महिला समूहद्वारा ‘मार्सी धान’ को सामूहिक खेती
गोरखा : स्वादिलो र पोषिलो भनेर चर्चाको शिखर चुमेको मार्सीधान गोरखाको धार्चे गाउँपालिकामा पनि खेती गर्न थालिएको छ। धार्चे–३ उहियाका महिला समूहले सामूहिक रूपमा खेती गर्न थालिएको पूर्ववडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए।
गोरखाको उच्च पहाडी भूभाग उहियाको २० रोपनी क्षेत्रफलमा महिलाको मार्सीको कम्युनखेती अहिले धमाधम भित्र्याउन थालिएको उनले बताए। धेरै महँगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको उहियाका २१ महिला मिलेर खेती गरिएको पूर्ववडाअध्यक्ष गुरुङले बताए।
हाल धमाधम धान काट्न सुरु गरिएको छ। ‘विगत ४ दिनदेखि धान काट्न सुरु गरिएको छ’, उनले भने, ‘पहिलो पटक खेती गरेता पनि राम्रो उत्पादन भएको छ। महिलाहरू एकदम उत्साहित भएका छन्।’ गाउँघरमा उत्पादन हुने कृषि उपज बाँदरले खाएर हैरान पारेपछि महिलाले सामुहिक रुपमा मार्सी धान खेती सुरु गरेका हुन्। जिल्ला समन्वय समितिकी सदस्य प्रमिना घलेको पहलमा धान खेती गरिएको उनले बताए।
‘गाउँघरमा बाँदर आतंकले कुनै पनि खेतीबाली भित्र्याउन सकिएन’, पूर्ववडाअध्यक्ष गुरुङले भने, ‘सामूहिक खेती गरियो भने आलोपालो गरेर बाली कुर्दा पनि धेरै सास्ती हुँदैन भनेर महिलाहरू एकजुट भएर मार्सी धान खेती गरेका हुन्।’ २१ जना मिलेर खेती गरेपछि बाली कुर्नुपर्दा पनि २१ दिनमा पालो आउने हुँदा धेरै कठिनाइ नपर्ने उनले बताए।
उहियामा बिगत वर्षहरूमा पनि मार्सी धान खेती हुन्थ्यो, तर त्यसको उपयोग घरायसी रूपमा मात्र गरिन्थ्यो। यसपटक भने व्यावसायिक उत्पादनका लागि सामूहिक रूपमा खेती गरिएको स्थानीयको भनाइ छ। ‘यहाँको रैथाने बालीहरू कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो’, पूर्ववडाअध्यक्ष गुरुङले भने, ‘यहाँ उत्पादन हुने रैथाने बालीहरू मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा बिकृति फैलाउने भएकाले पनि महिलाले मार्सी धान उत्पादनलाई प्रथामिकतामा राखेका हुन्।’ गाउँमा मार्सी धान उत्पादन हुन थालेपछि चामाल आयातसमेत कम हुने र मार्सीधान निर्यात हुने उनको भनाइ छ।
मार्सी धान प्रतिपाथीको पाँच सय रुपैयाँका दरले बिक्री भइरहेको छ। बजारको कुनै समस्या नरहेको बरु माग धान्न हम्मेहम्मे भएको उनले बताए। तर, गाउँमा मार्सी धान उत्पादन भएपनि कुटानी पिसानी मिल नहुँदा धानै बेच्न बाध्य हुनुपरेको उनको भनाइ छ। यहाँका महिला समूहलाई कुनै पनि तहको सरकारको सहयोग छैन। कम्तिमा ४०-५० हजार रुपैयाँ पर्ने कुटानी पिसानी मिल उपलब्ध गराएको भए सर्वसाधारण किसान उत्साहित हुने उनको भनाइ छ। गाउँलेहरूले अझैं पनि ढिकी, जाँतोमा धान कुटानी पिसानी गर्दै आएका छन्।