मिटरब्याजी पीडितहरूको एक रात : न्यायको आस, टनेलको बास
बल्खु नदी। वारि कीर्तिपुर पारि चन्द्रागिरि। चन्द्रागिरितर्फको किनारैकिनारमा छ, तरकारी खेतीको टनेल। सेतो प्लास्टिकले छोपिएको त्यही टनेलभित्र आजभोलि रात कटाइरहेका छन्, मिटरब्याज पीडित। साहुले ‘घर खेत सबै खोसिदिए’ पछि न्यायका लागि राजधानी आएका पीडितका संघर्षका व्यथा कम्ती पीडादायी छैनन्।
भदौ २६ को राति पंक्तिकार टनेलमा पुग्दा त्यहाँ देखेको कथा र व्यथा : लगातार पानी परिरहेको छ। रात छिप्पिँदै जाँदा पानीले भुइँ भिज्दै छ। भुइँमा त्रिपालमाथि एकसरो म्याट ओ्याएर एक सय बढी पीडितहरू रात कटाउने कोसिस गरिरहेका छन्। कोही पोको पुन्तुरोको सिरानी बनाएर पल्टेका छन्। कोही त्यत्तिकै सुतेका छन्। कसैसँग ओढ्ने छैन, कसैलाई ओछ्याउनेकै अभाव। निदाउने प्रयास गर्दा मच्छरको ‘जुलुस’ लाग्छ। मच्छरले पनि सुत्न दिए पो त ! कैयौं दिनदेखि यस्तै अनिँदो संघर्षमा छन् नवलपरासीका बाबुराम हरिजन। ५७ वर्ष टेकेका उनले जीवनमा पहिलोपटक यस्तो दुःख भोगेको बताए। पीडितहरूको खाने, बस्ने ठेगान छैन। तर, पनि न्याय नपाए घर नफर्किने अठोट छ। बाहिर कुकुरको भुकाइ। वरिपरि सुँगुरको खोर छ। गन्हाएर बसिनसक्नुको दुर्गन्ध। ४५ दिनदेखि यस्तो कष्टपूर्ण दिन बिताइरहेका छन्, पीडितहरू।
साहुले ‘घर खेत सबै खोसिदिए’ पछि न्यायका लागि राजधानी आएका पीडितका संघर्षका व्यथा कम्ती पीडादायी छैनन्। बढ्दो चिसो र पानीमा भिज्दा उनीहरू बिरामी पर्दै गएका छन्।
नवलपरासीका बाबुराम माओवादीका पूर्व कार्यकर्ता हुन्। युद्धकालमा जनताको मुक्तिका नारा लगाउँथे। अहिले आफ्नै नेताबाट अन्यायमा परेका छन्। २०७४ सालमा खेत किन्न परासीको पोखरापालीका साहु रोहित प्रसाद केवटसँग ८ लाख ऋण लिएका थिए। साहुले २४ कट्ठा घरबारी दृष्टिबन्धक राखे। खेतको उब्जनी पनि आधा लगिदिए। ८ लाख ऋणको ब्याजसहित १८ लाख फिर्ता गरे। तर, साहुले अझै २४ लाख तिर्नुपर्ने भनिरहेका छन्। ‘साहु रोहित माओवादीकालमा नवलपरासीमा पार्टीको तर्फबाट जनसरकारका न्यायाधीशजस्तै थिए। अहिले उनले गरिबमाथि नै अन्याय गरिरहेका छन्’, पीडित बाबुराम भन्छन्, ‘पैसा लिएर पनि मेरो जग्गा फुकुवा गर्न मानेनन्।’
१० वर्ष बाबुरामले छोरीको उपचारका लागि रूपन्देहीकी विष्णुकुमारी चापागाईंसँग ६ लाख ऋण लिए। त्यतिबेला उनले १२ लाखको तमसुकमा छाप लगाए। मनग्य धान, गहुँ फल्ने १६ कट्ठा जग्गा छिनुवा पास पनि गरायो। उनी भन्छन्, ‘मैले साँवा र ब्याज गरेर ५ लाख ६० हजार तिरें,’ उनले भने,‘ मूलधनसहित ब्याज फर्काउँछु भनेको थिएँ। तर, साहुले १७ लाख माग्दै अदालतमा मुद्दा दायर गरेको छ।’ साहुले आफ्नो खेत लिलामी गराउने दाउ रचिरहेको उनको आरोप छ। पैसाकै अभावमा उनले द्वन्द्वकालमा लागेको गोली पनि झिक्न सकेका छैनन्। ‘अस्ति दमन गरेर प्रहरीले कुट्यो,’ उनले भने, ‘मिटरब्याजीले उठीबास लगाएको दुःख भुलौं कि द्वन्द्वकालमा छातीमा लागेको गोलीको दर्द भुलौं। जिल्लामा सीडीओ, एसपीले हाम्रो कुरो सुन्दैनन्। न्याय माग्न काठमाडौं आउँदा यहाँ पनि सरकारले प्रहरी लगाएर हाम्रो टाउको फुटायो।’ पीडितले जहाँ पनि दुःख पाउने गरेको गुनासो गर्दै बाबुरामले भने, ‘न्याय माग्न कहाँ जाऔं ? अब यही प्राण त्याग्छौं।’ राजधानीको महँगीले बिहान बेलुकाको छाक टार्न निकै सकस भइरहेको उनले बताए।
महिनौंदेखि आन्दोलन भइरहे पनि सरकारले नसुनेको रामबाबु बताउँछन्। ‘भुँइमा सुत्नुपर्छ। डेंगुको बिगबिगी छ। झुलबिना नै सुत्छौं’, उनले भने, ‘ रासनपानी किन्न पैसा छैन। मागेर खाना खान्छौं। टाइलेट बस्न लाइन बस्नुपर्छ। दिनभरि आन्दोलन गर्छौं। त्यहाँ पनि दिसापिसाब गर्नकै समस्या हुन्छ।’
८० वर्षीय वृद्ध पनि संघर्षमा
उमेरले आराम मागेको छ। तर ८० वर्षीय प्रेमनारायण कोइरी र ६८ वर्षीय फेकना कोइरी हरेक दिन धर्नामा बसिरहेका छन्। नवलपरासीको सरावल ७ का यी दम्पतीलाई परिवारको उठीबास लाग्ने डरले संघर्षका लागि काठमाडौंको यात्रा गराएको हो। कच्ची घरलाई पक्की बनाउन ऋण लिए। त्यही ऋणले घरबारविहीन बनाउने अवस्थामा ल्याइपुर्यायो। मागेको जति रकम नतिरे सुकुम्बासी बनाइदिने साहुको धम्कीले उनी ४५ दिनदेखि काठमाडौंमा न्याय मागिरहेका छन्। बुढेसकालमा साहुसँगको लडाइँमा वृद्ध दम्पती कष्टपूर्ण रात काटिरहेका छन्। बढ्दो चिसो र पानीमा भिज्दा उनीहरू बिरामी पर्दै गएका छन्। रुघाखोकीले च्यापेर हैरान बनाएको छ। तर पनि बिरामी शरीर लिएर माइतीघरमा धर्ना बस्न छाडेका छैनन्।
२०७२ सालमा घरको छत हाल्न जितपुरका साहु वसन्त कुँहारसँग ९ लाख ऋण लिएका थिए। त्यसैगरी गोविन्द कोइरी मुराउसँग १ लाख ५० हजार कर्जा लिएका थिए। वसन्तलाई दुई वर्षभित्रमा खेत बिक्री र अन्य खेतीको आम्दानीले ९ लाखको ९० हजार तिरे भने गोविन्दलाई ६ लाख बुझाए। तर, साहुहरूले अझै थप रकम मागेर हैरान बनाएपछि उनी सरकार गुहार्न काठमाडौं आएका हुन्।
त्रिपालमाथि एकसरो म्याट ओ्याएर एक सय बढी पीडितहरू रात कटाउने कोसिस गरिरहेका छन्। कोही पोको पुन्तुरोको सिरानी बनाएर पल्टेका छन्। कोही त्यत्तिाकै सुतेका छन्।
प्रेमनारायणका अनुसार साहु वसन्तले ऋण दिँदा १२ कट्ठा जग्गा र अर्का साहु गोविन्दले २२ कट्ठा जग्गा दृष्टिबन्धक गराएका थिए। उनीहरूको कर्जा चुक्ता गराउँदा पनि जग्गा फुकुवा गर्न मानेका छैनन्। वसन्तले अझै ४२ लाख र गोविन्दले १० लाख मागिरहेका छन्। खेतजग्गा सबै साहुले बन्धक बनायो,’ फेकना कोइरीले भनिन्, ‘पक्की घरमा बस्ने सपना के देखेको थिएँ। घर खेत साहुले हडपेर उठीबास गराउन खोज्दै छन्। हे भगवान् गरिबले अब सपना देख्ने र पूरा गर्ने दिन गयो।’ साहुले आफूहरूलाई जालमा पारिसकेको उनले बताइन्। ‘हामीलाई जेल हाल्न र जग्गाजमिन लिलामी गर्न मात्रै बाँकी छ,’ उनले भनिन्, ‘अब हामी कहाँ गएर बस्ने ? सरकार हामीलाई पीडितलाई न्याय दे।’
पीडितहरूको खाने, बस्ने ठेगान छैन। तर, पनि न्याय नपाए घर नफर्किने अठोट छ। ४५ दिनदेखि यस्तो कष्टपूर्ण दिन बिताइरहेका छन्, पीडितहरू।
वृद्ध दम्पतीका एक जना छोरा भानप्रताप छन्। उनका ७ छोरी छन्। मिटरब्याजीले सबै जग्गा बन्धक बनाएपछि नातिनीहरूको पढाइलेखाइ र उनीहरूको विवाहबारी कसरी गर्ने भन्दै वृद्ध दम्पती चिन्तित छन्। ‘बैंकले ऋण दिएन,’ उनले भनिन्,‘ दलाल र मिटरब्याजीलाई मात्रै बैंकले ऋण दिन्छन्। हामीलाई दिँदैनन्।’ मिटरब्याजीहरूले बैंकबाट सस्तोमा ऋण निकाल्ने र गरिब किसानहरूलाई महँगोमा ऋण लगानी गर्ने गरेको प्रेमनारायणले भने,‘ बैंकले मलाई ऋण दिएको भए आज यस्तो दिन आउँदैनथ्यो।’
पक्की घरको सपनाले उडायो
नवलपरासीको प्रतापपुर—५ की ३९ वर्षीया आसमा खातुनले पक्की घर बनाउन साहुसँग ऋण लिइन्। पक्की घर बनाउँदा न हावाहुरीको डर, न त छानो चुहिने समस्या नै। त्यसैकारण, चार वर्षअघि १५ धुरमा १६ कोठाको दुईतल्ले पक्कीघर बनाउन थालिन्। गाउँका साहु सुरेश बानियाँसँग ५ लाख ऋण लिइन्। साहुले ९ लाख ९० हजारको तमसुक गरायो। पक्की घर भएको जग्गासहित साहुले दृृष्टिबन्धक गरायो। ४ वर्षमा ५ लाखको ३४ लाख तिरिन्। तर, पनि साहुले अझै ऋण तिर्न उनलाई दबाब दिइरहेका छन्।
पक्की घर बनेर के गर्नु ? उनको जीवन झनै पीडादायी भयो। ‘पक्की घर बनाउने सपना पूरा भएपछि छोराछोरीलाई राम्रो स्कुलमा पढाउने योजना थियो,’ उनले भनिन्,‘ विदेशमा रहेका श्रीमान् नूर आलमलाई पनि बोलाएर गाउँमै उद्यम गर्ने सोचेको थिए। तर, अब केही नहुने भयो।’ सारा खुसी मिटरब्याजीले लुटेर सुनौलो भविष्यको सपना तुहाइदिएका उनले सुनाइन्। पक्की घरमा बस्ने सपनाले एकैपटक उनलाई पनि काठमाडौंको टनेलमा पीडादायी रात कटाउनु परिरहेको छ। न्यायका लागि सरकार गुहार्दैछिन्। आजभोलि न गाँसको ठेगान छ, न त बासको। टनेलमा रात काटिरहेकी आसमालाई मिटरब्याजीले मर्नु न बाँच्नुको अवस्थामा पुर्याइदिएको छ।
ऋणको भारले थिचेर उनका पति विदेशबाट फर्किन सकेका छैनन्। यता जग्गासहितको घर हडप्ने साहुले धम्की दिइरहेका छन्। साहुले जीवन बन्धकमा पारेपछि उनी घर न घाटकी भएकी बताउँछिन्। ‘नामका लागि मात्रै तिम्रो घरजग्गा दृष्टिबन्धक गराएको हुँ। ऋण र ब्याज फर्काएपछि सबै सम्पत्ति फुकुवा गरिदिन्छु’, साहुले मीठो बोलेर चार वर्षअघि तमसुक गराएको उनले सुनाइन्, ‘दिन बित्दै गएपछि त साहुको बोली र व्यवहार फेरियो।’ साहुको मिटरब्याजको सुईले फन्को मारेको मार्यै गरेपछि सरकार गुहार्न काठमाडौं आएको उनले बताइन्।
नवलपरासीका बाबुराम माओवादीका पूर्व कार्यकर्ता हुन्। युद्घकालमा जनताको मुत्तिाmका नारा लगाउँथे। अहिले आफ्नै नेताबाट अन्यायमा परेका छन्।
आसमाका अनुसार उनका पतिले विदेशमा कमाएको सबै पैसा पनि साहुकै हातमा पुगेको छ। ‘७ कट्ठा जग्गा बेचेर साहुलाई बुझाएँ,’ उनले भनिन्, ‘घरजग्गा फर्काउन आफन्तसँग सरसापटी पनि लिए। सबै गरेर ५ लाखको ३४ लाख दियौं। अझै १५ लाख माग्दैछन्। नदिए घरजग्गा लिलाम गरेर लिने धम्की दिइरहेका छन्।’
अन्यायविरुद्ध लड्ने कि सुकुम्बासी बन्ने ? भन्ने दुई विकल्प रोज्नुपर्ने अवस्था आएको उनले बताइन्। ‘संघर्षकै बाटो रोजें, उनले भनिन्। दिनको बास सडकमा बित्छ। राती तरकारी टनेलमा सुत्न जान्छिन। ‘हाम्रो झन्डै एक करोडको सम्पत्ति साहुले आफ्नो बनाउन खोजिरहेका छन्,’ उनले भनिन्, ‘साहुले लिलामी गरायो भने हामी कहाँ बस्ने ? साहुले हामी गरिबको जीवन बन्धक बनायो। साहुबाट मुक्ति माग्न काठमाडौं आएका हौं।’ वर्षात्को मौसमका कारण भुइँमा सुत्दा सर्प र बिच्छीजस्ता जीवजन्तुको डर हुने गरेको उनले बताइन्। घरका पशुपन्छी अरूकै जिम्मामा छोडेर आएको उनले बताइन्। छोरी मरियम भर्खरै कक्षा १० पास गरेकी छन्। ‘छोरी पढेर नर्स बन्छु भन्छे, उनले भनिन्, ‘कसरी पढाउने ? खर्च नभएर छोरो मोहम्मद आरिफलाई गाउँकै मदरसामा पढाइरहेकी छु। ‘न्याय पाउनु त कहाँ हो कहाँ ? काठमाडौंको दुःखले बाच्न झनै कठिन बनायो।’
०००
साहुले मिटरब्याजको दुष्चक्र चलाएर गरिबलाई रुवाएका छन्। नवलपसीको प्रतापपुरकी ४८ वर्षीय तिलेसरा देवी राजभरको आँखा नओभाएको वर्षौं भयो। तराईका मधेसी महिला हतपत विदेश गएको सुनिँदैन। तर, तिलेसरा देवी यस्तो पात्र हो जो परिवारको पीडामा मलमपट्टी गर्नका लागि एक दशकभन्दा बढी समय विदेशमा पसिना बगाएकी छिन्। तर, पसिनाको मूल्य मिटरब्याजीले नै लुटिदिए। श्रमिक श्रीमान् घर निर्माणमा खटिँदा लडेर घाइते भए। उपचार गराउँदा भएको जेथा सकियो। अनि उनी विदेश उडिन्। विदेश जान ११ वर्षअघि उनले जगदीश बानियाँसँग जग्गा १ लाख ऋण लिएकी थिइन्। विदेशमा कमाएर १७ लाख ७५ हजार तिरिन्।
‘साहुले मसँग धेरै पैसा लियो। बढी लिएको पैसा फिर्ता गर्नुपर्छ। त्यसका लागि आन्दोलन गर्न काठमाडौं आएको छु’, उनले भनिन्। साहुले कमाएको सबै लिएपछि उनले घर पनि बनाउन सकेकी छैनन्। उनी भन्छिन्, ‘फुसको पुरानो घर छ। त्यसैमा हामी बस्छौं। जाडोले सताउँछ। वर्षात्मा चुहिएर हैरान बनाउँछ। परिवारका लागि खुसी खोज्न विदेश गए। त्यहाँको कमाइ पनि साहुले नै खोस्यो। अब कसरी परिवार चलाउने ? ’
०००
टहरामा बसेकाको दुःख कोहीभन्दा कसैको कम छैन। सबैको पीडा र व्यथा उस्तै छ। उनीहरू साहुले दिएको पीडा सम्झिँदै रुन्छन्। मध्यरातमा भक्कनिए प्रतापपुरका हेमलाल लौनियाँ। ९ वर्षअघि गाउँका साहु वीरेन्द्र कुमार सोनारसँग छोरोलाई विदेश पठाउन ४ लाख ऋण लिएका थिए। उनले ५ कट्ठा जग्गा पनि दृष्टिबन्धक राखे। १४ लाखको कपाली तमसुकमा सहीछाप लगाउन लगाएको उनले सुनाए। उनी भन्छन्, ‘हामी उनलाई २६ लाख दियौं। अझै ४० लाख माग्दै छन्। नदिए खेत लिलामीमा चढाउने साहुले धम्की दिन्छन्। अब कहाँ जाउँ, के गरुँ। ’
०००
हर्षबहादुर कामीको खुसी पनि मिटरब्याजीले बन्धकी बनाएका छन्। छोरो वीरेन्द्र गम्भीर बिरामी परे। टाउकोको अप्रेसन गर्नुपर्ने भयो। उपचारका लागि साहुसँग साढे ४ लाख लिए। छोरोको उपचार गरे। तर, बाँचेनन्। २ वर्षमा साहुलाई ८ लाख ४० हजार दिए। तर, साहुले ऋण दिँदा दृष्टिबन्धक राखेको २५ कट्ठा जग्गा फुकुवा गर्न मानेको छैन। उनी त्यही जग्गा फुकुवा गराउन गाउँमा काठमाडौं सरकारसँग गुहार माग्न आएका हुन्।
‘के भनौं ? गरिबलाई कहीँ पनि सुख छैन काठमाडौं आएको धेरै भयो। बजारमा चामल, दाल, तरकारी सबै मागेर ल्याएर खानुपर्छ’, उनी भन्छन्, ‘हामी गरिबलाई सधैं दुःख। हे भगवान् हाम्रो त कर्मै फुट्यो के गर्ने ? ’
०००
अकबर मियाँलाई अहिलेको जीवन भोगाइबारे बताउन नपरे हुन्थ्यो जस्तो लाग्छ। उनी जीवनमा कहिले पनि भुइँमा यतिको लामो समय सुतेका छैनन्। तर, मिटरब्याजीले अहिले काठमाडौंको भुइँमा डेढ महिनादेखि त्रिपालमा सुत्ने मौगत (अवस्था) ल्याइदियो। ‘उता गाउँमा साहुले लुट्यो, यता प्रहरीले चुट्छ। हामी पीडा कसले सुनेको छ र ? ’, उनी भन्छन्, ‘न्याय दिने प्रहरी प्रशासन सबै साहुकै भयो। सरकार पनि उनीहरूको मतियार भयो। हामी गरिबको कसले पीडा सुन्छ। हाम्रो पीडा नाप्ने संसारमा कुनै मेसिन छैन। भोग्नेलाई मात्रै थाहा हुन्छ, साहुले उठीबास गराएर सुकुम्बासी बनाउँदाको दुःख ? ’
३ वर्ष पहिले छोराको बिहे गर्न र विदेश पठाउन साहु सुरेश बानियाँसँग ४ लाख २५ हजार ऋण लिएका थिए। ५ कट्ठा १८ धुर जग्गा साहुले दृष्टिबन्धक भन्दै आफ्नो नाममा गराए। उनको छोरोले ऋण लिएको दुई वर्षभित्रै मलेसियामा खटेर १० लाख तिरे। साहुले जग्गा फर्काएको छैन। साहुले अझै १३ लाख माग्दै छ।
०००
आन्दोलन लम्बिँदै गएपछि पीडितको पीडा झन्झन् बढ्दै गएको छ। ‘सरकारले अहिले हाम्रो माग र पीडालाई सुनिरहेको छैन। अति हुँदै गइरहेको छ’, पीडित बाबुराम आक्रोशित हुँदै भन्छन्, ‘यदि हामीलाई निराश भएर गाउँ फर्के भने साहुलाई भौतिक कारबाही गर्छौं। त्यसपछि पुलिस, प्रशासन, अदालत, सरकार मात्रै होइन दुनियाँले सुन्छ। समस्या आफैं समाधान भइहाल्छ।’ तस्बिरहरू : राजकरण महतो