २००८ सम्म अफगानिस्तानमा रहँदा उनले द रोयल गोर्खा राइफलको पहिलो बटालियनमा रहेर सेवा पुर्‍याए।

‘गोर्खासँग छु भन्ने यदि तिमीलाई थाहा छ भने मलाई लाग्छ कि त्योभन्दा सुरक्षित ठाउँ अन्त कतै छैन’, त्यतिबेलाको उनको यो भनाइ निकै चर्चित बनेको थियो। बेलायतमा हुने कुनै पनि औपचारिक कार्यक्रममा दुईजना गोर्खाली सैनिक महारानीको दायाँबायाँ हुनुपर्ने व्यवस्था उनले पुनः सुरु गरेकी थिइन्। यसले उनको गोर्खालीप्रतिको विश्वासलाई प्रष्ट्याउँछ। गोर्खालीले बेलायती सेनामा सेवा गरेको दुई सय वर्ष पूरा भएको उपलक्ष्यमा सन् २०१५ मा लन्डनमा सम्पन्न जी–२०० समारोहमा महारानी सहभागी भइन्।

गोर्खा कल्याण कोषका अनुसार गोर्खा राइफलको दसौं बटालियनलाई राजकुमारी म्यारीको नाममा नामकरण गर्ने विषयलाई पनि राजपरिवारले समर्थन गरेको थियो। म्यारीले दोस्रो विश्वयुद्धमा पुर्‍याएको योगदानको कदरस्वरूप सन् १९४९ देखि गोर्खा राइफल उनको नाममा नामकरण गरिएको हो। गोर्खाली सेनासँगको लगावकै कारण राजकुमार ह्यारीले आफ्नो विवाहमा केही गोर्खा सैनिक अधिकारीलाई पनि निम्तो दिएका थिए।
(एजेन्सीको सहयोगमा) 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.