२०० रुपैयाँबाट कृषि, आम्दानीले करोडपति

२०० रुपैयाँबाट कृषि, आम्दानीले करोडपति

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका— ४ सल्लेका ५५ वर्षीय टेकबहादुर पाठककोे पढ्ने उमेरमा विद्यालय टाढा थियो। ३ घण्टा पैदलयात्रामा मात्रै पुगिने माध्यमिक विद्यालय लाफागाउँ जान सकेनन्। बाटोमा पर्ने जंगल र जनावरको बिगबिगीले पढ्ने उमेर घरमै बित्यो। अध्ययन गर्ने जीवनको एउटा खण्ड घरगृहस्थीमै बित्यो। पढ्ने चाहना भएर पनि पूरा भएन। तर, कृषि कर्मबाटै अहिले उनी करोडपति बनेका छन्। उदाहरणीय पात्रका रूपमा चिनिन्छन्। 

बुवासँग ६० रुपैयाँ सापटी मागेर भौंतारिँदै जन्मथलो लाफागाउँ छोडेर २०४६ सालमा सल्ले आइपुगेका थिए उनी। त्यतिबेला खोटाङका स्थानीय मुर्कचीबजारबाट खाद्यान्न लिन भारी बोकेर जान्थे। भारी बोक्ने मजदुरलाई बाटोमा भेटिने घरबाट स्वागत गर्दै खाना पकाएर खुवाउँथे पाठक। तर, उनको चाहना त्यो थिएन। विकल्प नभएपछि खाना पकाएर बस्न बाध्य भए। कृषिमा नै केही गर्न सकिन्ने भन्ने उनमा विश्वास थियो। उनी भन्छन्, ‘होटल गर्ने चाहना पटक्कै थिएन बाध्यताले गरें, त्यहीँ क्रममा श्रीमतीलाई होटलमा थप जिम्मेवारी सुम्पँदै फलफूल खेतीका लागि नर्सरी सुरु गरें। 
सुरुमा  विरुवा पाउनै गाह्रो भयो। पछि सबैको साथ सहयोगले बिरुवा पाएँ। खाली ऐलानी पाखाबारीमा नर्सरी सुरु गरें,’ उनले भने। 

फलफूल खेतीमा मेरा इच्छाशक्ति देखेर हुरेन्डेक, एमडीआई, पेसोक, नेस्पेक संस्थाले विभिन्न ठाउँको भ्रमण, तालिम र बीउबीजन उपलब्ध गराएपछि आफू पूर्णरूपमा नर्सरीतर्फ अग्रसर भएको उनी बताउँछन्। २०४८ सालबाट नर्सरी सुरु गरे पनि २०६० सालमा वैधानिकरूपमा कोलबारी सुन्तला जात तथा फलफूल नर्सरीको नामकरण गरी फर्म दर्ता गरेको पाठक बताउँछन्। 

६० रुपैयाँले होटल र दुई सय रुपैयाँबाट नर्सरी खेती सुरु गरेका पाठकसँग अहिले करोडभन्दा बढीको सम्पत्ति छ। नर्सरीबाटै उनले सदरमुकाम गाईघाटमा करिब ६० लाख मूल्यको जग्गा किनेका छन्। सल्लेमा करिब २० लाख मूल्यको घर छ। जति आम्दानीको स्रोत बढ्दै गयो उत्तिनै लगानी बढाउँदै गएको पाठक बताउँछन्। 

१५ रोपनी ऐलानी जग्गाबाट सुरु गरेको नर्सरी खेती अहिले ४० रोपनी निजी र ७ रोपनी जग्गा लिजमा लिएर व्यवसाय गर्दै आएका छन्। ‘दुई सय रुपैयाँबाट नर्सरी खेती सुरु गर्दा धेरैले जिस्क्याए,’ उनी भन्छन्, यति पैसाबाट के गरेको पाठकले भनेर गिल्ला गरे। तर, उद्देश्यबाट रत्तिभर विचलित थिइनँ।’ प्रायः कसैले विश्वास गरेनन् अन्ततः त्यहीँ दुई सय रुपैयाँको व्यापारबाट करोडपति बनेको उदाहरण पाठकले समाजमा स्थापित गरेका छन्।

उनी भन्छन्, ‘म भाग्य र कर्ममा विश्वास गर्ने मान्छे हुँ।’ ‘धेरैले नपढेको मान्छेले पैसा कमाउन सक्ला र ? अनि अध्ययनबिना व्यापार व्यवसाय हुन्छ र ? भन्ने प्रश्न बारम्बार उठ्ने गर्दथ्यो। तर, त्यसको सबालजबाफ कहिले गरिन बरु व्यापारमा निरन्तर खटिरहें।’ थप्छन्, ‘सबै काम पढेर मात्र गर्न सकिन्छ भन्ने हैन, कतिपय यस्ता पनि हुन्छन् जुन देखाइ, भोगाइ र व्यावहारिक ज्ञानबाट प्राप्त हुन्छ।’

पाठक भन्छन्, ‘बाबुबाजेले नपढी नै सयौं रोपनी जमिनमा खेती गर्थेे, त्यहीँ त गर्न सकिनँ तर त्यहीँ अनुभव बटुलेर नयाँ प्रविधिसँग रमाउँदै कृषि क्षेत्रमा हात हालेको छु।’ ‘अध्ययन नगरे पनि मेहनत गर्न सके सोचेको परिणाम ल्याउन सकिन्छ भन्ने मलाई विश्वास थियो,’ उनले भने, ‘त्यसैले केही गरौं भन्ने भावना जागेकै कारण यो क्षेत्रमा हात हाल्न पुगें।’

  •     श्रीमतीलाई होटलमा थप जिम्मेवारी सुम्पँदै फलफूल खेतीका लागि नर्सरी सुरु गरें। सुरुमा विरुवा पाउनै गाह्रो भयो। पछि सबैको साथ मिल्यो।
  •     २०४८ सालबाट नर्सरी सुरु गरे पनि २०६० सालमा वैधानिकरूपमा कोलबारी सुन्तला जात तथा फलफूल नर्सरीको नामकरण गरी फर्म दर्ता गरे।
  •     खेती सुरु गरेको ६÷७ वर्षसम्म त फलफूलबाट खासै आम्दानी भएन। तर, १० वर्षयता भने वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ।

नपढेको मान्छे पनि मेहनेत गरे पढे, लेखेकाका लागि उदाहरण बन्न सकिन्छ भन्ने पाठकलाई लाग्यो। उदाहरण बन्न मात्रै होइन, केही गरौं भन्ने लाग्यो। ‘क’समेत नचिनेका पाठकले १५ रोपनी जग्गामा फलफूलको नर्सरी सुरु गरे। मुख्यतः सुन्तला खेतीका लागि नर्सरी सुरु गरेका उनले नमुनाका लागि स्याउ, अनार, अंगुर नास्पाती, कागती, किबी, लिची, आँप, तेजपत्ता र रुद्राक्ष खेती पनि सँगै लगाए। 
‘सुरुमा त सुन्तला मात्रै खेती गर्ने सोचमा थिएँ,’ टेकबहादुरले भने, ‘तर खेती नै गर्ने भएपछि किन सुन्तला मात्रै गर्नु भन्ने लाग्यो र स्याउ, अनार, अंगुर नास्पाती, रुद्राक्ष र कागतीको खेती पनि सुरु गरेँ।’ सुरुका केही वर्ष फलफूलले आम्दानी नदिने भएकोले खर्च धान्नका लागि टमाटर, काउली, धनियाँ, चुच्चेकरेलाजस्ता तरकारीको खेती गरेको उनले सुनाए।

‘खेती सुरु गरेको ६÷७ वर्षसम्म त फलफूलबाट खासै आम्दानी भएन,’ पाठकले भने, ‘तर १० वर्षयता भने वार्षिक १५ लाख रुपैयाँ आम्दानी हँुदै आएको छ।’ थप जग्गा व्यवस्थापन गर्न सके वार्षिक २० लाखसम्म आम्दानी लिन सक्ने उनको अनुमान छ। रौतामाई गाउँपालिकाको वडानं ४ र ५ जिल्लाकै सुन्तला उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ। यो क्षेत्र सुन्तला पकेट क्षेत्र भएकाले प्रधानमन्त्री सुन्तला जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ। जोन कार्यालयले समेत प्राविधिक र आर्थिकरूपले केही सहयोग गरेको उनी बताउँछन्। 

जोन कार्यक्रम सञ्चालन भएकाले पाठकले सुन्तलाको नर्सरी र उत्पादन दुवैलाई प्राथमिकतामा राखेका छन्। फलफूलभन्दा नर्सरीबाट आम्दानी बढी हुने भएकोले सुन्तलाको नर्सरी सुरु गरेको उनले बताए। पाठकको नर्सरीमा अहिले फल दिने २ सय ५० गाछी र ८ हजार सुन्तलाको बिरुवा तयार छन्। प्रतिगोटा एक सय रुपैयाँका दरले बिक्री गरिने सुन्तलाको बिरुवाबाट ८ लाख रुपैयाँ आम्दानी हुने पाठकको अनुमान छ। 

त्यसैगरी कागती फलका लागि २ सय र बिरुवाका लागि २ हजार, अम्लिसो १ हजार उत्पादन र १ हजार ५ सय बिरुवा लगाएको उनले बताए। त्यस्तै रुद्राक्ष एक सय वटा बिरुवा फलका लागि लगाइएको र बिरुवा ५ सय, स्याउ फल ५० र बिरुवा १ सय, आँप बिरुवा २ सय, लिची ५ सय, अनार ५ सय, अंगुर १ सय आरु १ सय ५०, बुद्धचित्र २ सय, किबी १ हजार, निबुवा ५ सय, तेजपत्ता १ हजार र अलैंची ३ सय झ्याङ बिरुवा रोपेको उनले बताए। 

‘सुरु–सुरुमा बिरुवा उत्पादनसमेत गर्न आउँदैनथियो,’ पाठकले भने, ‘तर सामान्य तालिम लिएपछि अहिले बिरुवा उत्पादन मात्रै होइन, सुन्तलाको बोटमा कागती, कागतीको बोटमा सुन्तला वा दुवै एउटै बोटमा समेत फलाउन सक्छु।’ नर्सरी व्यवस्थापनको तालिम लिएपछि ज्ञान बढ्नुका साथै फलफूल खेती गर्ने सीपको समेत विकास भएको उनले बताए।

बिरुवा हेरी प्रतिगोटा एक सयभन्दा माथि बिक्री हुने गरेको उनको भनाइ छ। छिमेकी कृष्ण खत्री भन्छन्, ‘पाठक गाउँपालिकामा नमुना कृषक नै हुन्, मेहनत पनि उत्तिकै गर्छन्।’ व्यावसायिक रूपले नर्सरी खेती गर्दै आएका पाठकलाई सम्मानको खाँचो रहेको उनले बताए। खोटाङ र उदयपुर जिल्ला उनको नर्सरी खेतीको मुख्य व्यापारिक केन्द्र हुन्। २०६० सालमा विभिन्न संघसंस्थाले पाल्पा, लुम्ले, धनकुटा, पाख्रिबासलगायतका ठाउँमा अवलोकनका लागि लगेपछि पेसामा लाग्न थप हौसला भएको उनी बताउँछन्। 

तर, व्यवसायलाई दिगोपना बनाउनका लागि कृषि विकास बैंकमा ऋण माग्दासमेत नदिएको उनको गुनासो छ। ‘१५ लाख ऋण मागेको, सुरुमा दिन्छु भनेर आश्वासन दिए,’ पाठकले भने, ‘अन्तिममा ठाउँ टाढा त्यो पनि भिरालो जग्गा रहेछ भनी दिएनन्।’ फलफूल खेती गरेर दीर्घकालीन रूपमा आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने विश्वासले खेती गरेको पाठकले बताए। 

दिगो आर्थिक विकासका लागि फलफूल खेती गरौं भन्दै अन्य किसानलाई पनि सम्झाउँदै आएको छु,’ उनले भने, ‘त्यसैले अहिले धेरै किसान साथीले सुन्तला, जुनार, नास्पाती र स्याउको खेती गरिरहेका छन्।’ अन्य किसान आफूले देखाएको बाटोमा लागेको देख्दा ज्यादै खुसी लागेको उनलेबवताए। पाठकको मेहनतलाई गाउँपालिका, कृषि ज्ञान केन्द्र, वल्र्डभिजन इन्टरनेसनल नेपाललगायतले पछिल्लो समय सहयोग गरेका छन्।
दुई छोरा, एक छोरी र पत्नीको सहयोगमा उनी व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। नर्सरीबाटै छोराछोरी पढाउन र जग्गाजमिन जोड्न सफल भएको उनी बताउँछन्। रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले कृषकलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम ल्याइने बताए। उनले गाउँपालिकाको वडानं ४ र ५ क्षेत्रलाई सुन्तला जोनको रूपमा विकास गर्ने गरी प्रधानमन्त्री सुन्तला जोन कार्यक्रम सञ्चालन भइरहेकाले किसानलाई थप ऊर्जा मिलेको बताए।

पालिकाले पनि सुन्तला उत्पादनमा जोड दिँदै आएकाले वास्तविक किसानलाई अनुदान, प्रोत्साहनलगायतका सहयोग कार्यक्रम ल्याइने बताए। ‘हामी सानाभन्दा साना किसानलाई प्रोत्साहन गर्न चाहन्छौं,’ उनले भने, ‘कृषि पेसालाई बलियो र समृद्ध बनाउने आधार भनेकै साना किसान लगानी कार्यक्रम हो, त्यसैले पालिकाले नीति बनाएर अघि बढ्छ।’

त्यसो त पाठकजस्तै उदयपुरको कटारी नगरपालिका—४ का बिनु लामा र शंकर तामाङको जोडी पनि नर्सरी खेतीतर्फ आकर्षित छन्। चार वर्षअघि १० हजार रुपैयाँबाट बसपार्क छेउमा सुरु गरेको फलफूलको नर्सरीबाट लामा जोडी खर्च कटाएर वार्षिक ६ लाख सहजै कमाउन थालेको बताउँछन्। 

शंकर भन्छन्, ‘मासिक ५० हजार कमाउनैका लागि प्रचण्ड घाम र वैदेशिक रोजगार जानु परेको छैन। प्लास्टिक टनेलाभित्रको शीतलतामा रमाउँदै काम गर्दै स्वदेशमै कमाएको छु।’ त्यसैबाट उनीहरूको पाँच जनाको परिवार र दुई जना ज्यालादारी कर्मचारी पालिँदै आएका छन्। वैदेशिक रोजगार जाने उमेरमा शंकरले श्रीमती बिनुको आग्रहमा फलफूल नर्सरी व्यवसाय सुरु गरेका हुन्। 
सुरुसुरुमा बिक्री नहुने हो कि भन्नेमा शंका लागेर कुनै पनि निकायमा दर्ता नै नगरी चलाएको उनी बताउँछन्। ‘हिम्मतका साथ सुरु गरेको व्यापार सबैको साथ सहयोगले खासै समस्या आएन,’ उनी भन्छन् ‘त्यो १० हजार लगानी डुबेको भए केही सोच्नै पर्दथ्यो होला, तर मेरो भाग्यमा यहीँ व्यापार लेखेको रहेछ प्रतिफल राम्रो दियो।’

श्रीमती बिनु भन्छिन्, ‘विदेश गए पनि यहीँ हो कमाउने, वरु स्वदेशमै थोरै कमाउ परिवारसँग बसौँ भन्ने मेरो सोचाइ रह्यो अन्ततः श्रीमान्ले समेत साथ दिनुभयो।’ श्रीमान्भन्दा पनि आफ्नै योजनाले नर्सरी खेती सुरु गरेको उनी बताउँछिन्। ‘वलिभ नर्सरी’को नाम दिइएको उनीहरूको नर्सरीमा अहिले स्वदेशी र विदेशी गरी एक सयभन्दा बढी प्रजातिका बोटबिरुवा रहेका छन्।

उनीहरूको व्यवसाय प्रवद्र्धनका लागि पछिल्लो समय कृषि ज्ञान केन्द्र उदयपुर र कटारी नगरपालिकाले साथ दिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरी भन्छन्, ‘उदयपुर कृषि क्षेत्रका लागि उर्वर ठाउँ हो, मात्र मेहनत र लगनशीलताको खाँचो छ।’

पछिल्लो समयमा किसानले उल्लेख्य प्रगति गरेको बताउँदै उनले वास्तविक किसानको पहिचान गरी ज्ञान केन्द्रले गरेको सानो सहयोगले राम्रो प्रगति भएको बताए। उनले स्थानीय सरकारले कम्तीमा आफ्नो क्षेत्रमा साना किसानलाई लक्षित गरी किसानमुखी कार्यक्रम ल्याउन सके साँच्चिनै कृषि क्रान्ति हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.